Monday 17th June 2024

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरको १ वर्षको तलब विपन्न विद्यार्थीलार्इ


तितोपाटी – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो १ वर्ष बराबरको तलब विपन्न विद्यार्थीहरुलाई वितरण गरेका छन् । घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ४४ विद्यार्थीलाई ३ लाख ८५ हजार रुपैयाँ आइतबार बाँडेका हुन् ।

तिलोत्तमामा ४४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विद्यालयबाट छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा कक्षा १ देखि ११ सम्मका विद्यार्थी छन् । कक्षा १ र २ का लाई ६ हजार, ३ र ४ का लाई ७ हजार, ५ र ६ का लाई ८ हजार , ७ र ८ का लाई ९ हजार, ९ का लाई ९ हजार ५ सय, १० का लाई १० हजार र ११ कक्षाका विद्यार्थीलाई १७ हजारका दरले प्रमुख घिमिरेले छात्रवृत्ति बाँडेका हुन ।

आर्थिक अभावमा शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य तथा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन छात्रवृत्ति वितरण गरेको प्रमुख घिमिरेले बताए ।

‘मेयरमा निर्वाचित भएपछि राजनीति गर्नेहरुप्रति बढेको वितृष्णा कम गर्नुपर्छ भन्ने सोंच अनुसार नगर प्रमुख छात्रवृत्ति कार्यक्रम थालनी गरेको प्रमुख घिमिरेको भनाइ छ । ‘राजनीतिका नाममा राज्य कोषबाट तलब सुविधा लिने परिपाटी गलत हो, राजनीतिलाई विशुद्ध सामाजिक सेवा बनाउनुपर्छ भन्ने मेरो मान्यता छ’, छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख घिमिरेले भने ।

नगरभित्रका सामुदायिक विद्यालयको स्तर आगामी तीन वर्षभित्र संस्थागत विद्यालय सरह बनाउने लक्ष्य पूरा गर्न छात्रवृत्ति कार्यक्रमले टेवा पुर्याउने विश्वास प्रमुख घिमिरेले व्यक्त गरे ।

नगरप्रमुख घिमिरेले गत असार २० गते आफ्नो पाँचवर्षे कार्यकालको पारिश्रमिक छात्रवृत्तिमा खर्च गर्ने घोषणा गरेका थिए ।

प्रदेश ५ सरकारले नगर प्रमुखहरुको पारिश्रमिक मासिक ३५ हजार रुपैयाँ तोकेको छ । पाँच वर्षमा प्रमुख घिमिरेले करिब २२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्नेछन् ।

तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षातर्फ कुल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरेको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा एक करोड, भवन रंगरोगन तथा मर्मतसम्भारका लागि एक करोड २९ लाख, दिवा खाजाका लागि एक करोड, बाल विकास शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप ३५ लाख ८८ हजार, सामुदायिक विद्यालयहरुमा यातायात सञ्चालन अनुदानस्वरुप २० लाखलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले तिलोत्तमाका प्रमुखको यो थालनी देशकै लागि उदाहरणीय र अनुकरणीय भएको भन्दै खुलेर सराहना गरे । शान्ति नमूना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले गरीब परिवारका बालबालिकाका लागि गरिएको यो त्याग अनुकरणीय भएको बताए ।


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...