बन्दना घिमिरे – लघुकथाकार रमेन्द्र कोईरालाले मिति २०७८/११/५ गते “हाम्रो लघुकथा पाठशाला”मा प्रेषित गर्नुभएको लघुकथा “साली” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु ।स्थापित लघुकथाकार रमेन्द्र कोईरालासँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।
इनरुवा -९, बबिया, सुनसरीमा पिता कपिलमुनि कोईराला र माता दिव्यमायाको कोखबाट मिति २०२१/३/२१मा लघुकथाकार रमेन्द्र कोईरालाको जन्म भएको हो । शिक्षण पेशा अपनाउदै साहित्य र समाजसेवामा रमाउनुहुने साहित्यकारले M.A, M.Ed र B.L सम्मको शिक्षा हासिल गर्नु भएको छ। उहाँको पहिलो लघुकथा”डाक्टरी अक्षर”रहेको थियो ।
आधा दर्जन पुस्तक प्रकाशन गरिसक्नु भएका साहित्यकारको फाटेको चप्पल (लघुकथा संग्रह ०७८) प्रकाशित छ भने प्रकाशोन्मूख दुई कृतिहरु रहेका छन् । दर्जनौं साहित्यिक संस्थाहरुका आजीवन सदस्य रहनुभएका साहित्यकार डेढ दर्जनभन्दा बढी सम्मान तथा प्रसंसा पत्रबाट बिभुषित हुनुहुन्छ ।
साहित्यकार रमेन्द्र कोईरालाका कथाहरुमा नेपाली समाजको संगति- बिसंगति उजागर भएको मैले पाएकी छु । म उहाँका कथाहरु देख्नेबित्तिकै पढने गर्छु । प्रस्तुत कथा ” साली”मा श्रीमान् , श्रीमती र साली तीन पात्रहरु रहेका छन् ।
कथा यसरी शुरु भएको छ ।श्रीमतीको अनुहार निकै उज्यालो देखेर विलासे छक्क पर्यो । हिंजोसम्म तनावग्रस्त श्रीमती आज के भयो र यति खुशी भइन ?
उसलाई लाग्यो साली आएकै दिनदेखि श्रीमती तनावमा थिइन् । सानो सानो कुरामा पनि झर्को मान्थिन्, जतिखेर पनि रिसाइरहन्थिन् । सालीको कारणले हो भनौं भने उनैले आउन भनेकी थिइन् । उनैकी बहिनी हुन् । फेरि किन यस्तो तनाव ? उसलाई मनमनै अचम्म लागेको थियो । आज फेरि उसलाई अचम्म लाग्यो । पत्नी बिहानै देखि खुशी छिन्।उसलाई जान्न रहर लाग्यो कसरी यो परिवर्तन भयो ?
उसले लुकेर दिदीबहिनीको कुरा सुन्यो । अनि पो रहस्य खुल्यो वास्तवमा साली त दुई दिन भित्रै आफ्नु घर जाने भएकी रहिछन् ।
प्रस्तुत लघुकथामा नेपाली महिलाहरुको आफ्नो श्रीमान् र बहिनी प्रतिको दृष्टिकोण पस्कन सफल हुनुभएको छ कथाकार । आफैले बोलाएर दिदीको घर आएकी बहिनी बसुन्जेल दिदीको व्यबहार र बहिनी दुई दिनपछि घर फर्किने भन्दा व्यबहारमा आएको परिवर्तनले महिलाहरु बहिनीसँग कति सशंकित हुन्छन् भन्ने मनोबिज्ञानलाई रोचक र कौतुहलपुर्ण रुपमा प्रस्तुत गरिएको छ । १३१ शब्दमा लेखिएको कथा सरल, सटिक र व्यवहारिक छ । सिध्दहस्त कलम लिखित लघुकथा श्रीमतीको तनावग्रस्त अनुहारबाट शुरु भएर उज्यालो अनुहारमा समापन भएकोले लघुकथाको मापनमा थपक्क बसेको छ ।
साहित्यकार रमेन्द्र कोईरालाको साहित्यिक यात्रा अझ सशक्त बन्दै सगरमाथाको शिखर चुमोस। अझै मिठा,रोचक र स्तरिय लघुकथाहरु पढ्न पाइयोस् भन्दै सु- स्वास्थ्य, दीर्घायु तथा अटल श्री बृध्दीको लाखौंलाख शुभकामना व्यक्त गर्दछु ।
लघुकथाः साली
-रमेन्द्र घिमिरे
श्रीमतीको अनुहार निकै उज्यालो देखेर विलासे छक्क पर्यो । हिंजोसम्म तनावग्रस्त श्रीमती आज के भयो र यति खुशी भइन ? उसलाई थाहा भएन ।
उसलाई लाग्यो कि साली आएकै दिनदेखि श्रीमती तनावमा थिइन् । सानो सानो कुरामा पनि झर्को मान्थिन् र जतिखेर पनि रिसाइरहन्थिन् । सालीको कारणले हो भनौं भने उनैले आउन भनेकी थिइन् । उनैकी बहिनी हुन् । अनि फेरि किन यस्तो तनाव ? उसलाई मनमनै अचम्म लागेको थियो ।
र आज फेरि उसलाई अचम्म लाग्यो
पत्नी बिहानै देखि खुशी छिन् । अर्थात हँसीखुशी जिन्दगी बिताउँदै छिन् ।
उसलाई जान्न रहर लाग्यो कि कसरी यो परिवर्तन भयो ?
उसले लुकेर दिदीबहिनीको कुरा सुन्यो । अनि पो रहस्य खुल्यो त !
वास्तवमा साली त दुई दिन भित्रै आफ्नु घर जाने भएकी रहिछन् ।