Sunday 1st November 2026

धादिङको खनियाबासमा पहिरो, ७ घर बगे, ५ जनाको मृत्यु, ५ घाइते


तितोपाटी – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाँवासमा पहिरोले घर बगाउँदा बुधबार राति ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् ।

खनियाबाँस गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी बुहारीसहित दुई नातिनीकाे मृत्यु भएको छ ।

गोलेका १० वर्षीय नाति विकास गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको सनाखत भएको छ ।

घाइते विकासकाे स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।खनियाँवास–५ मार्पाकमा पहिरोले पाँच घर बगाएको छ ।

खनियाँबास–४ च्यरीबोटमा गएको पहिरोले घर पुरिदा ६१ वर्षीय शमसेर घले र उनकी श्रीमती कोप्ची घलेको मत्यु भएको जिल्ला प्रहरी प्रमुख डम्वरबहादुर विकले बताए ।
पहिराेले पुरिएका घले दम्पतीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको टोलीले निकालेको प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिएका छन् । सोही गाँउमा पहिरोले घर बगाउँदा दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना र २ वर्षका रवि घाइते भएका छन् ।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ । बर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैनन् । इलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली चिउरी खर्क पुगिसकेको छ भने साइश्वारामा अझै पुग्न सकेका छैनन् । घटनाको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्धार भैसकेको र जिल्ला प्रशाासनका शाखा अधिकृत राममणि मिश्रको नेतृत्वमा जिल्ला अस्पतालका एक चिकित्सक र प्रहरी निरीक्षक जनक पुरीसहितको टोली पठाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए । उक्त टोलीमार्फत मृतकका परिवारलाई एक लाख र घर भत्केकालाई १० हजार दरले सहयोग पठाएको प्रजिअ पाण्डेयले बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...