Thursday 18th June 2026

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै


तीतोपाटी – विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो भने फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

विभाग स्रोतका अनुसार सगरमाथाको हालको ८ हजार ८ सय ४८ मिटर उचाइ केही बढेको छ । कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन । विभागले दिउँसो १: ३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो । नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ ।

त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...