Saturday 18th April 2026

इन्डोनेसियामा संसद भवन नै जलाउने गरि हिंसात्मक प्रदर्शन


तितोपाटी – इन्डोनेसियाको पश्चिम पपुवाको पूर्वी प्रान्तमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकै क्रममा प्रदर्शनकारीले एउटा स्थानीय संसद् भवन नै जलाइदिएका छन्। राज्यको राजधानी मानोक्वारीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीले दर्जनौं सवारीसाधन, व्यापारिक केन्द्र र रुखमा पनि आगो लगाएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पश्चिम पपुवाको पूर्वी प्रान्तस्थित स्थानीय संसद्मा प्रदर्शनकारीले लगाएको आगोलाई नियन्त्रणमा लिइएको इन्डोनेसियाली अधिकारीहरुले जनाएका छन्। इन्डोनेसियाको एक ठाउँमा पपुवन विद्यार्थीलाई लिएर रंगभेदी विभेद भएको भन्दै सोमबारबाट सो क्षेत्रमा हिंसात्मक प्रदर्शन भएको थियो।

पपुवा र पश्चिम पपुवा मिलेर बनेको पपुवा सन् १९६० को दशकदेखि नै इन्डोनेसियाको विवादित क्षेत्र हो। पूर्वी डच औपनिवेशिक उक्त क्षेत्रले सन् १९६१ मा स्वतन्त्र भएको घोषणा गरे पनि उसको पश्चिमी ठूलो छिमेकी इन्डोनेसियाले तत्काल उसमाथि नियन्त्रण जमाएको थियो।

पपुवाको स्वतन्त्रताका बारे सन् १९६९ मा जनमत संग्रह आयोजना गरिएको थियो। सो जनमत संग्रहलाई संयुक्त राष्ट्रसंघले पर्यवेक्षण गरेको भए पनि लगभग एक हजार मानिसलाई मात्रै सहभागिता गराइएको भन्ने भनाई अझै पनि अधिकांशमा मानिसको रहेको छ। त्यसपछि यस क्षेत्रमा हालसम्म विखण्डनवादी आन्दोलन चलि नै रहेको छ र इन्डोनेसियाली अधिकारीहरुले सो क्षेत्रमा मानवअधिकारको उल्लंघन गरेको आरोप बेलावखत खेप्ने गरेका छन्।

इन्डोनेसियाको दोस्रो ठूलो सहर पूर्वी जाभास्थित सुराबायामा एकसाता अघि पपुवन विद्यार्थीमाथि भएको घटनालाई लिएर पछिल्लो आन्दोलन भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा पपुवन विद्यार्थी बसिरहेको भवनबाहिर इन्डोनेसियाको झन्डा खराब बनाएको बारे रिपोर्ट सार्वजनिक भएपछि ४३ जना विद्यार्थीलाई प्रहरी हिरासतमा लिइएको थियो।

विद्यार्थीको जमातलाई सो भवनबाहिर भेला भएको भीडले आक्रमण गर्ने खतरा बढेपछि उनीहरुलाई हिरासतमा लिइएको स्थानीय प्रहरीका प्रवक्ताले अस्ट्रेलियाली समाचार संस्था एबिसीसँग बताएका छन्। उता, अधिकारकर्मीहरुले भने विद्यार्थीलाई पक्राउ गर्नका लागि प्रहरीले छापा मारेको र सो क्रममा अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन्।

‘विद्यार्थी पक्राउ गर्दा स्थानीय बासिन्दा र सरकारी अधिकारहरुले अति रंगभेदी शब्द प्रयोग गरेका’ कारण स्थानीयहरु आक्रोशित भएको पपुवाका प्रान्तीय गभर्नर लुकास एनेम्बेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। पूर्वी जाभाका गभर्नरले एक टेलिभिजन वक्तव्यमार्फत ती विद्यार्थीमाथि पर्न गएको चोटलाई लिएर माफी मागेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

उता, राष्ट्रिय प्रहरी प्रवक्ता जनरल डेडी प्रासेत्योले नियन्त्रणमा लिइएका ती विद्यार्थीलाई केही प्रश्न सोधेपछि रिहा गरिएको बताएका छन्। मानोक्वारीमा सोमबार भएको प्रदर्शनमा हजारौंको सहभागिता रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।


सम्बन्धित शीर्षकहरु

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

प्रतिकृयाहरू
...