Tuesday 7th October 2025

अफगानिस्तानमा उग्रवादी अाक्रमण, १९ जनाको मृत्यु


तितोपाटी –  अफगानिस्तानको जलालाबादमा आइतवार सिख र हिन्दूहरूमाथि आत्मघाती आक्रमण गरिएको छ । आक्रमणमा १९ जनाको मृत्यु भयो भने २० जना घाइते भए ।

यी हिन्दू तथा सिखहरू राष्ट्रपति अशरफ गनीलाई भेट्न गइरहेका थिए ।

नंगरहार प्रान्तका प्रवक्ता इनामुल्ला मियांखलीले आक्रमणमा ११ सिख, ६ हिन्दू तथा दुई अन्य अल्पसंख्यक धर्मावलम्बी रहेको बताएका छन् ।

अस्पतालमा भर्ना गरिएका नरेन्द्र सिंहले बताएअनुसार उनीहरूलाई नै लक्षित गरिएर आक्रमण भएको थियो । उनका पिता अवतार सिंह खालसाको आक्रमणमा मृत्यु भयो । खालसा अक्टोबरमा हुन लागेको निर्वाचन लड्न चाहिरहेका थिए ।

प्रान्तीय गभर्नर अतातुल्लाह खोगयनीले बताएअनुसार, चर्को विस्फोटका कारण नजिकैका अनेकौं भवन र पसलमा क्षति पुगेको छ । विस्फोटभन्दा केही घन्टाअघि गनीले शहरमा एक अस्पताल उद्घाटन गरेका थिए ।

अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन तर तालिबान र आईएससँग आबद्ध गठन नंगरहारमा सक्रिय छन् । इस्लामिक कट्टरपन्थीहरूले लामो समयदेखि अल्पसंख्यकहरूलाई निशाना बनाउँदै आएका छन् ।

सन् १९७० को दशकमा अफगानिस्तानमा हिन्दू र सिख समुदायका मानिसको संख्या ८० हजारभन्दा बढी थियो तर त्यो घटेर अहिले जम्मा एक हजारमा समेटिएको छ ।

सन् १९९० को दशकमा तालिबानको जगजगी हुँदा अल्पसंख्यकलाई पहिचानका लागि पहेंलो ब्यान्ड लगाउन लगाएका थिए । केही वर्षयता अफगानिस्तानमा भएका हिन्दू तथा सिखहरूले भारतमा शरण मागेका छन् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...