Thursday 6th February 2025

लघुकथाकार लक्ष्मीप्रसाद पाैडेलको लघुकथा “किसान बा” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार लक्ष्मीप्रसाद पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”किसान बा” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

साहित्यका बिभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार लक्ष्मीप्रसाद पौडेल सुदुर पश्चिमका बासिन्दा हुनुभएकोले उहाँसँग सात्क्षाकार गर्ने मौका मिलेको छैन तर सामाजिक संजाल र लघुकथाको माध्यमबाट उहाँलाई पढिरहेकी छु ।

लघुकथाकार लक्ष्मीप्रसाद पौडेलको जन्म पिता गिरिधारी पौडेल र माता भुवनेश्वरी पौडेलको सुपुत्रको रुपमा २०२६/०३/२४ गते भारत आसाममा भएको हो ।स्थायी रुपले साविक पुनर्वास नगरपालिका-८,कञ्चनपुर हाल धनगढी उपहानगरपालिका-३, कैलाली बसोबास गर्नुहुन्छ ।अर्थशास्त्रमा स्नातक लघुकथाकार ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड,धनगढीमा कार्यरत हुनुहुन्छ ।सुदूपश्चिमाञ्चल साहित्य समाज, धनगढी ज्योति पुस्तकालय, महाकाली साहित्य संगम कञ्चनपुर, प्रगतिशील लेखक संघ जस्ता बिभिन्न साहित्यिक संस्थाहरुमा आबध्द रहनु भएको छ ।

२०४२ देखि साहित्यमा संलग्न रहदै २०६१ बाट लघुकथा लेखन यात्रा शुरू गर्नुभएका लघुकथाकारको पहिलो लघुकथा “दूधको गिलास” नवज्योति साहित्यिक द्वैमासिक कञ्चनपुरमा प्रकाशित थियो । उहाँले नवज्योति द्वैमासिक लगायत अन्य साहित्यिक पत्र पत्रिका सम्पादन समेतको अनुभव हासिल गरिसक्नु भएको छ । उहाँ आधुनिक नेपाली लघुकथा फेसबुक पेजका सक्रिय एडमिन हुनुहुन्छ र लघुकथाको उन्नयनका लागि अहोरात्र खटिनुहुन्छ ।

प्रस्तुत कथा ”किसान बा”मा मुख्य पात्र म रहेको छ र सहायक पात्रहरु बा र आमा छन् । आमा बुवाको संम्वादबाट कथानक अगाडि बढदै म पात्रको मनोवादमा कथा समापन भएको छ । कथा यसरी शुरु गरिएको छ ।

यो तराईमा पानी पर्दै पर्दैन ,पर्न थालेपछि रोकिने नाम लिदैन भन्दै आमा धुम्म परेको आकाशतिर हेर्दै भित्र पसिन् ।

कुलो सोझ्याउनु, आली मिलाउनु , गरो सम्याउनु, कोदाली चलाउनु एक्लै कसोरी भ्याउँछन् यी बुढाले ।
बाबु, दुईचार हजार पठाई दे न ! पर्मा लाउने मान्छे छैनन्, खेताला महँगा भए,बा एक्लैले कति गरून् । बाउसेले दुई हजार माग्न थालिसके अचेल !आमा टेलिफोनमा एकोहोरो बोल्दै थिइन् । फोन भाउजुले उठाएकी रैछन् , के भनिन् कुन्नि ? रन्फनिएर बाहिर निस्किन् ।अनि बुढासँग भनिन सुन्यौ बुढा ! अर्को वर्षदेखि खेत जम्मै अधियामा दिने । आधा उब्जनीले हामी बुढाबुढी र यो छोरीलाई खान पुगिहाल्छ । ती शहरीयाले अब किनेर खान्छन् रे ।

खान्छन् किनेर , किनेर खानलाई फल्नु , फलाउनु परेन भन्दै बा कोदाली बोकेर खेततिर लागे । म भान्सामा आमालाई सघाउन पुगेँ ।त्यसपछि आमा बोल्नुभएन । पूरी तरकारी, अचार बनाएर खेततिर लाग्नुभयो । म आमाको पछिपछि लागें , पानीको गाग्री बोकेर ।

बाटोभरि मनमा एउटै कुरा खेलिरह्यो । मंसिरमा दाजुभाउजु नआउने नै हुन् त ? छिमेकबाट चामल पनि नआउने रे । कथा यसरी समापन गरिएको छ ।

लघुकथाले खेती किसानी गर्ने बा आमाको आर्थिक अभाव, शहरमा बसेर गाँउको खेतबारीको अन्नमा भर परेका छोराबुहारी, बृध्द अबस्थामा समेत पालो नपाउने, विवश अभिभावकको पिडा उजागर गर्दै छिमेकी देशले नजानिदो पारामा गर्न खोजेको खाद्यान्न नाकाबन्दी र राजनैतिक नेतृत्वको अकर्मण्यता प्रति घुमाउरो पारामा व्यंग्य गर्न सफल हुनुभएको छ लघुकथाकार ।सिध्दहस्त कलम लिखित लघुकथा म जस्ता सिकारु लघुकथाकारहरुका लागि मानक कथा बनेको छ । कथा सरल,सुबोध, कौतुहलपुर्ण र रोचक
छ ।

अन्त्यमा लघुकथाकार लक्ष्मी प्रसाद पौडेलको साहित्यिक यात्रा अझ प्रगाढ हुदै जाओस् । प्रशस्तमात्रमा लघुकथा लेखिसक्नु भएका लघुकथाकारको लघुकथा संग्रह यथासिघ्र प्रकाशित होस भन्दै उहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हरिवन-१०, सर्लाही
हाल मध्यपुर थिमी -३, भक्तपुर

लघुकथा : किसान बा
—- लक्ष्मीप्रसाद पौडेल

“यो तराईमा पानी पर्दै पर्दैन , पर्न थालेपछि रोकिने नाम लिदैन । ” आमा धुम्म परेको आकाशतिर हेर्दै भित्र पसिन् ।

“कुलो सोझ्याउनु, आली मिलाउनु , गरो सम्याउनु, कोदाली चलाउनु एक्लै कसोरी भ्याउँछन् यी बुढाले । छोराबुहारी मंसिरमा ‘बा ‘भन्दै टुप्लुक्क आइपुग्छन् । ‘धान चामल गाउँबाटै आउँछ हाम्रो’ भन्दै फुर्ती लाउन पाएकी छे बुहारीले ।”

“बाबु, दुईचार हजार पठाई दे न ! पर्मा लाउने मान्छे छैनन्, खेताला महँगा भए । बा एक्लैले कति गरून् । बाइसेले दुई हजार माग्न थालिसके अचेल !” आमा टेलिफोनमा एकोहोरो बोल्दै थिइन् । फोन भाउजुले उठाएकी रैछन् , के भनिन् कुन्नि ? रन्फनिएर बाहिर निस्किन् ।

“सुन्यौ बुढा , अर्को वर्षदेखि खेत जम्मै अधियामा दिने । आधा उब्जनीले हामी बुढाबुढी र यो छोरीलाई खान पुगिहाल्छ । ती शहरीयाले अब किनेर खाने रे ! ”

“खान्छन् किनेर , किनेर खानलाई फल्नु , फलाउनु परेन ! ” बा कोदाली बोकेर खेततिर लागे । म भान्सामा आमालाई सघाउन पुगेँ ।

त्यसपछि आमा बोल्नुभएन । पूरी तरकारी, अचार बनाएर खेततिर लाग्नुभयो । म आमाको पछिपछि लागें , पानीको गाग्री बोकेर ।

बाटोभरि एउटै कुरा खेलिरह्यो । ” यो मंसिरमा दाजुभाउजु नआउने नै हुन् त ? छिमेकबाट चामल पनि नआउने रे !”

————–
धनगढी, कैलाली


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...