Monday 6th May 2024

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने


चिरन  शर्मा- गैरआवासीय   नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दिर्घकालीन योजनासहित अघि बढ्नु पर्ने सुझाव दिए।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढी रहँदा विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए।

बैठकमा संघका उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसंग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए। उनले संघको सक्रियतामा टेलिमेडिसिन संचालन भइरहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेस्कको आवश्यकता रहेको बताए।  बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आव्हान गरे।

बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए।बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराईदिन आग्रह गरिएको जानकारी दिइन्। उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन्।

बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कोरोना भाइरसको संक्रमणका विरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भइरहेको जानकारी दिए।संघका महासचिव डा. हेमराज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिती थियो।

बैठकमा बोल्ने वक्ताहरुले कोभिड १९विरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेस्ट, स्वास्थ्यसम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए। बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमितहरुको स्वास्थ्यलाभको कामना गरेका थिए।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...