Friday 9th October 2026

माउन्ट केटु आरोहण‍ गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौंमा भव्य स्वागत


तितोपाटी- विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका दश नेपाली आरोही काठमाडौँ आइपुगेका छन् ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका आरोही समूहलाई आज विहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको स्वागत गरिएको हो । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सम्मान गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहितको टोलीले पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गरेका हुन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...