Tuesday 1st September 2026

८८ प्रतिशत भूकम्प पीडित दोस्रो किस्ता पाउनबाट वञ्चित


गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ ।

जिल्लाका पूर्ण क्षति भएका भूकम्पका पीडितमध्ये हालसम्म १२ प्रतिशतले मात्रै दोस्रो किस्ता लिएका छन् । पूर्ण क्षति भएका पाँच हजार २६९ लाभग्राहीमध्ये हालसम्म ५८५ जनाले मात्र दोस्रो किस्ताको रकम लिएका हुन् । स्थानीय तहबाट भुक्तानीका लागि सिफारिश गर्न ढिलाइ भएका कारण पीडित लामो समयसम्म पनि दोस्रो वा तेस्रो किस्ता पाउनबाट वञ्चित बनेका छन् । रकम नपाउँदा कतिपयको निर्माणाधीन आवास नै अलपत्र परेका छन् ।

जिल्लाका सातै स्थानीय तहमा पुस मसान्तमा मात्र प्राविधिक खटिएका थिए । विहादी, पैंयु र जलजला गाउँपालिकामा खटिएका निकै ढिलो गरी कार्यक्षेत्रमा पुगेका थिए । पहिलो किस्ता लगेकाहरु काम शुरु गरी अन्तिम चरणमा पुगेको भए पनि दोस्रो किस्ताबारे अन्योल हुँदा मारमा परेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार भूकम्पमा परी जिल्लाका पाँच हजार २६९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये हालससम्म चार हजार ७७४ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमवापत रु ५० हजार लगिसकेका छन् भने अझै ४९५ जना पहिलो किस्ता लिन आएका छैनन् ।

दोस्रो किस्ता लिनका लागि चार हजार ६८५ जना सिफारिश लिनै नआएको एकाइ प्रमुख तथा जिल्ला इञ्जिनीयर जगदीश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहलाई छिटो भुक्तानी सिफारिश गरेर पठाउन ताकेता गरिएको भए पनि अझै आइसकेका छैनन् ।

घर बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण गर्नमा ढिलाइ भएको पाइएको छ । हालसम्म पहिलो किस्तावापत रु २३ करोड ८७ लाख वितरण भइसकेको छ भने दोस्रो किस्तावापत रु आठ करोड ७६ लाख वितरण भइसकेको छ । कतिपयको नाम परिवर्तन भएको, अर्काको जग्गामा बसोबास गरेको र दुई घर भएकाको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनःनिर्माणमा समस्या देखिएको कार्यालयले जनाएको छ । –रासस


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...