Saturday 14th June 2025

डोटीमा विकास बजेट नै फिल्म बनाउन खर्च, गाउँपालिका अध्यक्ष नै कलाकार


तितोपाटी – डोटीमा स्थानीय तहमार्फत् विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक बिराज भट्टले निर्माण गर्न लागिएको उनकै मुख्य भूमिका रहेको ‘साङ्लो’ चलचित्रलाई १० लाख रकम दिने निर्णय गरेको हो। जेठ २७ गते बसेको कार्यपालिकाको बैठकले चलचित्र निर्माणका लागि १० लाख दिने निर्णय गरेको हो। गाउँपालिकाले गरेको सो निर्णयको स्थानीयस्तरबाट व्यापक विरोध भइरहेको छ।

बजेटबारे जनप्रतिनिधिबाटै विरोध भइरहेका बेला एकलौटी तवरबाट निर्णय गरिएको बुझिएको छ। ‘विकासका आधारभूत कुराहरु पनि नभइरहेका बेला विकासका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गर्नु राम्रो होइन,’ स्थानीय अमृत ओलीले भने, ‘व्यावसायिक हिसाबले बनेको चलचित्रलाई सरकारी रकम दिएर कुनै किसिमको पर्यटन प्रवर्द्धन हँदैन।’ उनले भने, ‘गाउँपालिकाले गरेको यो निर्णय तत्काल खारेज गरिनुपर्छ।’

गाउँमा खानेपानी छैन, बिजुली पुगेको छैन, शैक्षिक अवस्था नाजुक छ,’ओलीले भने, ‘जनताले कुनै किसिमको राहत तथा लाभ नपाउने विषयमा गाउँपालिकाले खर्च गर्ने भएको छ।’

सो चलचित्र जोरायल गाउँपालिकाको विभिन्न स्थानमा छायांकन भइरहेको छ। रमाइलो कुरा के छ भने चलचित्रमा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले समेत अभिनय गरेका छन्। ओझा चलचित्रमा दुलहीको बुवाको भूमिकामा रहेका छन्। अध्यक्ष मात्रै नभई उनका सहोदर दाइ दीर्घराज ओझाले समेत अभिनय गरेका छन्। उनका दाइले पुजारीको भूमिकामा चलचित्रमा अभिनय गरेका छन्।अध्यक्ष स्वयंले चलचित्रमा अभिनय गरेका कारण चलचित्रलाई रकम दिएको आरोप स्थानीयले लगाएका छन्।

‘अध्यक्ष आफूले नै चलचित्रमा अभिनय गरेका कारण गाउँपालिकाको विकासको रकम चलचित्रलाई दिन लागेका हुन्’, स्थानीय लक्ष्मण देउवाले भने, ‘विकासका काम लथालिंग अवस्थामा छन् तर विकासका लागि आएको रकम अध्यक्षले जथाभावी बाँड्दै हिँडिरहेका छन्।’उनले भने, ‘जनतालाई पूर्वाधारको खाँचो भएको अवस्थामा चलचित्रका लागि बजेट विनियोजन गर्ने गाउँपालिकाको निर्णय उचित छैन्।’

उक्त निर्णयको विरोध गरेका कारण मुद्दा खेप्नु परिरहेको आरोप स्थानीयले लगाएका छन्। स्थानीय क्षेत्र खड्काले गाउँपालिकाले गरेको निर्णयको विरोध गर्दा अध्यक्षले नै सार्बजनिक मुद्दा लगाएर थुनाएको आदेश दिएका छन्। खड्का अहिले प्रहरीको थुनामा छन्। तर अध्यक्ष ओझाले जाँड रक्सी खाएर सार्बजनिक स्थानमा गालीगलौच गरेका कारण प्रहरीमा थुनाइएको बताए।

जेरायल गाउँपालिका १ का वडा सदस्य तथा नेपाली कांग्रेसका नेता छपेश मल्लले गाउँपालिकाले गरेको निर्णय तत्काल खारेज गर्नुपर्ने बताए। ‘मनोमानी ढंगले गाउँपालिकाले काम गरिरहेको छ’, मल्लले भने, ‘चलचित्रलाई त्यत्रो रकम दिएर कुनै किसिमको लाभ हुँदैन।’

जेरायल गाउँपालिका ३ का वडाध्यक्ष दिनेश मल्लले गाउँपालिकाले गरेको निर्णय जनताको पक्षमा नरहेको बताए। ‘निर्णय गर्दा म पनि थिए तर आफू कांग्रेस पार्टी निकटको रहेकाले विरोध गरेपनि उनीहरुको बहुमत थियो, एकलौटी निर्णय गरे।’

उता गाउँपालिकाका अध्यक्ष भने आफ्नो अडानमा छन्। उनले छाति पिटेर आफूले सहयोग गरेको बताए। ‘विरोध गर्नेले मेरो सामुन्यमा आउनुपर्‍यो, बाहिर बाहिर विरोध गरेर हुँदैन,’ अध्यक्ष ओझाले भने, ‘चलचित्रको छायाँङ्कन हाम्रै क्षेत्रमा भइरहेको छ, राष्ट्रिय, अन्तराष्ट्रियस्तरका व्यक्ति आएका छन्, पर्यटन प्रवद्र्धनका लागि सहयोग महत्वपूर्ण रहेको छ।’

‘चलचित्र निर्माणका लागि आएको टीम ठूलो छ,’ ओझाले भने, ‘उनीहरुलाई खान र बस्नका लागि आउने खर्च वाफत लाग्ने रकम स्वरुप १० लाख दिने निर्णय गरेका हौं।’ ओझाले आफूले चलचित्रमा अभिनय गरेको कुराप्रति लक्षित गर्दै भने, ‘चलचित्रमा खेल्नु अपराध होइन, कथाले मागेका कारण मैले पनि खेलेको हुँ।’

उनले १० लाख चलचित्रलाई दिने निर्णय बहुमतले पास भएको भन्दै चलचित्रको जोरायल क्षेत्रमै छायाङकन भइरहेकाले पर्यटन प्रवर्दनका लागि सेतु सावित भएको दावी गरे।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका…

शुक्रबार बिहान दर्जनौं सैन्य लक्ष्य र इरानी आणविक स्थलहरूमा आक्रमणको प्रारम्भिक लहरमा दर्जनौं इजरायली विमानहरूले भाग लिए। इजरायलमा सम्भावित इरानी…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि गरेको कारबाहीको विरोधमा प्रदर्शनको जवाफ दिन सेनालाई सक्रिय गर्ने निर्णयलाई लिएर अमेरिकीहरू विभाजित छन्, जसमध्ये…

प्रतिकृयाहरू
...