Tuesday 7th May 2024

मुख्यमन्त्रीलाई नेपाल पक्षको काँध


माधवकुमार नेपाल पक्षका सातजना सांसद अन्तिम समयमा आएर पछाडि हटेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालबीच मंगलबार बिहान भएको सहमतिअनुसार सरकारको नेतृत्व फेर्ने प्रस्ताव विफल भएको हो।

दाहाल र नेपालबीच भएको सहमतिपछि केन्द्रबाट आएको निर्देशनअनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सातजना सांसद पछि हटेका हुन्। ‘पार्टी केन्द्रबाटै पछि हट्न निर्देशन आएपछि मंगलबार बसेको संसदीय दलको बैठकमा हामी उपस्थित भएनौं,’ नेपाल पक्षका एक सांसदले भने, ‘केन्द्रमा दुई नेताबीच भएको सहमतिका विषयमा भने जानकारी छैन।’ मुख्यमन्त्रीका आकांक्षी नेकपाकै सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले मुख्यमन्त्री एवं संसदीय दलका नेता शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रमुख सचेतक गुलाबजंग शाहले मंगलबार दिउँसो एक बजेका लागि बैठक आह्वान गरेका थिए। बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका ७ सांसद उपस्थित भएनन्। ३३ सदस्यीय नेकपा संसदीय दलमा तत्कालीन एमालेका २० र माओवादी केन्द्रका १३ सांसद छन्।

एक बजे बोलाइएको संसदीय दलको बैठकमा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहका आठ, दाहाल निकट ३ र नेपाल पक्षका एक सांसद मात्र उपस्थित थिए। बैठकमा ओली समूहका यामलाल कँडेल, मीनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, कौशिलावती खत्री, राजु नेपाली, खड्कबहादुर खत्री र बद्मी क्वारी बोहोरा, दाहाल निकट ठम्मरबहादुर बिष्ट, धर्मराज रेग्मी र पुष्पा घर्ती (बिष्ट) तथा नेपाल पक्षका सुशीलकुमार थापा मात्र उपस्थित भए। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका अम्मरबहादुर थापा, देवी ओली, पद्मा खड्का, कुर्मराज शाही, चन्द्रबहादुर शाही र करबीर शाही बैठकमा उपस्थित भएनन्।

‘पहिलो कुरा संसदीय दलको बैठक बस्न कोरम (गणपूरक संख्या) पुगेन्, त्यसमाथि केन्द्रबाट नेताहरूले अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिनुभयो,’ बैठकमा सहभागी एक सांसदले भने, ‘अनौपचारिक बैठक बसेर घरतर्फ लाग्यौं, कुनै निर्णय हुन पाएन्।’

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अविश्वासको प्रस्ताव विफल भएसँगै तत्कालका लागि ठूलो दुर्घटना टरेको बताइन्। ‘कोरम पु¥याएर बैठक मात्रै बसेको भए यसले पार्टीको एकता प्रक्रियामै असर पथ्र्याे,’ उनले भनिन्, ‘केन्द्र र प्रदेशका नेताहरूको निर्देशन र सांसदहरूको सुझबुझका कारण तत्कालका लागि दुर्घटना टरेको छ।’

पार्टीका कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच भएको सहमतिअनुसार मंगलबार मुख्यमन्त्री शाहीले नेपाल पक्षका कुर्मराज शाहीलाई संसदीय दलको सचेतक नियुक्त गरेका छन्।

स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएको छ। मन्त्री केसी पनि यो कुरा स्वीकार गर्छिन्। ‘मन्त्रीहरू हेरफेर हुने कुरा स्वाभाविक हो,’ उनले भनिन्, ‘अवसर नपाएकाले लिने र पाएकाले छोड्ने कुरामा छलफल भएको छ।’ अहिले भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन्। एक राज्यमन्त्री थप्न मिल्छ।

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेमध्ये तीनजना साबिक तत्कालीन माओवादी केन्द्रका हुन्। माओवादी केन्द्रबाट उपसभामुख चुनिएकी पुष्पा घर्तीले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन्। ‘संसदीय दलको नेता र मुख्यमन्त्री परिवर्तनमा हस्ताक्षर गरे पनि उहाँलाई उपसभामुखबाट हटाउने अवस्था देखिँदैन। उहाँलाई हटाउँदाबित्तिकै उपसभामुख प्रमुख प्रतिपक्षी दललाई दिनुपर्छ,’ एक मन्त्रीले भने,  ‘त्यसैले आत्मालोचना गर्न लगाएर नहटाउने विषयमा छलफल भएको छ।’

दुवै पक्षलाई काठमाडौं डाकियो

कर्णालीमा उत्पन्न विवाद समाधानका लागि पार्टी केन्द्रले मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनलाई हटाउन हस्ताक्षर संकलनको नेतृत्व गर्ने सांसद यामलाल कँडेललाई काठमाडौं बोलाएको छ। पार्टी नेतृत्वले मुख्यमन्त्री शाही, प्रदेश कमिटीका सहइन्चार्जसमेत रहेका कँडेलसँगै आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, गुलाबजंग शाह र चन्द्रबहादुर शाहीलाई २९ गते पार्टी कार्यालयमा उपस्थित हुन भनेको छ।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कर्णालीमा हाल उत्पन्न विवाद समाधानका लागि बिहीबारका लागि केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ,’ प्रमुख सचेतकबाट हटाइएका गुलाबजंगले भने, ‘नेतृत्वसँग बसेर समस्या समाधान गर्छौं।’

‘तत्कालका लागि नेपाल समूहका एकजनालाई मन्त्री र एकलाई दलको प्रमुख सचेतक बनाउने सहमति भएको छ,’ नेपाल निकट एक सांसदले भने, ‘त्यही सहमतिअनुसार कालिकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीलाई सचेतक बनाइएपछि आज (मंगलबार) बोलाइएको बैठकमा हामी सहभागी भएनौं।’

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...