Saturday 1st August 2026

द्रब्य पुराण – प्रचलित नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


अक्षर दुई त बर्ग भित्र परेको धन हो ।
मनका इक्षा सम्पन्न गर्ने गर्दछ जनको ।१ ।

धनको साथ सम्पन्न हुन्छ कलिको नाटक ।
लोकमा आज अनेक थरी देखिन्छ चटक ।२।

मपाईँ ताल बजाई दिँदा बेसरी नाच्दछ ।
अहम भाका गाएमा गीत कम्मर भाँच्दछ ।३।

दुनियाँ बन्यो बहिरो अन्धो पापी र पाखण्डी ।
पातकी दुष्ट बापती गुण्डा जाली र घमण्डी ।४।

पशुको जस्तो चरित्र गर्ने भोग र बिलाश ।
अध्यन खोज चिन्तन सबै मदिरा भरोसा ।५।

पिएर लट्ठ कुनामा सुत्दा सँसार बशमा ।
देखेका सबै सपना जति हराए होशमा ।६।

शिवले पनि एउटा आँखा धनमा लगाए ।
दुनियाँ पनि यसैको राग गाएर रमाए ।७।

धनले गर्दा जहान छाडी बिदेश भगायो ।
महिना दिने बालक आमा बिछोड बनायो ।८।

प्रेमिका सङ्ग सुहाग रात यसैले मनायो ।
गरीब धनी पर्गेल्न भनी खाडल खनायो ।९।

कसैको सित्तै जवानी माथि कवाज खेलायो ।
युवक जोश उर्लेको बैँस छिनमै सेलायो ।१०।

आफन्त बीच कल्मष भर्ने धन हो साधन ।
कहिले काहीँ बिर्साई दिन्छ घरका जहाँन ।११।

भाइको बीच सम्पर्क टुट्यो मायाको मरण ।
हातले दियो खुट्टाको सास्ती भो बिना कारण ।१२।

घनिष्ठ मित्र हृदय भित्र कुनामा बसेको ।
धनको हावी बढेर जाँदा मित्रता खसेको ।१३।

जसले सक्यो महत्व बुझ्न सौभाज्ञ बढायो ।
नबुझ्नेलाई अल्पत्र पारी कुनामा लडायो ।१४।

चिनेमा मात्र साधन बनी मद्दत गर्दछ ।
नचिन्ने जन अन्योल साथै अल्पत्र पर्दछ ।१५।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...