बन्दना घिमिरे – लघुकथाकार किशन पौडेलले हाम्रो लघुकथा पाठशालामा लघुकथा दिवस विशेषको रुपमा प्रेषित गर्नुभएको लघुकथा ”आशिर्वाद” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
लघुकथाकार किशन पौडेलका लघुकथाहरुसँग करिब २ बर्षदेखि परिचित छु । भौतिक रुपमा उहाँको लघुकथा संग्रह ‘खुसी’ बिमोचनको दिनमा उपस्थिति भएर पनि परिचय गर्ने मेसो मिलेन । परिचित नभएपनि उहाँको लघुकथासंग्रह ‘खुसी’हात परेको थियो । खुसी भित्र समेटिएका ४८ वटै कथाहरु पढेंकी छु । हाम्रो लघुकथा पाठशालामा प्रेषित उहाँका लघुकथाहरु प्रायः पढेकी छु अर्थात लघुकथाको माध्यमबाट परिचित छु ।
नेपाली लघुकथा लेखनमा सक्रिय लघुकथाकार किशन पौडेलको जन्म माता रमादेवी पौडेल एवम् पिता ताराप्रसाद पौडेलको सुपुत्रको रुपमा २०२८/ ०५/०९ गते हेटौडा -६,मकवानपुरमा भएको हो ।
लघुकथाको अलावा गीत, गजल, कविता, हाईकु लगायत साहित्यका बिभिन्न विधामा कलम चलाउनुहुने साहित्यकारको पहिलो प्रकाशित रचना २०४६ सालमा गोरखापत्रमा प्रकाशित ‘प्यारो धर्ती’ कविता हो ।
पत्रकारिता पेशामा रमाउनु भएका साहित्यकार पौडेलको बिद्यार्थीकाल देखिनै साहित्यमा रुचि रहेको थियो ।हाल हेटौडा – ४, मकवानपुरका स्थायी बासिन्दा पौडेलका लघुकथासङ्ग्रह खुसी, गजल सङ्ग्रह कहर लगायत संयुक्त लघुकथा सङ्ग्रह,गजल सङ्ग्रह र छेस्का कविता सङ्ग्रह प्रकाशित छन् ।
उहाँका लघुकथाहरुमा समसामयिक सामाजिक तथा राजनीतिक विकृतिप्रति तिखो कटाक्ष, रमाईला मानवीय पात्र र जीवन्त मानवेत्तर पात्रहरु मार्फत मानवीय प्रवृत्ति उजागर गरिएको मैले पाएकी छु ।
प्रस्तुत लघुकथा ‘आशिर्वाद’मा मुख्य पात्र ऊ रहेको छ ।कथा यसरी शुरु गरिएको छ । ” ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्याङ देख्यो ।विवेकमा लगाम लगाएर एक खुट्किलो माथि उक्लियो । माथि फर्केर हेर्यो त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै चाप्लुसीको डोरी समायो र चढ्यो ।त्यहाँबाट उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो अझै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै निष्ठालाई कुल्चिँदै शिखरमा पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदा बाजी गर्दै रहेछन् ।
उसले पनि मालिकको आदेश अनुसार आफ्नो नैतिकताको बलिदान दियो र सुनौलो अवसरको झ्यालबाट फुत्त भित्र पस्यो ।इमानको ढोकामा चुकुल लगायो । शिखरको विलासी महल भित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्यो ।उसँग स्वाभिमानको शिर थिएन।” कथा यसरी समापन गरिएको छ ।
समसामयिक राजनीति प्रति तिखो झिर रोप्न सफल लघुकथामा माथिल्लो तहका नेतृत्व वर्गमा स्वाभिमान नरहेको भावमा समापन गरिएको छ । लघुकथामा तिव्रता छ । पात्रमा सिमितता छ ।देउ बलिदान ! भन्दा ” नैतिकताको बलिदान दिएर अबसरको झ्यालबाट फुत्त भित्र पस्दै इमानको ढोकामा चुकुल लगायो ।” भन्ने वाक्यले लघुकथालाई ओजस्वी बनाएको छ । लघुकथा सरल छ । सबै स्तरका पाठकको लागि बोधगम्य छ । शीर्षक सार्थक छ । यसकारण यो लघुकथा म जस्ता नवोदित लघुकथाकारहरुको लागि मानक लघुकथा बनेको छ ।
साहित्यकार किशन पौडेलको साहित्यिक यात्रा अझ उच्चहुदैं जाओस् भन्दै सुस्वास्थ्य, दीर्घायु तथा अटल श्रीवृध्दीको कामना गर्दछु ।
बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल म.थि.न.पा.-३,भक्तपुर
(लघुकथा दिवस विशेष )
लघुकथा
आशीर्वाद
—–किशन पौडेल
ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्याङ देख्यो ।
निहुँरिदै भन्यो –
-“प्रभु मलाई अवसरको ढोका खोलिदिनुस्।”
-“तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो ।
विवेकमा लगाम लगाएर एक खुट्किलो माथि उक्लियो ।
उसले माथि फर्केर हेर्यो त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो –
-“प्रभु मलाई त्यहाँ पुग्नु छ !”
-” समाऊ हात ! ” कृपा दृष्टि भो ।
चाप्लुसीको डोरी समायो र चढ्यो माथि ।
त्यहाँबाट उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो अझै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै भन्यो –
-“स्वामी मलाई शिखरमा नै पुर्याइ दिनुस् ! “
-“अवश्य ! ” मिठो आश्वासन प्राप्त भो ।
निष्ठालाई कुल्चिँदै ऊ शिखरमा पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदा बाजी गर्दै रहेछन् ।
उसले सोध्यो-
“मालिक म के गरूँ !”
“देऊ बलिदान !”
उसले आफ्नो नैतिकताको बलिदान दियो र सुनौलो अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो ।
शिखरको विलासी महल भित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्यो ।
ऊसँग स्वाभिमानको शिर थिएन ।
°°°
हेटौंडा -४