Saturday 12th September 2026

बोस्टनमा घन्कियो नेपथ्य


तितोपाटी – लोकरक ब्यान्ड नेपथ्यले अमेरिका टुरको पछिल्लो प्रस्तुति बोस्टनमा दिएको छ । रोयाल बोस्टन हलमा ब्यान्डका मुख्य गायक अमृत गुरुङले दर्शकश्रोतालाई नेपाली भाषाको महिमागान गर्दै सांगीतिक खुराक बाँडे ।

ब्यान्डले ‘तिमी पनि नेपाली,’ ‘आँगनैभरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले,’ ‘रेसम’ र ‘तालको पानी’ सुनायो । ‘कोशीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकश्रोताले मना पराएको विज्ञप्तिमा उल्लेख छ ।

सांगीतिक प्रस्तुतिअघि अमृतले केही दिन पहिले एमआईटी (म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजी) परिसरमा नेपाली केटाकेटीहरूका निम्ति आफ्नो भाषाको कक्षा चलाइरहेको देख्दाको अनुभव साझा गरेका थिए । ‘यति टाढा मातृभाषा सिक्न चाहने यतिबिघ्न नेपाली फूलहरू फक्रिरहेको देख्दा असाध्यै खुसी लाग्यो,’ अमृतले भनेका थिए, ‘कुनै दिन नेपाल घुम्न गएका बेला तपाईंहरूका हजुरबुवा–हजुरआमा वा आफन्तसँग कुराकानी गर्न सकेका बेला यसको महत्त्व बुझ्नुहुनेछ ।’

आइतबारको साप्ताहिक बिदाका बेला नेपाली सिकिरहेका बालबालिकाले आफ्ना मन हरेको उल्लेख गर्दै उनले थपे, ‘यस्तो राम्रो उद्देश्यका निम्ति तपाईंहरूले आफ्नो सप्ताहान्तको बहुमूल्य समय लगाएर केटाकेटीलाई त्यहाँ पुर्‍याइरहनुभएकामा सबैलाई धन्यवाद दिन चाहन्छु । ती केटाकेटीहरूसँग तपाईंहरूले घरमा नेपाली नै बोलिदिनुस् ।’

कार्यक्रम आयोजकमध्ये तमु समाजकी सम्झना गुरुङले नेपाली भाषा कक्षालाई अमृतको सराहनाप्रति आभार जनाउँदै सुनाइन्, ‘नेपाली कक्षा चलाउने हाम्रो प्रयासलाई अमृत दाइले तारिफ गरिदिनुभएकामा असाध्यै प्रोत्साहित भएका छौं । उहाँले गर्नुभएको आहानलाई सबैले मनमा राखिदिनुहुनेछ भन्ने विश्वास छ ।’

बोस्टन प्रस्तुतिसँगै नेपथ्यको अमेरिका टुरको समापन भएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका–इजरायलको इरानमाथिको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वको शक्ति–सन्तुलन झन् जटिल बन्दै गएको छ। पछिल्लो घटनाक्रममा इरानले होर्मुज जलडमरूमध्यमार्फत दबाब कायम राखेको…

कुवेत स्थित मेचिकाली समुह कुवेतबाट नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग पठाएको छ। Al Muzaini Exchange मार्फत…

कुवेतमा रहेका नेपालीहरूको संस्था बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पहलमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पठाइएको…

प्रतिकृयाहरू
...