Friday 3rd May 2024

सभापति देउवा र महामन्त्री कोइरालाको तारन्तार संवादले काँग्रेसमा तरङ्ग


 नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको तारन्तारको आन्तरिक भेटघाटपछि काँग्रेस वृत तरङ्गित बनेको छ । सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि पार्टीको भावी रणनीतिको आन्तरिक छलफलमा सभापति देउवाले महामन्त्री कोइरालासँग ‘गोप्य’ परामर्श थालेपछि काँग्रेसमा तरङ्ग आएको हो ।

संसद विघटनविरुद्धको नीतिका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मतभेद देखिँदा देउवाले महामन्त्री कोइरालासँग आन्तरिक भेटघाट बढाएको देखिन्छ । देउवा निर्वाचनको पक्षमा देखिँदा पौडेल भने संसद पुनःस्थापनामा जोड दिइरहेको पाइन्छ ।संसद विघटनविरुद्ध प्रतिनिभिसभा निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र पालिकास्तरीय विरोधसभामा देउवा पक्ष निर्वाचन र पौडेल पक्ष संसद पुनःस्थापना एजेण्डामा उभिएको देखिन्छ ।

तर, सर्वोच्च अदातलबाट संसद विघटनको निर्णय सदर वा बदर भएपनि स्वीकार गरेर जाने काँग्रेसका अधिकांश नेताको मत छ । तर वरिष्ठ नेता पौडेल भने सडकबाटै भएपनि संसद पुनःस्थापना गर्नुपर्ने अडानमा छन् ।

पौडेलको अडान कमजोर बनाउन देउवाले ‘शशांक कार्ड’ खेल्ने संकेत देखिएको छ । सोही अनुसार पार्टीभित्र निर्वाचनका पक्षमा माहोल बनाउन देउवाले महामन्त्री शशांकसँग रणनीति छलफल अगाडि बढाएको देखिन्छ ।

देउवाले विरोध प्रदर्शनको अघिल्लो दिन शशांकलाई आफ्नो निवासमा बोलाएर निर्वाचनमुखी माहोलका बनाउन कसरत गरेको बुझिएको छ । सभापति देउवाले शुक्रबार पनि महामन्त्री कोइरालालाई निवासमै बोलाएर यसका लागि सहयोग गर्न आग्रह गरेका थिए । कोइरालासहित देउवाले आफ्ना टिमका नेताहरूसँग पनि शुक्रबार लामो अनौपचारिक छलफल गरेका थिए । छलफलमा देउवाले निर्वाचनकै पक्षमा माहोल बनाउन जुट्नुपर्ने धारणा राखेको बुझिएको छ ।

देउवाले महामन्त्री कोइरालालाई संसद पुनःस्थापनाको पक्षमा नबोल्न र निर्वाचनमा जाने वातावरणकै लागि सहयोग गर्न १२ पुसमा पनि आग्रह गरेका थिए । १३ पुसमा भएको विरोध प्रदर्शनमा कोइरालाले पार्टीका लागि मत मागेका थिए । मध्यावधि निर्वाचन तोकिएकै मितिमा गराउन काँग्रेसले दबाब सिर्जना गर्न सडक आन्दोलन र मतदाता जागरुक अभियान सुरु गरेको बताएका थिए ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति समेत तोकिसकेकाले काँग्रेसले निर्वाचनलाई स्वीकारेर जानपर्ने महामन्त्री कोइरालाको मत थियो । तर पौडेलले पक्षले महामन्त्री कोइराला यसरी निर्वाचनको पक्षमा उभिन नहुने सुझाएको थियो । त्यसपछि २५ पुसमा उनले आफ्नो प्रस्तुतिमा केही बदलाव ल्याएका थिए ।

तर शुक्रबार देउवाले कोइरालासँग फेरि संवाद बढाए । स्रोतका अनुसार पुनःस्थापनाको पक्षमा नलागी आफूलाई सहयोग गर्न देउवाको आग्रहमा कोइरालाले अदालतको निर्णय मानेर जाने कुरा समस्या नभएको जवाफ दिएका थिए ।

तर संसद विघटनको निर्णयलाई साथ दिएको सन्देश जाने गरी प्रस्तुत हुन नहुने कोइरालाले भनाइ थियो । पछिल्लो समय कोइरालाले प्रस्तुति पनि सोही अनुरुपको छ ।

शुक्रबार सभापति देउवालाई भेटेर नवलपरासी हिँडेका कोइरालाले अदातलले गर्ने निर्णय स्वीकार्य हुने अभिव्यक्ति दिएका थिए ।  देउवासँगको भेटपछि कोइरालाले संसद् विघटन मुद्दा अदालतीय प्रक्रियामा रहेकाले अदालतको निर्णय काँग्रेसलाई मान्य हुने बताएका थिए ।

पुस १२ मा देउवा र कोइरालाको भेटपछि १३ गतेको विरोधसभा देउवा र कोइरालाको एउटै बोली आएको थिए । किन भने  १२ पुसमा देउवा आफैले फोन गरेर महामन्त्री कोइरालालाई आफ्नो निवासमा बोलाएका थिए ।

भेटमा सभापति देउवा, महामन्त्री कोइराला, अर्का महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थितमा करीब दुई घण्टा छलफल भएको थियो । छलफलको प्रभाव प्रदर्शनमा परेको देखिन्थ्यो ।

देउवा र कोइरालाले आन्तरिक र राष्ट्रिय मुद्दाहरुमा सभापति र महामन्त्रीको धारणा एउटै बनाएर जाँदा सबैलाई फाइदा हुने देउवा पक्षको बुझाइ छ । यस्तै देउवा र कोइरालाबीचको छलफलमा भावी सम्भावनाबारे कुराकानी भएको स्रोतले बतायो ।

संसद पुनःस्थापना हुँदा काँग्रेसको समर्थन बिना सरकार बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा कसैलाई समर्थन गरेर जानुपर्दा काँग्रेसबाट नेतृत्व गर्दै शशांक उपप्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिन्छ ।

काँग्रेसमा अधिकांश शीर्ष नेता सांसदमा पराजित भएकाले अहिलेसम्म राजकीय पद प्राप्त नगरेको शशांकको सम्भावना बलियो छ । उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा हुनु र प्रकाशमान सिंहले संसदीय दलको नेतामा देउवाविरुद्ध उम्मेदवारी दिनाले पनि शशांकका लागि सम्भावनामा सहजता देखिन्छ ।

यस्तै सरकारको नेतृत्व काँग्रेसले गर्ने अवस्थामा पनि सभापतिमा दोहोरिन चाहेका देउवाले शशांकलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने सम्भावनाबारे पनि काँग्रेसभित्र चर्चा हुने गरेको छ ।

शशांकले  महाधिवेशनमा कम्प्रमाइज गर्न तयार भए यसको पनि सम्भावना रहेको देउवा पक्षीय एक नेताको दाबी छ । शशांकलाई निर्वाचनको पक्षमा उभ्याउने अर्को कडी पार्टीले ०७४ मा भोगेको पराजय पनि भएको कतिपयको बुझाइ छ ।

गत निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोगेपछि सभापति देउवा र महामन्त्री कोइरालाको क्षमतामाथि प्रश्न उठाइएको थियो । मध्यवाधि निर्वाचन नभएर १४ औं महाधिवेशनमा जाँदा सभापतिका आकांक्षीले देउवा र कोइरालामाथि पार्टी कमजोर बनाएको एजेण्डा बोक्ने निश्चित छ । शशांकको क्षमतामाथि प्रश्न उठाउँदै शेखर कोइरालाले नै सभापतिको दाबी प्रदर्शन गरिरहेकाले निर्वाचनपछि मात्र महाधिवेशनमा जाँदा दुबैका लागि फाइदा हुने देउवा पक्षको बुझाइ छ ।

किनभने महामन्त्रीका हैसियत ०७४ मा पार्टीले भोगेको पराजयको दोस्रो भागेदार शशांक पनि थिए । त्यसैले उनी यही कार्यकालमा काँग्रेसलाई पहिलो पार्टी बनाएर १४ औं महाधिवेशन जान इच्छुक नै देखिएको पाइन्छ । वर्तमान पदाधिकारीमा शशांक मात्र संस्थापन इतर पक्षको भएकाले उनलाई पनि निर्वाचनको पक्षमा उभ्याउँदा पार्टीमा निर्णय लिने देउवालाई सहज हुनेछ ।

संसद पुनस्र्थापना हुँदाको सरकार, निर्वाचन र महाधिवेशनसम्म देउवा र शशांकबीच समझदारीको सम्भावनामाथि संवादलाई काँग्रेसवृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला र उपसभापति विमलेन्द्र निधिलाई बाहिर राखेर देउवाले शशांकसँग आन्तरिक संवाद बढाउनुको प्रभाव सार्वजनिक रुपमा प्रकट पनि भएको पाइन्छ । यता देउवा र शशांकबीचको आन्तरिक संवादले पौडेल र शेखरमा बेचैनी थपिएको छ ।

संसद विघटन विरुद्धको आन्दोलन देउवाले कमजोर बनाउन खोजेको आरोपसँग शशांकसँगको आन्तरिक संवादलाई जोडेर गरिएको छ । शनिबार विराटनगरको एक कार्यक्रमा शेखर कोइरालाले पार्टी सभापतिजीको ढुलमुले चरित्रको कारण प्रतिनिधिसभा विघटन विरूद्धको आन्दोलन सशक्त हुन नसकेको आरोप लगाएका थिए । ‘सभापतिकै कारण काँग्रेसले प्रतिगमी कदम रोक्न र त्यसविरूद्धको आन्दोलन प्रभावकारी बनाउन सकेन,’ कोइरालाले भनेका थिए ।

यस्तै पौडेलले देउवाले चुनाव चुनाव मात्र भनेर पार्टीभित्र अलमल सिजर्ना गराएको आरोप लगाएका थिए । ‘संसद् पुनःस्थापना हुँदा पनि हामीलाई फाइदै हुन्छ । हामी निर्णायक हुन्छौँ,’ उनले भने, ‘तालुमा आलु फले (शेरबहादुरदेउवा) फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ । किन चुनाव, चुनाव भनिरहनुभएको छ ?,’ पौडेलेको प्रश्न थियो ।

चुनाव आइहाल्यो भनेर काँग्रेस दौडिएर नजाने भन्दै पार्टीमा अलमल सिजर्ना नगर्न भनेका थिए ।

‘लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो । हामीले पहिले लोकतन्त्र जोगाउँछौं । पहिले यो संविधानलाई जोगाउँछौ। यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावको कुरा गर्नुपर्छ । चुनाव चुनाव भनेर पार्टीलाई अलमल राख्न पाइँदैन,’ पौडलले भनेका थिए ।

रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...