Thursday 19th March 2026

क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गरेको आरोपमा अन्जनसहित ६ जना पक्राउ


नेपालमा बसेर अवैध रुपमा अन्तर्राष्ट्रिय क्रिकेट तथा फुटबल प्रतियोगितामा अनलाइन बेटिङ (सट्टेबाजी) गरेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको मुख्य आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले आजै एक पत्रकार सम्मेलन गरी पक्राउ परेका सबैलाई सार्वजनिक गरेका छन्। उनीहरु काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेका ६ जना बाहेक अन्यको संलग्नता बारे पनि अनुशन्धान भइरहेको छ। केही महिना अघि प्रहरीको इन्‍काउन्टरमा रुपन्देहीमा मारिएका गुण्डा मनोज पुनद्वारा काठमाडौंको गौरीघाटमा गोली प्रहार गर्न लगाइएका अर्का गुण्डा नाइके दावा लामाको पनि सट्टेबाजीमा संलग्नता रहेको देखिएको छ। उनी भने हाल फरार रहेको र प्रहरीले खोजि गरिरहेको एसएसपी पोखरेलले बताए।

एसएसपी पोखरेलका अनुसार सट्टा खेल्ने र खेलाउने मुख्य आरोपीगौरव तिवारी हुन्। तिवारीले सुरुमा भारतीय नागरिक नागराज भन्ने अमृत अग्रवालसँग मिलेर सट्टा खेलाउन सुरु गरेका थिए। तिवारीकोनागराजसँग लेनदेन विवाद भएपछि उनले आफैंले सट्टा खेलाउन सुरु गरेका हुन्।

सट्टा खेल्न/खेलाउनका लागि तिवारीलेलण्डनको msa.lcexch.com मा ‘गाैरव ३००’ नामको मास्टर एकाउन्ट खोली त्यसबाट २४ वटा साहयक एकाउन्ट बनाई सट्टा खेलाउँदै अाएका थिए। उनको एकाउन्टको कुल लेनदेन ७ करोड ४७ लाख २ हजार रहेको देखिएको छ।

उनको सहयोगीका रुपमा २०७२ सालदेखि भुपेन्द्र शम्सेर कुँवरले पनि साेही साइटमा ‘भुपेन ००००’ नाममा एकाउन्ट खोली सट्टा खेलाउन थालेका थिए। यद्यपी प्रहरीले गौरवले कहिले एकाउन्ट खोलेका थिए भन्ने जानकारी दिएको छैन। हालै भारतमा भएको आईपीएलमा भुपेन्द्रको एकाउन्टबाट भने ३ करोड २२ लाख ९७ हजार लेनदेन भएको देखिएको छ।

यस्तै अन्जन केसीले भने भुपेन्द्रसँग मिलेर २ वर्षदेखि सट्टा खेलाउन थालेको प्रहरीले दाबी गरेको छ। अन्जनले भने आईपीएलका साथसाथै यूरोपियन च्याम्पियन्स लिग फुटबलमा पनि सट्टा खेलाउने गर्थे। उनको एकाउन्टबाट २ करोड ७७ लाख ५ हजार रुपैयाँ लेनदेन भएको देखिएको छ।

पक्राउ परेका अर्का आरोपी विजय श्रेष्ठले पनि विगत १ वर्षदेखि भुपेन्द्र मार्फत नै सट्टा खेलाउने गरेका थिए। उनको एकाउन्टबाट १ करोड ७० लाखको लेनदेन भएको देखिएको छ। यस्तै नरेन्द्र सुवालले भने विजयको सहयोगमा भुपेन्द्र मार्फत नै १ वर्ष यता सट्टा खेलाउन थालेका थिए। उनको एकाउन्टबाट ७७ लाखको लेनदेन भएको छ।

पक्राउ गरिएका मध्ये दिनेश बोगटी भने गौरव तिवारीको सहयोगीको भुमिकामा थिए। उनले विभिन्न एजेन्टले जम्मा गरेको रकम तिवारी कहाँ र तिवारीले दिएको रकम एजेन्ट कहाँ पुर्‍याउने काम गर्थे।

प्रहरीको दाबी अनुसार सबै रकमको कारोबार नगदमा नै हुने गरेको थियो।

सट्टेबाजीको आरोपमा पक्राउ परेका मध्ये अन्जन यसअघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा २०७२ साल असोज २९ मा पक्राउ परी विशेष अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन्।सो मुद्दा हालसम्म पनि विशेष अदालतमा विचाराधीन अवस्थामा नै रहेको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...