Friday 3rd May 2024

म्यानमारमा विद्रोही र सुरक्षाफाैजबीच भएको झडपमा २० जनाको मृत्यु


म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीहरूले यही हप्ता सैन्य सरकारविरुद्ध ‘जनताको रक्षात्मक युद्ध’को घोषणा गरेपछिको यो पहिलो घातक हिंसा हो ।

म्यानमारका अभियन्ता तथा सैन्य विरोधी विद्रोहीहरूले ‘सार्थक बाह्य हस्तक्षेप’को अभावले सशस्त्र प्रतिरोधलाई जन्म दिएको भन्दै शनिबार म्यानमारको सैन्य सरकारलाई कारबाही गर्न बाह्य समुदायसमक्ष आग्रह गरेका थिए । यसलगत्तै पछिल्लो हिंसा भएको अलजजिराले जनाएको छ। भद्र अवज्ञा आन्दोलनले आइतबार बिहान जारी गरेको एक वक्तव्यमा भनेको छ, ‘म्यानमारका युवाहरूसँग आफूसँग जे छ त्यसकै सहारामा सैन्य सरकारविरुद्ध लड्नुको विकल्प छैन ।’ यसले दक्षिण–पूर्वी एसियाली राष्ट्रहरू तथा संयुक्त राष्ट्रसंघलाई म्यानमारको राष्ट्रिय एकता सरकार भनिएको छाया सरकारको पक्षबाट म्यानमारमा ‘प्रत्यक्ष संलग्न’ हुन पनि अपिल गरेको छ ।

म्यानमारको सैन्य सरकारविरुद्ध आन्दोलन गरिरहेका शक्तिहरूले राष्ट्रिय एकता सरकार (एनयुजी)लाई म्यानमारको वैधानिक सरकारको रूपमा मान्यता दिलाउनका लागि यही सप्ताहन्तदेखि अभियान सुरु गरिरहेका छन् ।

म्यानमार सेनाले गत फेब्रुअरीरी १ मा गरेको कुविरुद्ध प्रतिरोध गर्न गठित एनयुजीले सेनाविरुद्ध लडिरहेका समूहहरूबीच समन्वय गर्दै सेनाविरुद्ध विद्रोह गर्न आह्वानसमेत गरेको थियो । एनयुजीले पछिल्लो समय म्यानमार सेनाका सिपाही र सरकारी कर्मचारीहरूलाई आफ्नो पक्षमा उभिनका लागि उनीहरूलाई मनाउने प्रयास गरिरहेको छ ।

सैनिक जनरल मिन आङ लेङले आङ साङ सूचीलगायत पछिल्लो निर्वाचनबाट निर्वाचित सबै सांसदलाई व्यवस्थापिकाको पहिलो बैठक बस्न नदिई शक्ति हत्याएपछि गत फेब्रुअरीदेखि म्यानमारमा द्वन्द्व चर्किरहेको छ। उक्त सैन्य ‘कु’को विरोधमा देशव्यापी प्रदर्शन र भद्र अवज्ञा आन्दोलन भइरहेका छन् । तर, सेनाले आन्दोलनलाई चरम बल प्रयोग गरेर दबाउने प्रयास गर्दै आइरहेको छ ।

आन्दोलन दबाउने प्रयास गरेपछि सैन्य सरकारविरुद्ध सशस्त्र विद्रोह सुरु भएको छ । विशेष गरी सीमाक्षेत्रमा विद्राहीहरूले सैन्य सरकारविरुद्ध संघर्ष गर्नका लागि जातीय समूहहरूसँग मिलेर ‘पिपुल्स डिफेन्स फोर्सेज’ (पिडिएफ) गठन गरेका छन् ।

हिंसाका कारण दशौँ हजार मानिस विस्थापित भएको बताइएको छ । म्यानमारमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन गर्ने संस्था असिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्सका अनुसार सैन्य कुविरुद्धको आन्दोलन दबाउने क्रममा हालसम्म एक हजार ५८ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ३०० भन्दा बढी पक्राउ परेका छन् । पश्चिमा देशहरू र म्यानमारका छिमेकी राष्ट्रहरूले दबाब दिइरहे पनि कूटनीतिक रूपबाट समस्या समाधान हुन सकेको छैन ।
-नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...