Friday 7th February 2025

लघुकथाकार रमेश सुवेदीको लघुकथा “धर्मसभा” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार रमेश सुवेदीले आज मिति २०७८/१०/२० गते बिहीबार हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ” धर्मसभा” पढेपछि मेरो पाठक मनमा आएका भावनालाई यहाँ प्रस्तुत गर्ने कोशिश गरेकी छु ।

लघुकथाकार रमेश सुवेदीसँग साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट मैले उहाँलाई चिनेकी र पढेकी छु । उहाँका कथाहरु वर्तमान नेपाली समाजका संगति- बिसंगति उजागर गर्न सफल र आदर्शोन्मुख रहेको मैले पाएकी छु ।
ललितपुर महानगरपालिका -१३,कुसुन्तीका स्थायी बासिन्दा लघुकथाकार रमेश सुवेदीको जन्म पिता परशुराम सुवेदी र माता लक्ष्मी सुवेदीको कोखबाट २०२४/०३/०४ मा कुलेश्वर, काठमाडौंमा भएको हो ।कविता, मुक्तक तथा लघुकथामा कलम चलाउनुहुने साहित्यकार रमेश सुवेदी नोभेम्बर ८, २०२१देखि जोडिनुभई हाम्रो लघुकथा पाठशालामा नियमित लघुकथा प्रेषित गर्ने लघुकथाकार हुनुहुन्छ । हाम्रो लघुकथा पाठशालामा उहाँको पहिलो कथा ” भुतको त्रास” रहेको छ ।

प्रस्तुत कथा “धर्मसभा”मा मुख्य दुई पात्रहरु रहेका छन् युवा र सन्त । युवाले अहिलेको नास्तिक पुस्ताको प्रतिनिधित्व गरेका छन् जो मुर्ति पुजाको घोर बिरोध गर्दछन् भने सन्तले आस्तिकको प्रतिनिधित्व गरेका छन् ।

कथा यसरी शुरु भएको छ । भव्य धर्मसभा हुँदै थियो पूजन गर्ने विधि लगायत मूर्ति प्राण प्रतिस्थापन, उद्यापनका कुरा हुँदै थियो । दर्शकदीर्घाबाट एक युवक उठेर भन्न लाग्यो ।
“ढुङ्गाको मुर्ति बनाएर पूजा गर्नु बेकार हो, जताततै कुल्चिएर हिड्ने ढुङ्गा कसरी भगवान हुन् सक्छ ? आज सम्म कोही कसैले ढुङ्गाको मुर्ति बोलेको सुनेको छ ? मूर्तिले पूजा गरेको बेला कुनै प्रतिक्रिया गरेको कसैले देखेको छ ? अनुहारको आकृति दिँदैमा साँच्चै भगवान बन्ने भए यहाँ जताततै देवताको राज चल्थ्यो । यस्तो कुरामा लागेर समय बर्बाद गर्नु भन्दा जिउँदो भगवान, दीनदुःखीको सेवा गर्नु ।” युवाको कुरामा केही दम देखेर दर्शकहरु मुखामुख गर्न लागे । विद्वान सन्तले ति युवालाई भोलि सभामा आफ्नु पिताजीको तस्बिर ल्याउनु भनी अह्राए ।

भोलिपल्ट युवाले आफ्नो पिताको तस्बिर ठूलो फ्रेमभित्र हालेर ल्याए । सभा आरम्भ हुने बित्तिकै सन्तले त्यो तस्बिर सबैको सामु भुइँमा राख्न भने सन्तले युवालाई तस्बिरमा कुल्चन र थुक्न भने ।युवाले आफ्नो बाबाको तस्बिर कुल्चन र थुक्न नसक्ने बताए । सन्तले भने यो त एउटा कागज न हो, यस्तो कागज बाटोमा हामी पाइलै पिच्छे कुल्चदैं हिड्छौ । यो जावो कागजको किन यत्रो मायाँ ?
युवाले यो तस्बिरमा आफ्नु बाबा प्रत्यक्ष देखेको बताए । सन्तले भने,” तिमी यो कागजमा आफ्नु बाबाको प्रतिमूर्ति लाई प्रत्यक्ष अनुभूति गर्दै छौ, हो त्यसै गरी ढुङ्गाको मूर्तिमा पनि भित्री आँखाले दर्शन गरे पछि प्रत्यक्ष भगवानको दर्शन पाइन्छ….।” यसरी कथाको अन्त्य भएको छ ।

प्रस्तुत लघुकथाले गहन भाव बोकेको छ । नास्तिक र आस्तिक बिचको द्वन्द्वमा आस्तिकको बिजय प्रस्तुत गर्नु लघुकथाकारको उदेश्य झल्किन्छ । ढुंगाको मुर्ति पुजा गर्नुको सट्टामा दीनदुखीको सेवा गर्नु राम्रो हो भन्ने भाव युवाले लिएका छन् भने आस्थाको कारणले मानिसले ढुङ्गामा भगवान् देख्छ जसरी कागतको खोस्टो भएपनि आफ्ना श्रध्देय पिताजीको तस्बिरमा थुक्न,कुल्चन मानिसले सक्दैन भन्दै सन्तले आस्थामा जोड दिएका छन् । २८५ शब्दमा बुनिएको कथामा आस्था ठुलो हो भनी झल्काउन सफल हुनुभएको छ कथाकार । कथा सलल बगेको सरल र सुबोध छ । उठानको बिपरित भावमा समापन भएको छ ।

कथामा केही कमजोर पक्ष पनि रहेका छन् । पात्रहरु भन्दा कथाकारको भावना बढी देखिएको छ जुन लघुकथामा त्यति राम्रो नमानिने बिज्ञहरुको मत रहेको छ साथै व्याकरणीय त्रुटीहरुलाई हटाउन सकेको खण्डमा कथा अझ राम्रो हुनेछ भन्ने मलाई लाग्दछ ।

लघुकथाकार रमेश सुवेदीको साहित्यिक यात्रा अविरल बगिरहोस । नयाँ नयाँ विषयभावका अझ राम्रा कथाहरु पढ्न पाईयोस्। लघुकथा संग्रह यथाशीघ्र प्रकाशित होस भन्दै सु- स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे

लघुकथा – “धर्मसभा”

रमेश सुवेदी
ललितपुर – १३, कुसुन्ती ।

एक पटक भव्य धर्मसभा हुँदै थियो । देवी देवता पूजन गर्ने विधि लगायत मूर्ति प्राण प्रतिस्थापन, उद्यापन आदिका कुरा हुँदै थियो । दर्शक दीघ्राबाट एक युवक उठेर भन्न लाग्यो ।

ढुङ्गाको मुर्ति बनाएर पूजा गर्ने बेकार हो, जताततै कुल्चिएर हिड्ने ढुङ्गा कसरी भगवान हुन् सक्छ ? आज सम्म कोही कसैले ढुङ्गाको मुर्ति बोलेको सुनेको छ ? मूर्तिले पूजा गरेको बेला कुनै प्रतिक्रिया गरेको कसैले देखेको छ ? अनुहारको आकृति दिँदैमा साँच्चै भगवान बन्ने भए यहाँ जताततै देवताको राज चल्थ्यो । यस्तो वाईहात कुरामा लागेर समय बर्बाद गर्नु भन्दा जिउँदो भगवान, दिन दुःखी गरिबको सेवा गर्नु ।

सबै दर्शक युवाको कुरामा केही दम देखेर मुखामुख गर्न लागे । त्यतिकैमा एक विद्वान शन्तले ति युवालाई भोलिको सभामा आफ्नु पिताजीको तस्बिर ल्याउनु भनी अह्राए ।

भोलिपल्ट ति युवाले आफ्नो पिताको तस्बिर ठूलो फ्रेमभित्र हालेर ल्याए । शभा आरम्भ हुने बित्तिकै शन्तले त्यो तस्बिर सबैको सामु भुइँमा राख्न भने । सबै दर्शक एक चित्त लगाएर हेर्न लागे ।

शन्त :- युवालाई भने त्यो तस्बिरमा कुल्च ।
युवा :- मेरो बाबाको तस्बिर कसरी कुल्चन सक्छु ।
शन्त :- कुल्चन सक्दैनौं भने थुक ।
युवा :- आफ्नु बाबाको तस्बिरमा कसरी थुक्न सक्छु ।
शन्त :- यो त एउटा कागज न हो, यस्तो कागत यत्र तत्र बाटोमा हामी पाइलै पिच्छे कुल्चदैं हिड्छौ । यो जावो कागजको किन यत्रो मायाँ ?
युवा :- स्वर्गमा भए पनि म यो तस्बिरमा आफ्नु बाबा प्रत्यक्ष देख्दै छु ।

सबै उपस्थित भक्त जनहरू यी सबै क्रियाकलाप ध्यान पूर्वक सुन्दै हेर्दै थिए । त्यही बेला शन्त ति युवालाई भन्न लागे जसरी तिमी यो कागजमा आफ्नु बाबाको प्रतिमूर्ति लाई प्रत्यक्ष अनुभूति गर्दै छौ, हो त्यसै गरी ढुङ्गाको मूर्तिमा पनि भित्री आँखाले दर्शन गरे पछि प्रत्यक्ष भगवानको दर्शन पाइन्छ….।
२०७८-१०-२०


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...