Sunday 18th October 2026

प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डले बिहीबार संसद् सचिवालयमा पत्र पठाएका छन् ।

संविधानको धारा १००(२) मा ७६(२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । विश्वासको मत सिद्ध गर्न बहुमत अर्थात् एक सय ३८ सांसद आवश्यक पर्छ ।

१० पुसमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारबाट १३ फागुनमा राप्रपा र १५ फागुनमा एमालेले समर्थन फिर्ता लिएको थियो । राष्ट्रपति चुनावलाई लिएर १२ फागुनमा कांग्रेससहित आठदलीय सत्तागठबन्धन बनेपछि समीकरण फेरिँदा प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

१० पुसमा एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा संसद्मा बहुमत परीक्षण गर्दा कांग्रेस, एकीकृत समाजवादी, लोसपा र थप एक स्वतन्त्र गरी दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ९८.१८ प्रतिशत मत प्राप्त गरेका प्रचण्डले खसेको मत संख्याका आधारमा ९९.२६ प्रतिशतमा विश्वास आर्जन गरेका थिए । प्रचण्डलाई कांग्रेसका ८५, एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १३, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका चार–चार र तीनजना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...