Thursday 18th June 2026

युकेमा ठगीको अारोपमा नेपाली ट्राभल एजेन्टलार्इ जेल सजाय


तितोपाटी – ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।

ह्यारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति (होलिडे मेकर) बाट ७० हजार पाउन्ड (झण्डै एक करोड रुपैयाँ) घोटाला गरेको अभियोगमा २५ महिनाको जेल सजाय सुनाएको हो । अदालतले उनलाई दस वर्षसम्म कुनै पनि कम्पनीको निर्देशक बन्न अयोग्य हुने फैसला पनि गरेको छ । गुरुङले बयान दिँदा आफू दोषी भएको स्वीकारेका थिए ।

ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस् भन्ने निकायको छानबिनपछि प्राप्त प्रमाणका आधारमा ह्यारो क्राउन कोर्टले गुरुङलाई जेल सजाय सुनाएको हो । स्थानीय हयारो टाइम्स समाचारपत्रका अनुसार गुरुङले छुट्टी मनाउन जाने व्यक्तिहरुलाई अन्तिम समयमा वायुसेवा कम्पनीले उडान रद्द गरेको जानकारी दिएर नयाँ बुकिङ गर्न बाध्य बनाउने गरेको ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस् निकायले पत्ता लगाएको थियो । उनले अरु कैयौं मानिसहरुसँग त्यसरी नै धोखाधडी गरेको हुनसक्ने पनि सो निकायले बताएको छ । गुरुङको कम्पनीसँग एटोल लाइसेन्स पनि थिएन ।

ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डसले गुरुङको कम्पनीविरुद्ध झण्डै ८० वटा उजुरी पाएको थियो । ह्यारो काउन्सिल लिडर काउन्सिलर ग्राहम हेन्सनले एक जना ठगलाई न्यायिक कठघरामा ल्याइएकामा खुसी व्यक्त गरेका छन् । काउन्सिलर हेन्सनले गुरुङजस्ता अपराधीले धेरैको आशा र सपनामाथि खेलवाड गरे पनि काउन्सिलले तिनको पहिचान गरी सजाय दिलाउन पाउँदा गर्व लागेको बताए ।

ब्रेन्ट एण्ड हयारो ट्रेडिङ स्टान्डर्डसका सिनियर रेगुलेटरी सर्भिस म्यानेजर साइमन लेगले सबै होलिडे मेकर्सहरुलाई टिकेट बुकिङ पूर्व ट्राभल एजेन्ट कस्तो हो राम्रोसँग बुझ्न आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...