Friday 7th February 2025

लघुकथाकार मित्र उराठी गाैतमको लघुकथा “सङ्गतको फल” को पाठकीय टिप्पणी -बन्दना घिमिरे


बन्दना घिमिरे – लघुकथाकार मित्र ‘उराठी’ गौतमले मिति २०७८/११/१२ गते हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा संगतको फल पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार मित्र उराठी गौतमलाई मैले भौतिक रुपले नचिनेकी भएपनि लघुकथाको माध्यमबाट प्रसस्त चिनेकी छु । जुलाई ६,२०२१ मा हाम्रो लघुकथा पाठशालामा जोडिनुभई नियमित लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका ५० भन्दा बढी लघुकथाहरु यस पेजमा पढन सकिन्छ । उहाँका कथाहरुमा नेपाली समाजका राम्रा- नराम्रा पक्षहरु उजागर भएको मैले पाएकी छु ।

२०३० जेष्ठ २४ गते अमरपुर गा.वि.स. – ८ ( साविक, इस्मा गा.पा. -६),गुल्मीमा पिता मोति प्रसाद गौतम र आमा रुन्नताको सुपुत्र रुपमा लघुकथाकार मित्र उराठी गौतमको जन्म भएको हो। उहाँको वास्तविक नाम मित्र प्रसाद गौतम हो । हाल तिलोत्तमा न.पा.-२, जानकीनगर,रुपन्देहीमा स्थायी बसोबास गर्नुहुने लघुकथाकार निजामती सेवामा सेवारत हुनुहुन्छ भने स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ ।उहाँका गुल्मी अमरपुर र सत्तिम्लाका गौतम वंशको चिनारी (२०६९)र लकडाउनको उपहार (कविता संग्रह,२०७७ )दुई कृतिहरु प्रकाशित छन् ।

कथा, लघुकथा, कविता, गजल, गीतजस्ता विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकारका रचनाहरु विभिन्न पत्र पत्रीकामा प्रकाशित हुनेगरेका छन् ।आधा दर्जनभन्दा बढी प्रशंसापत्र तथा पुरस्कारहरुबाट सम्मानित भईसक्नु भएका साहित्यकार विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।

प्रस्तुत कथा “संगतको फल” मा मुख्य पात्रको रुपमा पति जुध्द र पत्नी रुपा रहेका छन् भने सहायक पात्रमा अन्य साथीहरू भरत र सुरेश छन् । कथा यसरी शुरु भएको छ । सिँगान, हाच्छ्यु र टाउको दुखाइ ए ! बुढी आउन, एकैछिन टाउको मालिस गरिदेऊ । रुघाले ग्रस्त जुद्धले पत्नी रुपालाई पुकार्यो।तुलसी, ज्वानो, बेसार, पुदिना आदि मिसाएर पकाएको पानी सेवन गरेपछि विशेक हुँदै जान्छ ।मेथी फुराएको तेल तालुमा छापे पछि ठिक भै हाल्छ।”-भन्दै रुपाले सानो बच्चालाई जस्तै टाउकोमा तेल छापेर तातोपानी खान दिईन् ।
यसरी रुपाको स्याहार, सुसार र खानपानले जुद्ध तीन दिनमा ठिक भयो ।ठिक भएपछि उसको कार्यालयको दैनिकी पुनःसुचारु भयो।बुढाको रुघाखोकीले बुढीलाई पनि समाइहाल्यो।रुघा लागे पनि बुढोलाई जस्तो थपक्क सुतेर बुढीलाई नपुग्दो रहेछ।न्यास न्यास गर्दै भान्छा तयार गर्नु बुढालाई कार्यालय पठाउनु र बालबच्चा स्याहार्नु त बुढीको जिम्मेवारि छँदै छ।यसो कति कति बेला मैले के सघाऊँ बुढी भन्दै जुद्ध भान्छामा छिर्छ र मुखले सन्तोक लगाउँछ।
“हैन् जुद्ध, तिमी विरामी भएपछि त यसो बसाई पनि भएको छैन्।आज गुड फ्राइडे हान्दिऊँ न त।”
“मौसले पनि च्यालेञ्ज गरेको छ।जे पर्ला पर्ला हान्दिऊँ।” साथीहरूले उक्साए ।
“हैन् यार बुढी विरामी छ।समयमै पुग्नु पर्छ, पछि बसौँला नि।”-जुद्ध पञ्छिन खोज्यो।
“कस्तो जोइटिङ्ग्रे यार ? बुढीसँग डराएर पनि काम चल्छ? जाबो रुघासुघा के विरामी ? फेरि कसले राती पार्ने भनेको छ र? एकैछिन त हो नि।”
भरत र सुरेशको अगाडि जुद्धको केही लागेन।
बसे पछि कहाँ हुन्थ्यो र छिटो ? झमक्क साँझ भै हाल्यो ।
घर पुग्दा त रातै पर्यो।
“आज शुक्रबार, छिट्टै आउनुहोला र केही सहयोग होला भन्यो मतलबै छैन।आफूलाई कति गाह्रो भैरहेको छ? केटाकेटीले उस्तै हैरान पारेका छन्।के यस्तै बेला खानु पर्छ ?अघिपछि खानै नपाए जस्तो।”- रुपा अलि तात्तिई “घर छिर्न पा’छैन् कुरै नबुझि रन्किन्छे।यसो कहिलेकाहीँ साथीसँग बस्दा पनि आकासै खस्ने जस्तो? उनीहरुका पनि त बुढी छन् तिनले त केही बोल्दैनन्।दिन भरि घरमा बस्यो, त्यही पानी पकायो खायो भै त हाल्यो।कति न कोदालै खन्न परे जस्तो ? जाबो अलि अलि रुघा त हो, सिकिस्तै भा’को त हैन् नि ?” सम्हालिन खोज्दा खोज्दै पनि विजुलीपानीको करामत देखाइ छाड्यो जुद्धले। यसरी कथाको अन्त्य भएको छ ।

प्रस्तुत कथामा हाम्रो नेपाली समाजमा थोरै बिरामीहँदा पनि पतिले गर्ने गनगन ,पत्नीको स्याहारसुसार र पत्नी बिरामी हुदा पतिको व्यबहारको यथार्थ चित्रण गर्न सफल हुनुभएको छ कथाकार । महिलाहरूलाई बिरामी हुदाँ पनि घरधन्दा गर्नैपर्ने अबस्थाको मार्मिक चित्रण गरेको छ कथाले ।साथीहरूको संगतले बिरामी पत्नीलाई हेरचाह गर्नुको सट्टामा गुड फ्राइडे मनाउने र घरमा गएर उल्टै श्रीमतीलाई थर्काउने प्रवृत्ति भएका मानिसहरुलाई दरो झटारो हान्न सफल छ । ३१५ जति शब्दमा लेखिएको कथा सरल र सुबोध छ । कथा बिरामीको गनगनबाट शुरु भएर अर्कोतिर बिरामीलाई थर्काउदै बिपरित भावमा समापन भएकोले लघुकथाको मापनमा थपक्क बसेको जस्तो लाग्छ मलाई ।

लघुकथाकार मित्र “उराठी” गौतमको साहित्यक आयामहरु अझ सशक्त बन्दै जाओस् । मिठा मिठा लघुकथाका संग्रह यथासिघ्र प्रकाशितहोस् भन्दै सु- स्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

गठ्ठाघर, भक्तपुर

सङ्गतको फलः लघुकथा
-मित्र उराठी गाैतम

“सिँगान बगिरह्यो।हाच्छ्यूँ पनि कति आएको हो ? टाउको पनि चड्किरहेको छ।ए बुढी आउन, एकैछिन टाउको मालिस गरिदेऊ।”- रुघाले ग्रस्त जुद्धले पत्नी रुपालाई पुकार्यो।
“ल पिउनुस् यो पानी।तुलसीपात, ज्वानो, बेसार, पुदिना आदि मिसाएर पकाएको हो।यो सेवन गरेपछि विशेक हुँदै जान्छ।मेथी फुराएको तेल तालुमा छापे पछि ठिक भै हाल्छ।”-भन्दै रुपाले सानो बच्चालाई जस्तै टाउकोमा तेल छापिदिइन्।
यसरी रुपाको स्याहार, सुसार र खानपानले जुद्ध तीन दिनमा ठिक भै हाल्यो।ठिक भएपछि उसको कार्यालयको दैनिकी पुनःसुचारु भयो।
आखिर मौसम परिवर्तनको समय छ।बुढालाई भएको रुघाखोकीले बुढीलाई पनि समाइहाल्यो।
रुघा लागे पनि बुढोलाई जस्तो थपक्क सुतेर बुढीलाई नपुग्दो रहेछ।न्यास न्यास गर्दै भान्छा तयार गर्नु बुढालाई कार्यालय पठाउनु र बालबच्चा स्याहार्नु त बुढीको जिम्मेवारि छँदै छ।यसो कति कति बेला मैले के सघाऊँ बुढी भन्दै जुद्ध भान्छामा छिर्छ र मुखले सन्तोक लगाउँछ।
× × × × × × × × × × × ×
“हैन् जुद्ध, तिमी विरामी भएपछि त यसो बसाई पनि भएको छैन्।आज गुड फ्राइडे हान्दिऊँ न त।”-भरतले प्रस्ताव राख्यो।
“मौसले पनि च्यालेञ्ज गरेको छ।जे पर्ला पर्ला हान्दिऊँ।”-सुरेश जोस्सियो।
“हैन् यार बुढी विरामी छ।समयमै पुग्नु पर्छ, पछि बसौँला नि।”-जुद्ध पञ्छिन खोज्यो।
“कस्तो जोइटिङ्ग्रे यार ?बुढीसँग डराएर पनि काम चल्छ? जाबो रुघासुघा के विरामी ? फेरि कसले राती पार्ने भनेको छ र? एकैछिन त हो नि।”-भरतले पेलेरै भन्यो।
भरत र सुरेशको अगाडि जुद्धको केही लागेन।करैले भए पनि स्वीकार गर्यो।
बसे पछि कहाँ हुन्थ्यो र छिटो ? झमक्क साँझ भै हाल्यो ।
घर पुग्दा त रातै पर्यो।
“आज शुक्रबार, छिट्टै आउनुहोला र केही सहयोग होला भन्यो मतलबै छैन।आफूलाई कति गाह्रो भैरहेको छ? केटाकेटीले उस्तै हैरान पारेका छन्।के यस्तै बेला खानु पर्छ ?अघिपछि खानै नपाए जस्तो।”- रुपा अलि तात्तिई
“घर छिर्न पा’छैन् कुरै नवुझि रन्किन्छे।यसो कहिलेकाहीँ साथीसँग बस्दा पनि आकासै खस्ने जस्तो? उनीहरुका पनि त बुढी छन् तिनले त केही बोल्दैनन्।दिन भरि घरमा बस्यो, त्यही पानी पकायो खायो भै त हाल्यो।कति न कोदालै खन्न परे जस्तो ? जाबो अलि अलि रुघा त हो, सिकिस्तै भा’को त हैन् नि ?”
सम्हालिन खोज्दा खोज्दै पनि विजुलीपानीको करामत देखाइ छाड्यो जुद्धले।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...