Thursday 14th November 2024

नुवाकोटमा पहिरोका कारण १७ परिवार विस्थापित


तितोपाटी – अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकोटको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नम्बर ७ का १७ परिवार विस्थापित भएका छन् ।

पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । विक्रम सम्वत् २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङवासीलाई यस वर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले वस्तीमा क्षति पुर्याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिइन् ।

उनका अनुसार शुक्रबार रातिदेखि बग्न शुरू गरेको पहिरोले खेत बगाएर आईतबार राति बस्तीसम्म पुगेकाले उनीहरूलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो । पहिरोले घरमा क्षति पु¥याउन थालेपछि गाउँपालिका र वडा कार्यालयको पहलमा पहिरो पीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमायाँ तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका परिवार विद्यालयमा आश्रित छन् ।

पहिरोले घरमा क्षति पु¥याएको निमा लामा तामाङ, मोई घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामायाँ घले, छन्त लामा तामाङ र धनमायाँ घलेको परिवारलाई पनि विद्यालयमा सारिएको छ ।

पीडितलाई गाउँपालिकाबाट खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मच्छिन्द्रनरसिंह प्याकुरेलले बताए । पहिरोको उच्च जोखिममा रहेका किम्ताङको बस्तीमा वर्षात् शुरू हुनुपूर्व नै पहिरो बग्न थालेपछि बाँकी बस्तीका अन्य परिवार पनि त्रस्त छन् ।

लामो समयदेखि बग्दै गएको पहिरोका कारण साविक किम्ताङ गाविसका ४ सय ३० भन्दा बढी घरपरिवार जोखिममा रहेको प्रतिवेदन यसअघि जिल्ला प्रशासन कार्यालयले तयार गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

हाम्रो आकाश मण्डलमा अनेकौ ग्रह उपग्रह, छुद्र ग्रहहरु घुमिरहेका हुन्छन । पूर्बीय दर्शन ज्यातिस शास्त्रका अनुसार ती ९ ग्रह र…

युरेनस ग्रह र यसका पाँच ठूला चन्द्रमाहरू (उपग्रहहरू) सायद उजाड र निर्जीव संसार होइनन् जुन वैज्ञानिकहरूले लामो समयदेखि सोचिरहेका थिए।…

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी…

प्रतिकृयाहरू
...