Tuesday 8th September 2026

गोरखामा बाढी पहिरो अाउने शंकामा सतर्कता अपनाउन अाग्रह


तितोपाटी – बाढी र पहिरोको जोखिममा रहेका गोरखाका विभिन्न बस्तीका बासिन्दालाई उच्च सतर्कतामा रहन जिल्ला बिपद् व्यवस्थापन समिति गोरखाले आग्रह गरेको छ।

गोरखामा दुईदिन भारी बर्षा हुन सक्ने र त्यसबाट बाढी पहिरो आउन सक्ने भन्दै समितिले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वअनुमान शाखालाई उद्धृत गर्दै समितिले आइतबार र सोमबार दुई दिन हाइअलर्ट अपनाउन जिल्लाबासीलाई आव्हान गरेको जनाएको छ । ‘लामो समयदेखि बर्षात भइरहेको छ । दिन अझैपनि यतिधेरै धुम्म छ, ठूलो बाढी पहिरो आउन सक्ने सम्भावना देखिन्छ’, विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘यसअघिदेखि पहिरोको जोखिममा रहेका बस्ती, नदी किनारका बस्ती, खोला, खोल्सी नजिक घर, बस्ती भएकाहरुले पूर्व सावधानी अपनाउनु पर्ने भएको छ । यसमा सचेत बर्गले सबैलाई साबधान गर्नु वुद्धिमानी हुन्छ ।’

बिभागले उच्च सावधानी अपनाउन निर्देशन गरे अनुसार समितिले पनि बिभिन्न माध्यम अपनाएर सूचना सम्प्रेषण गरेको प्रजिअ भट्टराईले जनाए । उनले सतर्क रहनुलाई आतंकित हुनुको अर्थमा बुझ्न नहुने पनि दोहोर्‍याए । बाढी पूर्वअनुमान शाखाबाट प्राप्त सूचना अनुसार आइतबार रातिदेखि मंगलबारसम्म उच्च सतर्कता अपनाउनु पर्ने उल्लेख छ । ‘आज९सोमबार० गोरखा, धादिङ, लम्जुङ र कास्कीको केही स्थानमा तथा भोलि(मंगलबार) गोरखा, धादिङ, लम्जुङ र कास्कीको केही स्थानमा भारी बर्षाको सम्भावना छ’ हाइलाइट गरिएको बुलेटिनमा भनिएको छ, ‘साना ठूला नदीहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहौं ।’

बाढी पहिरोबाट बच्नेबारे सकेसम्म धेरै सूचना फैलाउन समितिले आग्रह गरेको छ । प्रजिअ भट्टराईले विपद्का बेला उद्धार तथा राहतका लागि आफूहरु पनि तयारी अबस्थामा रहेको बताए । ‘मौसम पूर्वानुमानको रिपोर्टले दुई/तीन दिन जोखिम नै छ भनेको छ, हामीलाई सूचना आइरहेको छ’ भट्टराईले भने ‘हामी हाइअलर्टमा छौँ । कहाँ कस्तो जोखिम बढेको छ, जोखिम हुन सक्ने ठाउँहरु कहाँ कहाँ हुन् त्यसको सूचना संकलनलाई प्राथमिकता दिएका छौँ । आपत परिहाले त्यसलाई ब्यवस्थापन, राहात र उद्धारलाई कसरी गर्ने हामी सतर्क छौँ ।’

सकेसम्म मान्छे विपदमा नपरोस् भन्ने उद्देश्यले सूचना प्रवाह गरिरहेको प्रजिअ भट्टराईको भनाई छ । ‘हामीले मिडियाहरुमा पनि र गाउँपालिका कार्यालयहरुमा पनि बुलेटिन फर्वाड गरेका छौं, फोन, एसएमएस गरेका छौं’ उनले भने, ‘यसलाई आधार मानेर सबैलाई सतर्क गराउनु सबैको दायित्व हो ।’

गोरखाको लाप्राक, केरौँजा, बारपाक, खानीगाउँ, पाखुरेका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका गाउँहरु हुन् । त्यस्तै बुढी गण्डकी किनारका तातोपानी, सोती, दरौंदी किनारका बालुवा बजार लगायतका बस्तीहरु बाढीको उच्च जोखिमका बस्ती हुन्।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...