Saturday 18th May 2024

औषधि खुवाएर १५ हप्ताको गर्भपतन गराउँदा ज्यान गयो


छोराको चाहनाले तीन छोरीकी आमाको अकालमा मृत्यु

तीतोपाटी डटकम-कालीमाटी चोकबाट करिब ७० मिटर कलंकीतर्फ अगाडि बढ्दा दायाँतर्फ एउटा गल्ली छ । त्यही गल्लीको भित्र एउटा निजी अस्पताल छ, जसको नाम हो– ज्योति अस्पताल ।२५ शैयाको अस्पताल भनिए पनि त्यो अस्पताल नभएर एउटा सामान्य उपचार केन्द्रजस्तो मात्रै देखिन्छ । त्यहीँ गर्भपतन गराउन पुगेकी २८ वर्षीया एक महिलाको सोमबार राति मृत्यु भएको छ ।

अस्पतालको चरम लापरवाहीका कारण महिलाको ज्यान गएको पीडित परिवारको दाबी छ । उनीहरुले न्याय माग्दै मंगलबार अस्पतालमा धर्ना दिएका छन् ।रामेछाप स्थायी घर भई काठमाडौंमा बस्ने २८ वर्षीया अनिता घिमिरेको पेटमा १५ हप्ताको गर्भ थियो । पहिले नै ३ छोरीकी आमा बनिसकेकी अनिता फेरि पनि गर्भमा छोरी नै रहेमा जन्माउने मनसायमा थिइनन् ।

अनिताले केही समयअगाडि ज्योति अस्पतालमा गएर जाँच गरिन् । अल्ट्रासाउण्ड पनि गरिन् । गर्भमा रहेको बच्चा छोरा थियो वा छोरी, केही कुरा बाहिर आएको छैन, यद्यपि उनले गर्भपतन गराउने भन्दै डाक्टरसँग सल्लाह गरिन् । भ्रूणको लिंक पहिचान गर्न कानूनले बर्जित गरेको छ ।
सुरुमा थापाथलीस्थित प्रसुती गृह अस्पताल गएर स्वास्थ्य जाँच गराएकी उनले त्यहीँ गर्भपतन गराउन चाहेकी थिइन् । तर, कोभिड १९ को माहामारी बढेका कारण अस्पतालले पालो दिएन । बरु प्रसूतिगृह अस्पतालले नै कुनै निजी अस्पतालमा गएर गर्भपतन गराउन सुझाव दियो ।

त्यसपछि अनिताले मध्य वैशाखमै ज्योति अस्पताल पुगेर डाक्टरसँग सल्लाह गरेकी थिइन् । डाक्टरले जेठको १० गतेसम्म गर्भपतन गर्न मिल्ने बताएका थिए । तर, लकडाउनका कारण उनी समयमै अस्पताल पुग्न पाइनन् ।सोमबार देवरलाई लिएर उनी कालीमाटीस्थित ज्योति अस्पतालमा गर्भपतन गराउन पुगिन् । अनिताका देवर शरण घिमिरेले उनलाई बिहान ११ बजे कालीमाटीस्थित ज्योति अस्पतालमा पुर्याए ।

अनितालाई कुर्नुपरेमा अर्को व्यक्ति चाहिने भन्दै कुर्ने व्यक्ति लिन शरण डल्लुतिर लागे । सोहीबेला अनिताले देवर शरणलाई फोन गरेर ‘मलाई क्युरेट हुने औषधी दिइसक्यो, कपडा लिएर छिटो आउनू’ भनिन् । शरण आफ्नी दिदीलाई लिएर करिब १२ बजे अस्पताल पुगे ।त्यतिबेला अनितालाई ‘प्रोसिड्युर’ कक्षमा लगिसकिएको थियो । करिब एक घण्टाजति उनीहरुलाई भित्र जान दिइएन । त्यहाँ रहेका डाक्टर र स्वास्थ्यकर्मीहरु कुदाकुद गर्न थाले । कोही अक्सिजन लिन दौडिए, कोही औषधि लिन दौडिए ।

के भयो भनेर सोद्धा क्युरेट भइसक्यो, अलिकति रक्तश्राव भएको छ भन्ने जवाफ दिए । उनीहरुले केही औषधी ल्याउन लिष्ट पठाए र उपचार गरे । तर, अत्यधिक रक्तश्रावका कारण अनिताको अवस्था झनझन् बिग्रियो ।त्यसपछि, प्रसुतीरोग विशेषज्ञ डाक्टर अञ्जना कार्कीलाई बोलाइयो । अञ्जनाले बिरामीको चेकजाँच गरिन् र केही औषधि पनि दिइन् । अत्यधिक रक्तश्रावका कारण उनी कमजोर बनिसकेकी थिइन् । उनलाई रगतको आवश्यकता थियो । तर, त्यतिबेलासम्म उनको रगत समूह कुन भनेरसमेत छुट्याइएको थिएन ।

त्यसपछि डाक्टर अञ्जनाले नै रगत समूह पहिचान गर्न र रगत ल्याउन त्यहाँ रहेका अन्य स्वास्थ्यकर्मीलाई भनिन् । अञ्जनाले हेरेपछि बिरामी केही ठीक भएजस्तो भयो । त्यसपछि डाक्टर अञ्जना त्यहाँबाट बाहिरिइन् । गर्भपतन गराउन आएको बताएपछि अनितालाई सुरुमै ‘दुई गोली औषधि’ दिइएको बताइएको छ । उनले देवरलाई फोन गर्दा पनि ‘मलाई क्युरेट गर्ने दुईवटा औषधि दिइसक्यो’ भनेकी थिइन् । त्यसकारण उनलाई गर्भपतनको औषधि शुरुमै दिएको बुझिन्छ । सुरुमा बिरामीका आफन्तलाई पनि अस्पताल प्रशासनले क्युरेट भइसकेको र ट्वाइलेटमा बच्चा खसेको बताएका थिए ।

तर, जब बिरामीमा जटिलता आयो, त्यसपछि मात्रै विशेषज्ञ डाक्टर अञ्जनालाई बोलाएको मृतकका आफन्त बताउँछन् । अपरान्ह ४ बजे डाक्टर अञ्जनाले बिरामीलाई हेरेर रगत दिनुपर्ने बताएको बिरामीका भाइ अविनाश खत्रीले बताए ।त्यसपछि मात्रै आफूहरुलाई रगतको समूह पहिचान गर्न र सोही समूहको रगत लिन पठाएको अविनाशले रातोपाटीलाई बताए । साँझ ७ बजेतिर रगत लिन गएका अविनाश अस्पताल नआइपुग्दै फोन गरेर बिरामीलाई समस्या भयो, रगत लिएर बीएण्डबी अस्पताल आउनू भनियो । अविनाश पनि हतारहतार बिएण्डबी अस्पताल पुगे ।

बिरामीको अवस्था अत्यन्तै नाजुक भएपछि अस्पतालका सञ्चालक सत्यन्द्रकाजी श्रेष्ठले आफ्नै कारमा राखेर बिरामीलाई बीएण्डबी अस्पताल पुर्याएका थिए । सत्येन्द्रसँगै अस्पतालका हेल्थ असिस्टेण्ट दीपक तिमिल्सिना र एकजना ‘नर्स’ पनि कारमै थिए । मृतक अनिताकी भाइबुहारी जानुका खत्रीलाई पनि सँगै लगिएको थियो ।

कालीमाटीस्थित ज्योति अस्पतालबाट बिरामीलाई अस्पताल लैजाँदै गर्दा बुहारी जानुकालाई ज्योति अस्पतालका डाक्टर दीपक तिमिल्सिनाले ‘अस्पतालमा क्युरेट गरेको नभन्नू र पुलिस केस पनि नगर्नु, यो इल्लिगल काम हो, समस्या पर्छ’ भनेको जानुकाले रातोपाटीलाई बताइन्।राति करिब ९ बजे बीएण्डबी अस्पताल पुर्याइएकी अनिता जीवनमरणको अवस्थामा थिइन् । त्यहाँ अनितालाई नै हेरेकी डाक्टर अञ्जना कार्की पनि अस्पताल आइपुगिन् । उनलाई अप्रेशन गर्ने भन्दै अप्रेसन थिएटर लगियो । त्यतिबेलासम्म पनि रक्तश्राव रोकिएको थिएन ।

बीएण्डबी अस्पतालमै उपचारका क्रममा करिब ८० हजार रुपैयाँ सकियो । तर, अनिताको जीवन अस्पतालले बचाउन सकेन । बिहान ३ बजे अनिताको मृत्यु भयो ।अनिताको मृत्यु भएपछि मंगलबार बिहान डा. अञ्जना कार्कीले बीएण्डबी अस्पतालमै बिरामीका आफन्त र प्रहरीका सामुन्ने ‘अनिताको क्युरेट गर्नका लागि पहिले नै औषधि दिइएको रहेछ, सोही कारणले उनको अत्याधिक रक्तश्राव भएको रहेछ । म सोमबार अपरान्ह गएर हेरेकी थिएँ, तर त्योभन्दा पहिले नै बिरामीको क्युरेट भइसकेको थियो, मैले सालनाल मात्रै निकालिदिएकी हुँ’ भनेर बताएको मृतकका आफन्तले जानकारी दिए ।

यतिबेला अनिताको मृत शरीर बीएण्डबी अस्पतालको मूर्दाघरमा छ । बिरामीका आफन्तहरु अस्पतालको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताललाई कारवाही र क्षतिपूर्तिको माग गर्दै ज्योति अस्पताल घेराउमा पुगेका छन् ।

के अस्पतालले लापरवाही नै गरेको हो ?

अनिताको मृत्यु प्रकरणको प्रारम्भिक अवस्था हेर्दा अस्पतालको लापरवाही भएको बुझ्न सकिन्छ । किनभने, बिरामीलाई जतिबेला गर्भपतन गर्ने औषधि दिइयो भनिएको छ, त्यतिबेला बिरामीका आफन्त त्यहाँ थिएनन् । जबकि गर्भपतन गराउने समयमा बिरामी वा आफन्तको मञ्जुरीनामा र हस्ताक्षर चाहिन्छ ।यदि गर्भपतन गराउने हो भने पूर्वतयारीस्वरुप रगतको व्यवस्था गर्नुपर्छ । रगतको व्यवस्था गर्न, त्योभन्दा पहिले नै रगत समूहको पहिचान गर्नुपर्छ । गर्भपतन गराउन पनि तालिमप्राप्त जनशक्ति चाहिन्छ ।

तर, बिरामीको ब्लड प्रेसर र रक्त समूहको समेत पहिचान नगरी, रगतको व्यवस्था नै नगरी, साक्षीको कुनै हस्ताक्षरसम्म नगराई आफूखुसी गर्भपतन गर्ने औषधि दिइएको मृतकका परिवारजनको आरोप छ ।बिरामी स्वयम्ले देवरलाई फोन गरेर मलाई क्युरेट हुने दुई गोली औषधि दिइसक्यो, छिटो आउनू भन्नुको अर्थ अस्पतालले गर्भपतन गराउने औषधि दिइसकेको बुझिन्छ ।

बीएण्डबी अस्पताल भन्छ– गर्भपतन गराइएको रहेछ, कम्प्लिकेसन आएपछि मात्रै यहाँ ल्याइएको हो

अनिताको मृत्यु प्रकरणका सम्बन्धमा बीएण्डबी अस्पतालसँग बुझ्दा अवस्था नाजुक भइसकेपछि मात्रै त्यहाँ लगेकाले बचाउन नसकिएको बताएको छ ।अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराईका अनुसार अनितालाई सोमबार राति सवा ८ बजे बीएण्डबी अस्पताल पुर्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण जटिल अवस्थामा अनितालाई अस्पताल पुर्याइएको र राति ९ः १० मा अप्रेसन थिएटरमा लगिएको बीएण्डबीले जनाएको छ ।

तर, अप्रेसन गर्नै लाग्दा बिरामीको अवस्था झन्झन् बिग्रिएकाले केही समय सीपीआर दिएर पछि मात्रै अप्रेसन गरिएको र रक्तश्रावको कारण खोजिएको भट्टराईले बताए । अप्रेसनपछि पनि बिरामीलाई सीपीआर दिइएको, तर बचाउन नसकिएको अस्पतालले जनाएको छ ।बीएण्डबी अस्पतालका अनुसार ज्योति अस्पतालले अनितालाई गर्भपतन गराउने औषधि दिएर गर्भपतन गराउन खोजेको तर अत्याधिक रक्तश्राव भई अवस्था जटिल भएको हो । प्रशासन प्रमुख भट्टराईले भने, ‘मैले पाएको जानकारीअनुसार गर्भपतन गराउन उनलाई औषधि दिइएको थियो, त्यसपछि गर्भपतन हुने क्रममा अत्यधिक रक्तश्राव भएको र कम्प्लिकेसन आएप्छि मात्रै यहाँ ल्याइएको हो । थप कुरा सम्बन्धित डाक्टरसँग पनि गर्नुपर्ने हुन्छ । अहिले मैले डाक्टरसँग कुराकानी गर्न पाएको छैन ।’

ज्योति अस्पताल भन्छ– हामीले गर्भपतन गराएका छैनौँ

बिरामीको मृत्यु भइसकेपछि कालीमाटीस्थित ज्योति अस्पतालले आफूहरुले मृतकको क्युरेट नगराएको दाबी गरेको छ । मंगलबार रातोपाटीसँग कुराकानी गर्दै अस्पतालका सञ्चालक सत्यन्द्रकाजी श्रेष्ठले आफूहरुले अनिताको क्युरेट नगराएको दाबी गरे ।बिहान करिब ११ बजे अनिता अस्पतालमा आइपुगेको र पिसाब पोलेको बताएको श्रेष्ठको दाबी छ । बिरामीले पिसाब पोलेको बताएपछि आफूहरुले मेट्रो (मेट्रोनिडाजोल) र सिप्रो (सिप्रोफ्लोक्सासिन) औषधि दिएको उनले बताए । तर, त्यसपछि ट्वाइलेटमा अनिताको ‘मिसक्यारेज’ भएको श्रेष्ठको दाबी छ ।

श्रेष्ठका अनुसार त्यतिबेला मेडिकल अफिसर दीपक तिमिल्सिनाको टिम अस्पतालमै थियो । मेडिकल अफिसर भनिएका व्यक्ति अर्थात् दीपक तिमिल्सिना भने डाक्टर नभएर हेल्थ असिस्टेण्ट मात्रै हुन् । मेडिकल अफिसर भनेको कम्तिमा पनि एमबीबीएस पास गरेका डाक्टर हुनुपर्छ ।रातोपाटीले मेडिकल अफिसर भनेका दीपक डाक्टर हुन् कि हैनन् भनेर प्रतिप्रश्न गरेपछि मात्रै सञ्चालक श्रेष्ठले उनी हेल्थ असिस्टेण्ट मात्रै भएको र डा. प्रिया शाक्य पनि त्यहीँ रहेको बताए ।त्यहाँ कार्यरत रहेकी भनिएकी डा. प्रिया शाक्यसँग कुराकानी गर्न खोज्दा उनी त्यहाँ थिइनन् । उनको मोबाइल नम्बर माग्दा अस्पताल प्रशासनले ‘छैन’ भन्ने जवाफ दियो ।

यसको अर्थ, उक्त अस्पतालको सबै काम हेल्थ असिस्टेण्ट दीपक तिमिल्सिनाले नै गर्ने गरेको बुझिन्छ । मृतक अनिताकी बुहारी जानुकाका अनुसार त्यहाँ नर्स र दीपक डाक्टरमात्रै थिए । यसको अर्थ, दीपकलाई अस्पतालले डाक्टरका रुपमा उभ्याएको थियो ।हेल्थ असिस्टेण्टले गर्भपतन गराउन नपाउने र स्टाफ नर्स भए पनि तालिम लिएकै व्यक्तिले मात्र गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ ।

१२ हप्तापछिको गर्भपतन गराउन प्रतिबन्ध

नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई मात्रै कानूनले तोकेको मापदण्डअनुसार पतन गराउने अधिकार दिएको छ । जबरजस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने कानुनी व्यवस्था छ । तर, बच्चा वा आमाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएमा, आमाको मानसिक स्वास्थ्यमा समस्या आएमा भने चिकित्सकको सल्लाह र प्रतक्ष निगरानीमा जुनसुकै अवस्थाको गर्भ पतन गर्न सकिने कानुनी अधिकार छ । मृतक अनिताको गर्भमा १५ हप्ताको गर्भ थियो । उनी श्रीमानसँगै बस्दै आएकी थिइन् ।१२ हप्ताभन्दा माथिको गर्भ पतन गराउन स्वास्थ्य संस्थामा जाँदा अनिवार्यरूपमा आफन्त लिएर जानुपर्ने कानुनी व्यवस्था छ, त्यो पनि कानुनले तोकेको मापदण्डमा गर्भपतन गराउन पाइने अवस्थामा ।

६३ दिनपछिको गर्भपतन औषधि खुवाएर गर्नु राम्रो हुँदैन : चिकित्सक

ज्योति अस्पतालले १५ हप्ताको गर्भ औषधि खुवाएरै पतन गराउन खोज्दा अनिताको मृत्यु भएको मृतकका आफन्तको दाबी छ । सरकारी अस्पताल प्रसुतीमा पुगेकी अनिताले सरकारी अस्पताल प्रशासनले नै निजीमा जान सुझाएको मृतकका आफन्तको भनाइ छ ।

प्रसुती गृहका पूर्वनिर्देशक समेत रहेका प्रसुती रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम ९ हप्ता अर्थात् ६३ दिनपछिको गर्भपतन औषधि सेवनबाट गराउन नहुने बताउँछन् ।

९ सातासम्मको गर्भ हो भने तालिमप्राप्त स्वास्थ्यकर्मीले औषधि दिएर पनि पतन गराउन सक्छन् । यदि अस्पतालमै भर्ना भएर गर्भपतन गराउने हो भने आमाको स्वास्थ्य हेरेर चिकित्सकको प्रत्यक्ष निगरानीमा १२ हप्तासम्मको गर्भपतन पनि औषधि दिएर गराउन सकिन्छ । तर, त्योबेला पहिले नै स्लाइन पानी ठिक्क पारेर राख्नुपर्छ भने अन्य औषधि दिन भेन ओपन गरेको हुनुपर्छ ।

१२ हप्ताभन्दा पनि माथिको अवस्थामा गर्भपतन गराउँदा सर्जिकल क्याक अर्थात् स्वास्थ्य उपकरणबाट नै गराउनुपर्ने हुन्छ । त्यतिबेला बिरामीको अवस्था हेरेर स्लाइन पानी, रगत र अन्य आवश्यक औषधिको जोहो गरेको हुनुपर्छ ।

डा. गौतमका अनुसार नेपालमा गर्भपतन गराउनका लागि कम्तीमा एमबिबिएस पढेका डाक्टर र कम्तिमा प्रवीणता प्रमाणपत्र तह पढेका नर्सलाई मात्रै तालिम दिइएको छ ।

यदि १२ हप्ताभन्दा माथिको गर्भपतन गराउँदा पनि भ्याकुम लगायतका मेडिकल उपकरण प्रयोग गरिएन र औषधि खुवाइयो भने पाठेघर फुट्नसक्ने सम्भावना रहन्छ । जसका कारण अत्याधिक रक्तश्राव हुन्छ र समयमै अप्रेसन गरेर पाठेघर बन्द गरिएन भने बिरामीको मृत्यु पनि हुनसक्छ ।

मृतकका श्रीमान् भन्छन्– छोरी भए गर्भपतन गराउन चाहेकी थिइन्।मृतक अनिताका श्रीमान् नकुल घिमिरेका अनुसार आफूलाई गर्भपतन गराउन मन नभएको भए पनि अनिता भने गर्भमा छोरी भएमा गर्भपतन गराउन चाहेकी थिइन् । यसअघि नै अनिताले ३ वटी छोरी जन्माइसकेकी थिइन् । कान्छी छोरी १४ महिनाकी मात्रै भएकाले उनी छोरा नभएको अवस्थामा उक्त गर्भलाई जोगाउने पक्षमा थिइनन् ।

सम्भवतः भ्रूणको लिङ्ग पहिचान नभएको भए अनिताले गर्भपतन गराउने थिइनन् । तर, लकडाउनलगत्तै आफू गाउँ (रामेछाप) गएकाले यसबारेमा धेरै कुरा गर्न नपाएको नकुल बताउँछन् । आफू गाउँ गएका बेला अनिता अस्पताल पुगेको उनले बताए ।

अनिताको निधनपछि मंगलबार १४ महिनाकी कान्छी छोरीलाई काखमा लिँदै ज्योति अस्पताल पुगेका नकुलले अस्पतालको लापरवाहीको कारण नै आफ्नी श्रीमतीको ज्यान गएको भन्दै कडाभन्दा कडा कारवाहीको माग गरे ।

अस्पतालको लापरवाहीबारे राम्रोसँग छानबिन गर्न माग गर्दै उनले आफूहरुलाई न्याय चाहिएको नकुलले बताए ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...