Tuesday 24th March 2026

चिसोले खोस्यो खुसी : एकै परिवारका तीन जनाको मृत्यु


तितोपाटी- एकीकृत नमुना मुसहर बस्तीका घर रंगिचंगी देखिन्छन्। घर अगाडि हुर्किएका बिरुवाले बस्ती निकै सुन्दर देखिन्छ। यस्तै वातावरणमा पनि ५५ वर्षीया रामरती सादा शोकमा छिन्।

महोत्तरीको बर्दिबास–१४ स्थित उनको घरमा सन्नाटा छाएको छ। २० दिनको अवधिमा उनले गर्भवती बुहारी, नवजात शिशु र अर्का आठ महिने नाति गुमाएकी छन्। उनको घर पुग्दा रामरती टोलाइरहेकी थिइन्। गाउँलेहरू स्तब्ध थिए। शोकले सादाको घरको चुलो बलेको थिएन।

नवजात शिशुको मृत्युको शोक भुल्न नपाउँदै उनले माइली बुहारी गुमाउनु परेको छ। बुहारीको काजकिरिया सक्न नपाउँदै चिसोले उनको नाति खोस्यो। पुस्तौनी गरिबीको दलदलमा फसेको परिवारलाई चिसोले छोडेन। लकडाउनले सादाको परिवारको आम्दानी गुम्यो। कमाइ नभएपछि यो चिसोमा उनीहरूले बच्चाहरूका लागि न्यानो कपडा किन्न सकेनन्।

रामरतीले नयाँ सिरक जोड्न पाइनन्। पर्याप्त ओड्ने ओछ्याउने कपडा नहुँदा पराल ओछ्याएर सुत्ने उनको परिवार पुसको शीतलहरसँग लडिरहेका छन्। जंगलबाट ल्याएको दाउरा बिक्री गरेर परिवारको घर खर्च चल्छ। चिसोकै कारण सादाका कान्छा छोरा हरिनारायणको आठमहिने छोरा प्रभासको गत बुधबार बिहान मृत्यु भएको छ। नाति बित्नु भन्दा १३ दिनअघि उनकी बुहारी सितो सादाको ज्यान गएको थियो।

उनी पाँच महिनाकी गर्भवती थिइन्। अत्यधिक रक्तस्राव हुँदा बुहारीलाई गत मंसिर अन्तिम साता बर्दिबास सरकारी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै सितोले छोरी जन्माइन्। तर, नवजात शिशुको ६ घण्टामै निधन भयो। यसअघि सितोले पाँच सन्तान जन्माएकी थिइन्। तर, कुनै पनि बाँचेनन्। ३५ वर्षको उमेरमा उनी ६ पटक गर्भवती भएकी थिइन्।
उनका छिमेकी आशा सादाले भनिन्, ‘सितो बिरामी थिइन्। हातमुख फूलेको थियो। तर, उनी मर्नेबाला थिइनन्। चिसो लाग्यो। न्यानो ओड्ने ओछ्याउने घरमा भएन। त्यसपछि उनको प्राण छुट्यो।’ अत्यधिक रत्तस्रावले उनको मृत्यु भएको हुन सक्ने बर्दिबास नगरपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्र चौधरीको भनाइ छ।

श्रीमतीको निधनपछि सितोका श्रीमान् जिते किरियापुत्री बसेका थिए। मंगलबार उनकी श्रीमतीको १३औं पुण्यतिथि थियो। घरमा भोजको सबै तयारी गरिएको थियो। तर, बिहानै उनका भतिजो प्रभासको मृत्यु भयो। बर्दिबास अस्पतालमा भर्ना गरिएका प्रभासको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लाँदै गर्दा बाटोमा निधन भएको थियो।
एकीकृत नमुना मुसहर बस्तीका अगुवा मञ्जय सादाका अनुसार बस्तीमा करिब ३ सय ५० जनाको बसोबास छ। कोरोनाको महामारीले हातमुख जोड्न समस्यामा रहेका गरिब मुसहर जाडो छल्न न्यानो लुगाफाँटो र सिरक किन्न सकेका छैनन्। सो बस्तीमा १८ जना सुत्केरी छन्। १० जना गर्भवती छन्।

चालू आर्थिक वर्षका लागि बर्दिबास नगरपालिकाले १ करोंडको विपद् व्यवस्थापन कोषमा एक करोड रुपैयाँ छुट्ट्याएको प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताए। ‘धेरै चिसो भयो भने सार्वजनिक ठाउँमा दाउरा ल्याएर आगो बाल्ने योजनमा छौं’, उनले भने, ‘गरिबहरूलाई चिसोबाट बचाउन न्यानो वितरण गर्नुपर्छ। यसमा हामी गम्भीर छौं। छिट्टै छलफल गरेर काम अघि बढाउछौं।’

अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...