कतै छैन बाटो छु मान्छे, म लाटो
पिएको छु पानी , नशा प्यून साटो
म ढोगेर बस्दै छु सधैं यो माटो
र बन्नै मलाई खुसी लाग्छ लाटो
।।१।।
म स्वच्छन्द बग्ने सधैं कल्पनामा
कला सामु आयौ सधैं सम्झनामा
सला मात्र छायौ अझै क्रन्दनामा
भला लाग्छ मेरी कथा नौरथामा
।।२।।
म खोज्दै छु नौला कथा छन्द नाना
म देख्दै छु वेग्लै नयाँ मूर्त पाना
कसैले मलाई नचिन्ने हुनाले
छ भर्दै सबै यी बासना पालुवाले
।।३।।
चिनेकी मलाई नचिन्दा नि चेप्यौ
मिलेसम्म मौका सकेसम्म हेप्यौ
छ यस्तै भएको यहाँको कहानी
नयाँ जिन्दगानी बनाएँ बिहानी
।।४।।
म लेख्ने कलामा सधैं मूर्त मान्छे
कहानी कथामा सधैं धूर्त मान्छे
छ यो जिन्दगानी नयाँ झैं कहानी
रमी आउनाले खुलेको बिहानी
।।५।।
छु विज्ञात आफैं र विज्ञाति पाएँ
भनौं भन्न होला म औधी रमाएँ
छ म्याग्दे कलाको हुने राजधानी
म फर्केर पठ्ठो भएको जवानी
।।६।।
म भन्दै छु राधा ! बनूँ कृष्ण कामी
दुबैले दुबैको सधैं भाग्य छामी
म मान्छे कलाको र साहित्यको हो
उदाएँ धरामा नयाँ रोशनी पो
।।७।।
छु एक्लै म बोक्ने र नेपाल आमा
खुलाऔं नयाँ क्रान्ति झन् सभ्यतामा
म लेख्ने कलामा नयाँ जिन्दगी हो
छताछुल्ल पार्ने खुली रोशनी हो
।।८।।
छु जोड्ने सफा जिन्दगी तारतम्य
नमान्दा हुने को कसैले अचम्म
नयाँ जिन्दगानी म बोकेर आएँ
सकेसम्म रक्सी म धोकेर आएँ
।।९।।
नयाँ कल्पनाका कहानीहरू छन्
खुले स्वच्छ आभा बिहानीहरू झन्
उमार्ने धरामा सदाचार शैली
छु खोल्दै रमाई कलाकार थैली
।।१०।।
अविचल आस्था मणि
म्याग्दे, तनहुँ, गण्डकी, नेपाल ।