Friday 21st August 2026

आँखी झ्यालबाट लकडाउन


राणा ध्वज लामा- कुवेत सरकारले जारी गरेको २४ घन्टे कर्फ्युमा आम नागरिक जस्तै म पनि होम क्वारेन्टिनमा समय ब्यतित गरिरहेको छु।कोरोनाको प्रभाव दिन प्रतिदिन बढिरहेको छ। विश्वसामु अहिले मानव जाति एकातिर भएर कोरोना महामारि बिरुद्ध लडिरहेको बेला कुवेतमा पनि संक्रमण बढिरहेको छ। त्राश र चिन्ताको बीच जीवन संघर्ष गरिरहेको छ।

म जस्तै अरु नेपालीहरुको लगानीका खोलिएको ब्याबसाय बन्द भएको महिनौ दिन भईसक्यो। स्टाफहरुरुलाई खाना बस्न कम्पनीको तर्फबाट ब्याबस्थापन भइरहेको छ। र सबैजना घरमा आइसोलेशनमा रहिरहेको अवस्था छ ।
कुवेतमा फेब्रुअरी २४ तारिखबाट कोरोना संक्रमण देखिए संगै होटेल रेस्टुरेन्ट लगायत अरु कारोबारहरु कोरोना भाइरसलाई कन्ट्रोल गर्न सरकारले क्रमस बन्द गर्यो। कोरोना प्रकोप बढे संगै कर्फ्यु जारी गरियो। दैनिक कर्फ्यु ११ घन्टा हुदै २४ घन्टा जारी गरेको अवस्था छ ।

अहिले झण्डै तीन महिना हुनलाग्यो लकडाउन संगै ब्याबसाय,कारोबार बन्द भएको। हाल आफू संगै स्टाफहरुलाई गाँस बासको ब्याबस्थापन गरिरहेको छौ। तर यदि यो विषम परिस्थिति अरु २,३ महिना लम्बिएर गयो भने निकै कठिन अवस्था सृजना हुनेछ। ब्याबसायलाई ब्याबस्थापन गर्न नसकिने होकि भन्ने चिन्ताको पहाड उतिकै चुलिदैछ।प्रवासमा साना तथा मझौला ब्याबसायीहरुको आशा हरेक दिन चर्को घाम संगै उदाउछ र महामारिको हल्ला सङ्गै रातमा बिस्तारै सुस्ताउछ। रेमिट्यान्सको हिसाब गरिबस्ने सिंहदरबारलाई दु:खका यो बतासले छोएको के थाहा होला र!

नेपाल सरकार र दूतावासले यो कठिन समयमा आफ्नो नागरिकको उद्दार गर्ने बिषयमा केन्द्रमा रहेर जनहितमा काम गरियोस भन्ने जनताले अपेक्षा गर्नु गलत होइन।म आफै पनि गैरआवासीय नेपाली संघ कुवेतको उपाध्यक्ष भएको हुनाले धेरै नेपाली दजुभाई दिदिबहिनिहरु समक्ष पुगेको छु। विपत र दु:खलाई नजिक बाट छोएको छु।अनुभुत गरेको छु। अवस्था धेरै दयनिय छ। पीडा छ।मनमा सन्त्रासको हुरि चलेको छ। यो बेला आम जनताले राज्यप्रती अभिभावकको भुमिका आवस्यकता महसुस गर्नु स्वाभाविक हो र राज्य उत्तरदायित्व बाट पन्छिन पनि मिल्दैन।

राहत वितरणको बेला अझ प्रत्यक्ष देखियो कि बिहान बेलुका खाना बस्न समस्या उकालो चढ्दो छ। बेतलबी बिदामा बसेकोहरुको संख्या त्यतिकै धेरै छ। कतिपय कम्पनि लामो लकडाउनको भार थेग्न नसकेर बन्द भएको छ। मानिसहरुको रोजगार गुमेको छ । र अवस्था लम्बिदै जादा रोग र भोगको पिडामा डिप्रेसनले गाँज्न सक्दैन भन्न सकिन्न। त्यसैले समस्याको किनारामा उभिएका आम जनता स्वदेश फिर्तीको बाटो कुरेर दूतावास र सरकारको ढोका ढकढकाउनु र आशा गर्नु रहर होइन बाध्यता हो।यस समयको मागलाई सरकारले सामान्य हो भनेर गलत बुझ्नु हुन्न। यो आम नेपाली आमाहरुको समस्या हो। परदेशी देखि घर आगनी र चुलो सम्म हुँदै राज्यको अस्मिता सङ्ग पनि जोडिएकोले सरकारले मौन बसेर जिम्मेवार बाट पन्छिनु मिल्दैन। तर यो बेला आत्तिएर निराशा पनि त हुनुहुन्न। सबैले सावधानी अपनाउनु पर्छ।किनिकी कोरोना भाइरस विश्वसामु एक्काइसौं सताब्दिको विज्ञानलाई नै चुनौती बनेर उभिएको छ । यो बेला हामी सबै मिलेर आपसी सहयोग,सद्भाव,सचेतना र सहकार्यले नै यो महामारीलाई निस्तेज बनाउन सम्भव छ। हरेक दिन हरेक मानिसहरुको मनमा सुनौलो दिनको आशा मनमा अंकुरिरहेको छ।रोग र भोकले जनता परदेशमा छट्पटीएको सरकारले देख्छ कि देख्दैन।तर देख्नु पर्छ। सुन्नु पर्छ।हरेक दिन यो आँखिझ्याल बाट देखिरहने यो सपना होइन सरकार।

नोटः लेखक राणाध्वज लामा गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको उपाध्यक्ष हुनुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...