Monday 23rd March 2026

पौडेल पक्षले राखेका असहमतिबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आज


वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने अनौपचारिक बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको छ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदामा असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।उक्त विषयमाथि छलफल गर्न देउवाले बैठक डाकेका हुन्।पौडेल पक्षका नेताको आइतबार भएको भर्चुअल बैठकले पनि आफूहरूले यसअघि राखेका १६ बुँदाको समाधान खोजिनुपर्ने एजेन्डालाई प्राथमिकताका साथ उठाउने निष्कर्ष निकालेका छन्।

देउवाले महाधिवेशन प्रभावित पार्न विभागलगायतमा मनोनयन जारी राखेकोमा पौडेल पक्षका नेताले असन्तुष्टि राख्दै आएका छन्। ४७ विभागमध्ये देउवाले २० बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका थिए।कांग्रेसमा अर्को विवादको विषय क्रियाशील सदस्यताको हो। देउवाले आफूखुसी क्रियाशील सदस्यता बाँडेको आरोप पौडेल पक्षको छ।

पार्टी उपसभापति विजयकुमार गच्छदारलगायत पार्टीमा मिल्न आएका नेतालाई क्रियाशील सदस्यता छलफलविना नै यतिउति भनेर तोकेर दिएकोमा पौडेल पक्ष असन्तुष्ट छ। १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यता टुंगो लागेको छैन। क्रियाशील र समायोजनका कतिपय काम नटुंग्याएर देउवाले महाधिवेशन मिति धकेल्न खोजेको आरोप पनि छ।

कोरोना महामारीको कारणले क्रियाशील वितरण प्रभावित बनेको भन्दै कांग्रेस नेतृत्वले महाधिवेशन फागुनमा गर्न नसक्ने बताउने गरेको छ। अब कांग्रेसले फागुनबाट महाधिवेशन धकेल्न देउवाकै कार्यकाल बढाउनु पर्ने हुन्छ। त्यसका लागि कांग्रेसले संविधानको व्यवस्थाअनुसार छ महिना देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न सक्छ।

देउवाको चार वर्षे नियमित कार्यकाल गत वर्ष फागुनमै सकिएको थियो। तर कांग्रेस विधानअनुसार देउवाले केन्द्रीय समितिबाट निर्णय गर्दै फागुन १९ गतेसम्म आफ्नो कार्यकाल थपेका थिए। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार आज बस्ने बैठकमा पार्टीभित्र देखिएका असहमति र संसद बैठक बोलाउन सरकारसँग माग गर्नेलगायत विषयमा छलफल हुनेछ। कांग्रेसले महाधिवेशनबारे छलफल गर्न कात्तिक २१ मा केन्द्रीय समिति बैठक राखेको छ। बैठकअघि नै शीर्ष नेताबीच सहमति खोज्न आज पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्न लागेको हो।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...