Thursday 3rd September 2026

पूर्वराजा ज्ञानेन्द्रका सरकारलाई चार प्रश्न


पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा जातीयता, वर्गीयता र क्षेत्रीयताको संकीर्ण दुर्भावना फैलिएको भन्दै सरकारप्रति चार प्रश्न गरेका छन् । बुधबार वक्तव्य जारी गरी पूर्वराजा शाहले बदलिँदो विश्व व्यवस्था बुझेर आफ्नै पद्धतिमा फर्किनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पद्धति के हो भन्नेचाहिँ स्पष्ट पारेका छैनन् ।

पूर्वराजाले भनेका छन्, ‘बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति–संस्कृति र पद्धतितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्बनको परिपाटी फेरि कायम हुन्छ ।’

पूर्वराजा ज्ञानेन्द्रले थपेका छन्, ‘केही दशकअघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नुपरेको छ ।’ पूर्वराजाले आरोप–प्रत्यारोप वा निषेध र प्रतिशोधको भावना नराख्न पनि सबैमा आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधीनताको संरक्षण र सर्वत्तोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आमहेक्काको विषय भइसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले अहिले मुलुकमा विभिन्न प्रश्न उब्जिएको भन्दै चिन्ता र चासो व्यक्त गरेका छन् । ‘हाम्रो देशभक्ति, स्वाधीन स्थिति र स्वाभिमानमाथि बारम्बार किन प्रश्न, सन्देह र विवाद, विग्रह उत्पन्न हुन्छ ?’ पूर्वराजा शाहले प्रश्न गरेका छन्, ‘जनताको सुरक्षा, स्वास्थ्य, जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धि–सम्झौता तथा हत्या हिंसा र आत्महत्याजस्ता जल्दाबल्दा दुःखद विषय सन्दर्भमा पनि किन सधैँभरि विवाद आइरहन्छ ?’

पूर्वराजाले भ्रष्टाचार, लापरबाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहन्छ भनेर पनि प्रश्न गरेका छन् । उनको थप प्रश्न छ, ‘यस्ता यावत् विषयलाई लिएर हाम्रा होनाहार युवाहरू तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक–संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ ?’ पूर्वराजाले  मुलुकमा जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो नगर्नेसमेत उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले विदेशबाट कोभिड–१९को महामारीले पारेको समस्याका कारण स्वदेश फर्केकाहरूको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्नुपर्ने र देशभित्रै इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनुपर्नेमा पनि जोड दिएका छन् ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...