कविता:-“सबै गाउँको कथा”
हाम्रो ठाउँमा एउटा संसद भन्ने गाउँ छ ।
झुट्टा खेती लाउँछन् सबको उस्तै नाउँ छ ।।
सबै मध्ये उस्तै एक हरामको छुरा छ ।
भन्न नमिले पनि भन्नै पर्ने धेरै कुरा छ ।।
गरिबका सपनाहरु को धज्जी उडाउँछ ।
आशाका डोरीहरु पटक पटक चुँडाउछ ।।
पाँच वर्ष पुरा गरि, पुन: बस्ती धाउँछ ।
खेती पुरानै झुटको,उफ्रेर फुर्ती लाउँछ ।।
सोझा सिधा सबलाई, छिनमै भुलाउँछ ।
अझै बन्द छ आँखा, कहिले खुलाउँछ ।।
श्री ३ झैं रबाफ, मोज गर्ने दाउमा छ ।
जुन थालमा खायो, त्यहीँ चुठ्न पाउँछ ।।
ढुकुटी खाली गरि, अर्को पार्टी पस्दछ ।
हसुर्दै तृप्त हुन्छ, जुन पार्टीमा बस्दछ ।।
अर्को कता छ खाने, ठाउँ भनि हेर्दछ ।
मौका बिचारी उत्तम, तुरुन्तै रंग फेर्दछ ।।
बुझि शक्तिमान जो, कुर्सीकोनै गुण गाउँछ ।
निर्लज्ज भएर लम्पसार, उही पाउ समाउछ ।।
बिर्सन्छन् मृत्यु, आचार भ्रष्ट गरि कमाउछ ।
दुःखी जनता र देश भुलेर पैसामै रमाउछ ।।
येनकेन बित्ला हाम्रो जुनी बिताईदिन्छु ।
झुट्टा हुन् है भनि सबलाई सिकाईदिन्छु ।।