Sunday 28th December 2025

कोरोनाले विदेशमा रहेका ३७२ नेपालीको मृत्यु


केदार दाहाल- कोरोनाका कारण एक वर्षमा २१ मुलुकमा रहेका ३ सय ७२ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो एकसातामा भारतमा मात्रै २० जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो एकसातामै भारतमा २०, कुवेतमा २ र कतारमा १ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाउनुपरेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । उनले पछिल्लो समय भारतलगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको समेत बताए । नयाँदिल्लीमा मात्रै १० जना र भारतका अन्य क्षेत्रमा थप १० जना नेपालीको निधन भएको हो ।

निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २ सय ४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको संयोजक सापकाटोले जानकारी दिए ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगस्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रिल महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

संयोजक सापकोटाका अनुसार महामारीका दौरान २ सय ५० जना डाक्टर र नर्सहरू परिचालन गरिएको जानकारी दिए । नेपालबाहिर करिब ५ हजार डाक्टर र १५ हजारको हाराहारीमा नर्सहरू रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको समेत सापकोटाले बताए ।

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । महामारीका कारण व्यापार–व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायतका समस्याले मानसिक समस्या बढ्दै गएकाले नेपालीहरूमा थप समस्या आउन सक्नेसमेत सापकोटाले बताए ।

-नयाँपत्रिका दैनिकबाट

 


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...