Saturday 26th July 2025

सुपुर्दगी कानूनको बिरोधमा हङकङमा लाखाैं जन समुदायको प्रदर्शन


तितोपाटी – सुपुर्दगी कानूनको बिरोधमा हङकङमा लाखाैं मानिसहरूले प्रदर्शन गरेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । गत आइतबार सेतो पोसाकमा सडकमा उत्रेका लाखौं मानिस घण्टौं लामो प्रदर्शनमा उत्रेका थिए । विरोधका क्रममा प्रहरी र प्रदशर्नकारीबीच हिंसात्मक झडप हुँदा दर्जनौं घाइते भए । मुकुन्डो लगाएका कतिपय प्रदर्शनकारी प्रहरीले खडा गरेको अवरोध पन्छाएर विधान परिषदको भवनमा प्रवेश गर्न खोजेपछि झडप भएको हो ।

प्रस्तावित कानुनअनुसार चीनले हङकङस्थित राजनीतिक विपक्षीलाई निसाना बनाउने भन्दै सर्वसाधारणहरू विरोधमा उत्रेका हुन् । प्रदर्शनमा व्यवसायी, कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधरहरूको सहभागिता थियो । सहरका कतिपय स्थानमा सोमबार बिहानैदेखि नै विरोध प्रदर्शन जारी छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको समाचार संस्था एएफपीले जनाएको छ । कतिपय प्रदर्शनकारीलाई प्रहरीले लछारपछार पारेको सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा दृश्यहरूमा देखिएको छ ।

चीनले हङकङमा प्रस्तावित सुपुर्दगीसम्बन्धी कानुनको विरोधमा आइतबार गरिएको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको दाबी गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले विदेशी शक्तिले चीनमाथि प्रहार गर्न हङकङमा विध्वंश निम्त्याउने प्रयास गरेको दाबी गरेको छ । चिनियाँ भाषाको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले लेखेको छ, ‘यो निश्चित छ कि केही अन्तर्राष्ट्रिय शक्तिले पछिल्ला महिनामा हङकङसँगको अन्तरक्रिया बढाउँदै लगेका छन् ।’ अखबारको सम्पादकीयमा हङकङका विपक्षी नेता र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो तथा सभामुख नान्सी पेलोसीबीचको भेटवार्तालाई समेत उल्लेख गरिएको छ । त्यसैगरी अंग्रेजी भाषाको अखबार ‘चाइना डेली’ ले पनि कानुनको समर्थन गरेको छ ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विरोधका बाबजुद सुपुर्दगी विधेयक फिर्ता नहुने बताएकी छन् । संवाददाताहरूसँग सोमबार कुराकानी गर्दै लामले ‘देशको आवश्यकताअनुसार नै कानुन ल्याइएको’ दाबी गरिन् । उनले हङकङमा मानवाधिकार रक्षा हुनेमा कसैले शंका गर्नु नपर्ने बताइन् ।

हङकङको स्वतन्त्रतापछिकै ठूलो मानिएको प्रदर्शनमा १० लाख सहभागी भएको आयोजकको दाबी छ । तर प्रहरीले २ लाख ४० हजार सहभागी भएको दाबी गरेका छ । आयोजकहरूले बुधबार फेरि अर्को विरोध प्रदर्शन गरिने जनाएका छन् । सुपुर्दगीसम्बन्धी प्रस्तावित कानुनको प्रावधानअनुसार हङकङमा अपराध तथा बलात्कारमा आरोपीलाई चीन, ताइवान र मकाउका अधिकारीले सुपुर्दगीका लागि आग्रह गर्न सक्छन् । तर सुपुर्दगी गर्ने/नगर्ने घटनाको प्रकृतिका आधारमा निर्णय लिइने जनाइएको छ ।

हङकङका १९ वर्षीय युवाले गर्भवती प्रेमिकाको ताइवानमा हत्या गरी देश फर्केपछि सुपुर्दगी कानुनबारे बहस सुरु भएको हो । ताइवानी अधिकारीले ती युवकलाई सुम्पन हङकङसँग आग्रह गरे पनि कानुनी जटिलता देखिएको थियो । सन् १९९७ मा बेलायतबाट स्वतन्त्र भएयाता हङकङ ‘एक देश दुई व्यवस्था’ अन्तर्गत शासित छ ।


सम्बन्धित शीर्षकहरु

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

प्रतिकृयाहरू
...