Thursday 18th June 2026

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरको १ वर्षको तलब विपन्न विद्यार्थीलार्इ


तितोपाटी – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो १ वर्ष बराबरको तलब विपन्न विद्यार्थीहरुलाई वितरण गरेका छन् । घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ४४ विद्यार्थीलाई ३ लाख ८५ हजार रुपैयाँ आइतबार बाँडेका हुन् ।

तिलोत्तमामा ४४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विद्यालयबाट छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा कक्षा १ देखि ११ सम्मका विद्यार्थी छन् । कक्षा १ र २ का लाई ६ हजार, ३ र ४ का लाई ७ हजार, ५ र ६ का लाई ८ हजार , ७ र ८ का लाई ९ हजार, ९ का लाई ९ हजार ५ सय, १० का लाई १० हजार र ११ कक्षाका विद्यार्थीलाई १७ हजारका दरले प्रमुख घिमिरेले छात्रवृत्ति बाँडेका हुन ।

आर्थिक अभावमा शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य तथा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन छात्रवृत्ति वितरण गरेको प्रमुख घिमिरेले बताए ।

‘मेयरमा निर्वाचित भएपछि राजनीति गर्नेहरुप्रति बढेको वितृष्णा कम गर्नुपर्छ भन्ने सोंच अनुसार नगर प्रमुख छात्रवृत्ति कार्यक्रम थालनी गरेको प्रमुख घिमिरेको भनाइ छ । ‘राजनीतिका नाममा राज्य कोषबाट तलब सुविधा लिने परिपाटी गलत हो, राजनीतिलाई विशुद्ध सामाजिक सेवा बनाउनुपर्छ भन्ने मेरो मान्यता छ’, छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख घिमिरेले भने ।

नगरभित्रका सामुदायिक विद्यालयको स्तर आगामी तीन वर्षभित्र संस्थागत विद्यालय सरह बनाउने लक्ष्य पूरा गर्न छात्रवृत्ति कार्यक्रमले टेवा पुर्याउने विश्वास प्रमुख घिमिरेले व्यक्त गरे ।

नगरप्रमुख घिमिरेले गत असार २० गते आफ्नो पाँचवर्षे कार्यकालको पारिश्रमिक छात्रवृत्तिमा खर्च गर्ने घोषणा गरेका थिए ।

प्रदेश ५ सरकारले नगर प्रमुखहरुको पारिश्रमिक मासिक ३५ हजार रुपैयाँ तोकेको छ । पाँच वर्षमा प्रमुख घिमिरेले करिब २२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्नेछन् ।

तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षातर्फ कुल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरेको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा एक करोड, भवन रंगरोगन तथा मर्मतसम्भारका लागि एक करोड २९ लाख, दिवा खाजाका लागि एक करोड, बाल विकास शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप ३५ लाख ८८ हजार, सामुदायिक विद्यालयहरुमा यातायात सञ्चालन अनुदानस्वरुप २० लाखलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले तिलोत्तमाका प्रमुखको यो थालनी देशकै लागि उदाहरणीय र अनुकरणीय भएको भन्दै खुलेर सराहना गरे । शान्ति नमूना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले गरीब परिवारका बालबालिकाका लागि गरिएको यो त्याग अनुकरणीय भएको बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...