तितोपाटी – इन्डोनेसियामा एक महिलालाइ मालिकको याैन उत्पीडन सार्वजनिक गर्दा उल्टै ६ वर्ष जेल र ४० लाख जरिवाना तिर्नु पर्ने भएको छ । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गरेकी महिलालाइ अदालतले ६ वर्ष जेल सजायँ र ४० लाख जरिवाना तिर्ने अादेश दिएको हो । इन्डोनेसियाको सर्वोच्च अदालतले अश्लील सामग्री सार्वजनिक गरेको भन्दै बाइक नुरिल मकनुनलाई ६ वर्ष जेल सजायँ तोकेको हो । अदालतले पीडित नुरिललाई ५० करोड रुपियाह (झण्डै ४० लाख नेपाली रुपैयाँ) जरिवाना पनि तोकेको छ भने अदालतको फैसलाको मानवअधिकारकर्मीले आलोचना गरेका छन् ।
अश्लील कल रेकर्ड सामाजिक सन्जालमा भाइरल भएपछि नुरिलको मालिकले प्रहरीमा उजुरी गरेका थिए । अदालतले आफ्नो फैसलामा भनेको छ- अश्लील कल रेकर्ड प्रसारण हुनुमा बाइक नुरिल मकनुन दोषी छिन् ।
नुरिल लोमबोकद्वीपस्थित माताराम शहरको एक स्कुलको शिक्षिका हुन् । उनले आफ्नो हेड सरले फोन गरेर अश्लील कुरा गर्ने गरेको उजुरी पनि दर्ता गराएकी थिइन् । नुरिलले एक कल रेकर्ड गरिन् जसमा हेड सरले अश्लील शब्द प्रयोग गर्दै गाली गरेका थिए । यस रेकर्डिङ स्कुलका शिक्षकहरुलाई सुनाइएको थियो र स्थानीय शिक्षा एजेन्सी प्रमुखसमक्ष पेश गरिएको थियो । यो अडियो सामाजिक सन्जालमा पनि भाइरल भयो ।
अदालतमा पेश गरिएका दस्तावेजका अनुसार यो घटनापछि हेडसरले आफनो नोकरी गुमाए । ती हेड सरले आफ्ना कुरा सार्वजनिक गरेको भन्दै प्रहरीमा उजुरी गरे । घटना अदालतसम्म पुग्यो । अदालतले इन्डोनेसियाको कानुनअनुसार नुरिलले ‘शालीनता उल्लंघन’ गरेको ठहर गर्यो । बिहीबारको फैसलामा सर्वोच्च अदालतले नुरिलले नयाँ प्रमाण पेश गर्न नसकेको भनेको छ । अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘उनको न्यायिक समीक्षाको अपिल पनि खारेज गरिएको छ । किनभने अपराध गरेको सजिलै प्रमाणित भइसकेको छ ।’
नुरिलले अदालतमा त्यो अडियो आफूले सार्वजनिक नगरेको दाबी गरेकी थिइन् । उनले आफ्नो फोनबाट एक जना साथीले लिएर सार्वजनिक गरिदिएको बताएकी थिइन् । नुरिललाई अदालतको फैसला स्वीकार छ, तर यौन उत्पीडिनको विरोधमा आवाज उठाएवाफत आपराधिक मुद्दा झेल्ने व्यक्ति उनीबाहेक अर्को हुनु नपरोस् भन्ने रहेको उनका वकिलले बताएका छन् ।
सर्वोच्च अदालतको यो फैसलाविरुद्ध अब अर्को कुनै अपिल गर्न पाइने छैन । तर, नुरिलको टिमले सजायँ माफको लागि राष्ट्रपति जोको विडोडोसँग आग्रह गर्न सक्ने बीबीसीले जनाएको छ । किनभने राष्ट्रपति विडोडोले भनेका थिए, ‘यदि महिलासँग कानुनी विकल्प समाप्त भए भने त्यसमा मैले विचार गर्ने छु ।’