Friday 4th September 2026

आज पनि उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर


तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन।

मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएर राखेता पनि सिंहदरबारबाट बाहिर भने निकालेका छैनौं।’

काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले फोहोर उठाउनको लागि मेयर, उपमेयर र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूसँग कुरा हुन लागेको बताए।

‘फोहोर नउठेको विषयमा कुराकानी गर्न मेयर र उपमेयर सिंहदरबारमा जाँदै हुनुहुन्छ भनेर सुनेको छु,’ उनले भने, ‘अब सम्बन्धित निकायसँग कुराकानी भएपछि चाँडै नै समस्याको हल हुन्छ होला।’

गत शुक्रबार बसेको बोर्ड बैठक र अन्य बैठकमा समेत बालेनले कुनै छलफल नगरेको कारण फेसबुकमा लेखेको फेसबुकको स्ट्याटसलाई कतिको आधिकारिक मान्न सकिने उपमेयर सुनिता डंगोलले बताइन्।

‘अरू दिन त कुरा भएन,’ उनले सेतोपाटीसँग भनिन्, ‘फेसबुकको स्ट्याटसलाई कतिको आधिकारिक मान्ने। न त कुनै पत्र आएको छ न त छलफल नै गरिएको छ। फोहोर नउठाउने उहाँको एकलौटी निर्णय हो।’

यस्तै उक्त अहिले सदन र मन्त्रिपरिषदमा समेत उठेको कारण महानगर कार्यपालिका बैठक पनि छिट्टै बस्ने तयारी गरिरहेको उनले बताइन्।

यस विषयमा छलफल भएर छिट्टै नै कार्यपालिकाले निर्णय गरिसक्ने बताउँछिन् उनी।

मंगलबार सिंहदरबारस्थित सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने बालेनले गरेको घोषणा नीतिगत व्यवस्थाविरूद्ध रहेको बताएकी थिइन्।

सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।काठमाडौंको भिआइपी एरियाबाट दैनिक ९ टन फोहोर उठ्ने गरेको छ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...