Thursday 6th February 2025

लघुकथाकार आचार्य प्रभाको लघुकथा “सोंच” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – अग्रज साहित्यकार, लघुकथाकार आचार्य प्रभाले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा ‘सोंच’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

अग्रज लघुकथाकार आचार्य प्रभासँग सात्क्षात्कार नभएपनि लघुकथा र साहित्यका अन्य विधाहरु मार्फत परिचित छु अर्थात पढिरहेकी छु ।

साहित्यकार आचार्य प्रभाको जन्म २०१९ /०३/२४ गते पिता तिर्थराज भट्टराई र माता निरमाया भट्टराईको सुपुत्रीको रुपमा दार्जिलिङ, भारतमा भएको हो ।स्नातकोत्तर सम्मको शिक्षा
हासिल गर्नु भएकी साहित्यकारको रुची साहित्य र गीत लेखनमा रहेको छ । २०३४ देखि लेखनयात्रा शुरु गर्नुभएकी साहित्यकारले लघुकथा,गीतीकथा, गजल,भजन, नाटक, हाईकु, रम्बास कविता लगायत बिभिन्न विधामा कलम चलाउनु भएको छ ।

उहाँका तिम्रो पर्खाइमा ,रीम्स, इश्वर बन्दना, भजन अडिओ परदेशबाट ‘ कबिता संग्रह २०६२ ‘असह्य चित्कार ‘ गजल संग्रह ( २०११ ) ‘मायाको नाकाबन्दी’ गीति संग्रह -२०७६ प्रकाशित भएका छन् ।लघुकथा संग्रह ‘स्पर्म डोनर’ प्रकाशनको तयारीमा रहेको छ ।

२००४ /०४ /०५ देखि अमेरिका प्रवासमा रहेर व्यवसायीक रुपमै नेपाली गीत लेखन र साहित्य सेवामा संलग्न हुनुहुन्छ ।उहाँका २०० भन्दा बढी गीतहरु रेकर्डिङ भईसकेका छन् ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज लगायत विभिन्न साहित्यिक संघ संस्थाहरुका आजिवन सदस्य रहनु भएकी साहित्यकार अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर अध्यक्ष (२०१२-२०१४) हुनुभएको थियो ।

प्रस्तुत लघुकथा ‘सोंच’ कोरोनाको समयमा सरकारी बन्दाबन्दीको समयमा पसल खोल्न नपाउदा व्यवसायीहरुलाई जिजीविषा चलाउन अप्ठ्यारो परेको परिवेशमा आधारित छ । रमिला र साहिली दुई मुख्य पात्रहरु रहेका छन् । कथा यसरी शुरु गरिएको छ ।
बजारको मुख्य चोकमै फेसनदार सिलाईकोलागी खुब कहलिएको टेलरिंग सेन्टरले रमलालाई खुब पोसाएको थियो।सधैं भिंड लाग्ने शहरका फेसनदार युवतीहरुको आवत-जावतले उनको अभिमानको पारो खुब चढेको थियो।उ आफुलाई एउटी अब्बल फेशन डिजाईनरको पंक्तिमा राख्दथी।छेवैमा साँहिली दमिनी पनि एउटा मेशिन राखेर पुराना फाटा टालटुल गरेर जीविका चलाउँथी।

साहिँली के गर्दैछौ ? भोलीदेखि त पसल खोल्न नपाईने रे।भोलि बिहान एकछिन मेरोमा आऊ है ! एउटा सानो काम छ भनिन रमिलाले ।
साहिँली अचम्भित भई।कैले मिठो मुखले नबोल्ने आज किन बद्लिई ? भनेर उ छक्क परी । साहिँली भोलीपल्ट बिहानै गई । भित्रै आउन, किन बाहिरै उभिएकी ? रमलाको बदलिँदो व्यवहारले अचम्भित हुँदै असहजताको साथ साहिँली बैठक कोठामा पसी।
भुइँमा केही थान कपडाहरु छरिएका थिए।रमलाले ती कपडाहरु देखाउँदै भनि अब हाम्रो त बाती नै बस्ने भो।अब कामधाम बन्द भएपछी कसरी गुजारा चलाउने यै सम्झेर मैले अब घरमै तिमीलाई मास्क बनाउँन लाएर सप्लाई गरूँ भनेर बोलाको । साहिँली केहीबेर मौन बनी र सोंच्न थाली बिगतका उस्का अपहेलित ब्यवहारहरु।
जस्लाई,साँईलीले हातको काम चैं मलाई दिनु न मेरो पनि गुजारा हुन्छ।भन्दा, रमलाले मेरोमा कस्तो कस्तो डिजाईन लाउनेहरु आउँछन्।मेरा ग्राहकको चित्त बुझाउन त गाह्रो छ, मेरो ग्राहक भड्काउनु छैन तिम्रो भर परेर भन्दै दुत्कारेकी थिई।
साहिँलीलाई उस्को पसल छेउ उभिँदा पनि जातै जान्छ जस्तो गर्थी। तर आज त्यहि महिलाले आफुलाई आग्रह गर्दा, उस्लाई पनि म गर्दिन भनुँ कि जस्तो लाग्यो तर उस्ले झट्ट सम्झेर भनी हेर्नुहोस् रमला दिदी म यो काम गर्दिन थें पहिला तँपाईले मलाई गर्नु भएको ब्यवहार सम्झिँदा। तर म तँपाईको तुच्छ ब्यवहारलाई बिर्सेर सारा नेपालीको सुरक्षाको लागि पनि गर्छु ।यो मेरो कर्तब्य हो आफुले जानेको सीपले देश र जनताको भलो हुन्छ भने किन नगर्नु? साँहिँलीको उच्च सोंचको कुरा सुनेर रमला निशब्द बन्दै बिगतको आफ्नो ब्यवहार सम्झेर लज्जित बनी।

लघुकथा उठानको विपरित भावमा समापन भएको छ । साहिंलीलाई सधैं हेप्ने रमिलाले बन्दाबन्दीमा पसल खोल्न नपाउने भएपछि मास्क सिलाउनकालागि उनै साहिलीलाई बोलाएकीले कथा लघुकथाको मापनमा थपक्क बसेको छ । संवादले लघुकथालाई रसिलो बनाएको छ। ‘आफुले जानेको सीपले देश र जनताको भलो हुन्छ भने किन नगर्नु ?’ भन्ने विज वाक्यले लघुकथा देशप्रेम र राष्ट्रभक्तिले ओतप्रोत भएको छ ।साहिलीको उच्चसोंचको कारण कथाको शिर्षकले सार्थकता पाएको छ ।कथा सरल र सुबोध छ ।

लघुकथामा केही कथ्य बिस्तार भएको छ । केही अनावश्यक शब्दहरु काँटछाँट गर्दा लघुकथा अझ राम्रो बन्न सक्नेछ । ” साहिलीको उच्चसोंचको कुरा सुनेर …………………भन्नेअन्तिम लाईनले लघुकथालाई अधोगति तर्फ लगेको छ भन्ने मेरो ठम्याई छ । त्यसैले पुस्तकाकार रुपमा आँउदा यस अन्तिम लाईन नराख्नुहुन अग्रज साहित्यकार आचार्य प्रभालाई हार्दिक अनुरोध गर्दछु ।

साहित्यकार आचार्य प्रभाको साहित्यिक यात्राले सगरमाथाको शिखर चुमोस् । उहाँको लघुकथा ‘स्पर्म डोनर’लघुकथा संग्रह सिघ्र प्रकाशित होस् छिट्टै पढ्न पाईयोस् भन्ने कामना गर्दै सुस्वास्थ्य दीर्घायु तथा अटल सौभाग्यको कामना गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल म.थि.न.पा.-३, गठ्ठाघर

लघुकथा -“सोंच”
आचार्य प्रभा

बजारको मुख्य चोकमै रमलाको सिलाई पसल थियो।फेसनदार सिलाईकोलागी खुब कहलिएको उक्त टेलरिंग सेन्टरले रमलालाई खुब पोसाएको थियो।सधैं खचाखच भिंड लाग्ने शहरका फेसनदार युवतीहरुको आवत/जावतले उस्मा अभिमानको पारो खुब चढेको थियो।उ आफुलाई एउटी अब्बल फेशन डिजाईनरको पंक्तिमा राख्दथी।छेवैमा साँहिली पनि एउटा मेशिन राखेर पुराना फाटा टाल्टुल गरेर जीविका चलाउँथी।

“साहिँली के गर्दैछौ? रमलाको आवाजले उ झस्की।भोलीदेखि त पसल खोल्न नपाईने रे।भोलि बिहान एकछिन मेरोमा आऊ है!एउटा सानो काम छ।”
साहिँली अचम्भित भई।कैले मिठो मुखले नबोल्ने रमला,सधैं हेपाहा प्रविर्तिले आफुलाई ब्यवहार गर्ने आज किन बद्लिई?”भनेर उ छक्क परी।
“किन छक्क परेकी?आउ है।”फेरि रमलाले आदेश जमाई।
साहिँली भोलीपल्ट बिहानै गई रमलाकोमा।रमलाले आग्रहको साथ भनी।”भित्रै आउन,किन बाहिरै उभिएकी?।” रमलाको बदलिँदो व्यवहारले अचम्भित हुँदै केअसहजताकोसाथ साहिँली बैठक कोठामा पसी।
भुइँमा केही थान कपडाहरु छरिएका थिए।रमलाले ती कपडाहरु देखाउँदै भन्न थाली।”अब हाम्रो त बाती नै बस्ने भो।अब कामधाम बन्द भएपछी कसरी गुजारा चलाउने?त्यै सम्झेर मैले अब घरमै तिमीलाई मास्क बनाउँन लाएर सप्लाई गरूँ भनेर बोलाको।”साहिँली केहीबेर मौन बनी र सोंच्न थाली बिगतका उस्का अपहेलित ब्यवहारहरु।
जस्लाई,साँईलीले “हातको काम चैं मलाई दिनु न मेरो पनि गुजारा हुन्छ।”भन्दा, रमलाले हेपाहा प्रविर्त्ति भन्ने गर्थी।
“मेरोमा कस्तो कस्तो डिजाईन लाउनेहरु आउँछन्।मेरा ग्राहकको चित्त बुझाउन त गाह्रो छ। मैले मेरो ग्राहक भड्काउनु छैन तिम्रो भर परेर।”भन्दै उस्लाई दुत्कारेकी थिई।
अझ साहिँलीलाई उस्को पसल छेउ उभिँदा पनि जातै जान्छ जस्तो गर्थी। तर आज त्यहि महिलाले आफुलाई आग्रह गर्दा, उस्लाई पनि म गर्दिन भनुँ कि जस्तो लाग्यो तर उस्ले झट्ट सम्झेर भनी।
“हेर्नुहोस् रमला दिदी म यो काम गर्दिन थें।पहिला तँपाईले मलाई गर्नु भएको ब्यवहार सम्झिँदा। तर म तँपाईको तुच्छ ब्यवहारलाई बिर्सेर सारा नेपालीको सुरक्षाकोलागि पनि गर्छु।यो मेरो कर्तब्य हो आफुले जानेको सीपले देश र जनताको भलो हुन्छ भने किन नगर्नु?” साँहिँलीको उच्च सोंचको कुरा सुनेर रमला निशब्द बन्दै बिगतको आफ्नो ब्यवहार सम्झेर लज्जित बनी।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...