तितोपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छाडेपछि समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका थिए । बिहिवार साँझ बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा समाजवादी पार्टीका अध्यक्षद्वय भट्टराई र यादवको साथमा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए ।
प्रतिपक्षी मोर्चालाई बलियो बनाउनुको साथै राष्ट्रियसभाको चुनावलगायतमा सहकार्य गर्न आग्रह गर्नका लागि उनीहरु देउवा निवास पुगेका थिए ।समाजवादी पार्टीका नेता र काँग्रेस सभापति देउवाबीच भेटघाट भएको कुरा देउवाका स्वीकय सचिव भानु देउवाले पुष्टि गरेका छन् ।उनका अनुसार दुई दलको बीचमा देशको समसामयिक राजनीति साथै माघमा हुन लागेको राष्ट्रियसभा चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको बताए ।नेकपा र उसको नेतृत्वको सरकारलाई संसदबाट गलाउने योजना रहेको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुनाएका थिए ।बैठकमा सहभागि एक नेताका अनुसार उनले प्रदेश २ को सरकारमा पनि सहकार्य गर्ने प्रस्ताव काँग्रेस पार्टीका नेतासँग गरेका थिए । छलफलमा सभापति देउवाका साथै काँग्रेसका उपसभापति विमलेन्द्र निधि पनि थिए ।
मन्त्रीपरिषद्बाट राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्ट देउवालाई भेट्न गएको बेला ‘देशमा बढ्दै गएको कुशासन, भ्रष्टाचार, महङ्गो, विदेश नीति, कालापानीलगायतका विषयमा संसद घेर्ने र सरकारलाई झुकाउने योजना’ डा.बाबुराम भट्टराईले सुनाएका थिए ।अध्यक्ष यादवले राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को चारवटै सिटमा दुवै दल मिलेर उम्मेदवारी दिने कुरा राखेपछि उपसभापति निधिले ‘त्यो कसरी सम्भव हुन्छ ? उम्मेदवारी दिएर मात्र हुन्छ कि जित्नु पनि पर्यो नि’ भनी आफ्नो मत राखेका थिए ।
त्यसको जवाफमा अध्यक्ष यादवले ‘भोट ल्याउने जिम्मेवारी मेरो भयो, त्यसको चिन्ता नगर्नुस्’ भनेका थिए । सोही अवसरमा यादवले ‘प्रदेश २ मा राजपा र नेकपामा रहेका यादव मतदाताहरूले आफ्नो पार्टीलाई नै मत दिने आफू विश्वस्त रहेको र यसका लागि आफूले भरपूर प्रयास गर्ने’ आश्वासन पनि दिएका थिए ।प्रदेश २ मा काँग्रेसको १९ जना प्रदेश सांसद र ८१ जना स्थानीय तहमा प्रमुख र उपप्रमुख रहेका छन् । त्यस्तै, समाजवादी पार्टीको ३० जना प्रदेश सांसद र ५२ जना स्थानीय तहमा प्रमुख र उपप्रमुख रहेका छन् ।दुवै दल मिलाएर ४९ प्रदेश सांसद र स्थानीय तहमा १३३ जना प्रमुख र उपप्रमुख रहेका छन् । जो राष्ट्रियसभाका मतदाता हुन् ।
यता नेकपाको ३२ जना प्रदेश सांसद र ८३ जना स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा राजपा नेपालको २५ जना प्रदेश सांसद र ४४ जना स्थानीय तहका प्रमुख र उप–प्रमुख रहेका छन् ।दुवै दल मिलाएर ५७ जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उप–प्रमुख १२७ जना रहेका छन् ।समाजवादी र काँग्रेस गठबन्धनको ४९ प्रदेश सांसद र १३३ स्थानीय तहका रहेका छन् । नेकपा र राजपा गठबन्धनको ५७ प्रदेश सांसद र स्थानीय तहका १२७ रहेका छन् ।
नेपाली जनता दलका दुईजना स्थानीय तहमा रहेका छन् । सम्भवत यो पार्टीले नेकपा र राजपा गठबन्धनलाई सहयोग गर्ने बुझिएको छ ।प्रदेश २ मा राजपा र नेकपाले मिलेर सरकार बनाउने दाउपेच चलिरहेको बेला समाजवादी पार्टी र काँग्रेसले मिलेर पनि सरकार गठन गर्न सकिने कुरा उपेन्द्र यादवले राखेको स्रोतले दावी गरेको छ ।
प्रदेश २ को गणितीय आधार बताउँदै अध्यक्ष उपेन्द्र यादवले ‘समाजवादी र काँग्रेसको ४९ जना सांसद रहेको, सरकार बनाउन ५४ जना चाहिने भएकोले कम रहेको ५ जनाको व्यवस्था गर्न सकिने’ कुरा काँग्रेसका नेताहरुलाई सुनाएको स्रोतले दावी गरेको छ । त्यसको उपायका रुपमा उनले राजपा नेपाललाई विभाजन गर्न सकिने योजना पनि सुनाएका थिए । सोअनुसार राजपा नेपाललाई विभाजन गरेर समाजवादी पार्टीमा मिलाउने र प्रदेश सांसद सङ्ख्या पुर्याउने योजना उनले सुनाएका थिए ।
समाजवादी पार्टीसँग एकता गर्ने विषयमा राजपा नेपालमा विवाद रहेको छ । केही नेताले एकीकरण गर्नैपर्ने पक्षमा देखिएका छन् भने केही अहिले गर्न नहुने पक्षमा देखिएका छन् । राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी एकीकरणको पक्षमा देखिएका छन् भने राजकिशोर यादव, अनिलकुमार झाले पार्टीको महाधिवेशनपछि मात्र एकीकरण गर्ने भन्दै आएका छन् । त्यसमा महन्थ ठाकुर मौन बसेका छन् ।यद्यपि उनका पक्षका नेताहरु वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु समाजवादी पार्टीसँग एकता गर्न हतार नगर्न सुझाव दिइरहेका छन् । पहिला आफ्नो पार्टी बनाउने अनि मात्र राजपा नेपालसँग एकीकरण गर्ने पार्टीमा कुरा उठाइरहेका छन् ।राजपा नेपालभित्रको यो विवादको फाइदा समाजवादी पार्टीले लिन सक्ने विश्लेषण एकाथरिले गर्दै आएका छन् । तर, समाजवादी पार्टीले सरकार छाडेपछि राजेन्द्र महतो एकीकरणको विषयबाट केही पछाडी हटेका छन् ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यस्तो उपायहरु सुनाएपछि काँग्रेसका नेताहरुले चासो दिएर सुनेर बसेका थिए । उनीहरुले ‘सल्लाह गर्दै जाउ के–के गर्न सकिन्छ गर्दै जाउला’ भनी जवाफ दिएको देउवा निकट एक नेताले बताए ।यसअघि समाजवादी पार्टीले काँग्रेससँग राष्ट्रियसभा चुनावमा तालमेल नगर्ने भन्दै नेकपातिर नजिकिएको थियो । समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डसँग एकचरण कुराकानी पनि गरेका थिए ।
समाजवादी पार्टीका अध्यक्ष यादवले काँग्रेससँग राष्ट्रियसभा चुनावमा सहकार्य गर्न नसकिने भनेको कुरा राजपा नेपालका नेताहरुले खुलासा गरेका छन् ।उपेन्द्र यादव काँग्रेस र राजपा गठबन्धनलाई छाडेर नेकपातिर नजिकिएपछि राजपा नेपालले हतार हतारमा नेकपासँग दुई बुँदे सम्झौता गरी गठबन्धन बनाएको हो ।
यसअघि राष्ट्रियसभाको चुनावमा काँग्रेस, समाजवादी र राजपा नेपालको गठबन्धन थियो । यसपालि पनि यही गठबन्धनलाई कायम राख्न राजपा नेपालका नेताहरुले आग्रह गरेका थिए तर उपेन्द्रले नेकपासँग चुनावी गठबन्धन बनाउन हिँडेका थिए ।त्यसपछि राजपा र काँग्रेसले मात्र गठबन्धन बनाएर कुनै पनि सीट जित्न नसकिने बुझेर नै राजपा नेपालका नेताहरु नेकपासँग दुई बुँदे सम्झौता गरी समाजवादी पार्टीलाई उछिन्न हतारिएका छन् ।र, यो कुराको खुलासा राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आफैं गरेका छन् र उनले समाजवादी पार्टीबाट धोका भएको कुरा विभिन्न सञ्चारमाध्यममा भन्दै पनि आएका छन् ।
-रातोपाटीबाट