Wednesday 26th August 2026

खाडी युद्धको सम्झना, इराकबाट ४६ कुवेतीको शव फिर्ता


बग्दाद– कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरिएको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए ।

इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा बेपत्ता भएका तर इराकमै मारिएका कुवेतीको अवशेष फिर्ता गरिएको उल्लेख गरेको छ । इराकले बेपत्ता कुवेतीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न चाहेको पनि विदेश मन्त्रालयले जनाएको छ ।

युद्धका समयमा बेपत्ता भएका कुवेतीहरुको खोजी गर्न गठित टोलीले इराकको दक्षिणी मुथान्ना प्रान्तमा गत मार्च ६ मा सामूहिक चिहान फेला पारेको थियो । मन्त्रालयको वक्तव्यमा विस्तृत अध्ययनबाट उक्त चिहानमा फेला पारेका व्यक्तिहरुका अवशेष कुवेती नागरिकको रहेको प्रमाणित भएको उल्लेख छ ।

सञ्चार माध्यमहरुले सामूहिक चिहानमा फेला परेका व्यक्तिका अवशेषहरु सन् १९९१ को खाडी युद्धका कुवेती युद्धबन्दी रहेको बताएका थिए । मन्त्रालयको वक्तव्यमा भनिएको छ– इराकमा बेपत्ता कुवेतीको खोजीमा इराकले कुनै कसर बाँकी राख्ने छैन ।

सन् १९९१ देखि नै कुबेती युद्धबन्दीको खोजी र हस्तान्तरणमा इराकी रेडक्रसले गरेको सहयोगप्रति इराक सरकारले धन्यवाद पनि दिएको छ । इराकका लागि कुवेती राजदूत सलिम अल–जमानानले दुई देशबीच सुल्झन बाँकी मुद्दाहरुलाई सम्बोधन गर्न इराकी सरकारले देखाएको तत्परताप्रति आभार व्यक्त गरेका छन् । इराकमा बेपत्ता कुवेती नागरिकको खोजीमा भएको प्रगति निकै उत्साहजनक रहेको कुवेतको भनाई छ । कुवेतले खाडी युद्ध पश्चात् झण्डै ६०० कुवेती नागरिक बेपत्ता रहेको बारम्बार दाबी गरिरहेको छ । अमेरिका समेतका गठबन्धन सेनाको सहयोगमा सन् १९९१ मा इराकी सैनिकको कब्जाबाट कुवेत स्वतन्त्र भएको थियो ।

–सिन्ह्वा/ Photo: Reuters/Essam al-Sudani)​

यो समाचार रातोपाटीबाट साभार गरिएको हो


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...