Sunday 14th June 2026

ट्रम्पको वासिङ्टन भ्रमणको निम्तो किमद्वारा स्वीकार


तितोपाटी – उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ-अनले स्वीकार गरेको जनाएको छ।

सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए।

किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ।

वाशिङटनस्थित हाम्रा संवाददाता भन्छन्, भ्रमणको निम्तोका समर्थकहरूको विश्वास छ- यो दुई देशबीचको सम्बन्ध थप विकसित गर्ने अवसर हो।

नयाँ अध्याय
तर केही आलोचकहरूको चिन्ता छ- त्यो उत्तर कोरियाली नेताका लागि प्रचारबाजीको अर्को मौका हुनेछ।

दुवै नेताले प्रशन्नतापूर्वक एक अर्काको निम्तो स्वीकारेको केसीएनएले जनाएको छ।

शिखर बैठकपछि पहिलो पटक प्रकाशित किमको प्रतिक्रियाको एक अर्कालाई उत्तेजित बनाउने र शत्रुतापूर्ण देखिने किसिमका सैन्य गतिविधि तत्कालै रोकिनुपर्ने बताएका छन्।

उनले दुवै देशले वैमनस्य उत्पन्न नगराउने प्रतिबद्धता जनाउनुपर्ने र त्यसलाई सुनिश्चित गर्न कानूनी र संरचनागत कदमहरू चाल्नुपर्ने धारणा पनि राखेको केसीएनएले जनाएको छ।

युद्ध खेल पनि भनिने अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास दक्षिण कोरियामा स्थानीय फौज र त्यहाँ तैनाथ अमेरिकी सैनिकको संलग्नतामा आयोजना हुने गरेको छ।

ऐतिहासिक
दक्षिण कोरियामा झण्डै ३० हजार अमेरिकी फौज तैनाथ छन् र प्रशान्त माहासागरको गुवाममा अवस्थित सैनिक अखडाबाट समेत ठूलो स्तरको अभ्यासका लागि अमेरिकी फौज झिकाउने गरिएको छ।

उत्तर कोरियाले त्यसलाई आफूविरुद्ध हमला गर्ने तयारीका रूपमा व्याख्या गर्ने गरेको छ भने सोलले त्यो प्रतिरक्षात्मक प्रकृतिको अभ्यास भएको उल्लेख गर्ने गरेको छ।

राष्ट्रपति ट्रम्पले ती अभ्यास रद्द गर्दा ठूलो परिमाणमा रकम जोगिने बताएका छन्।
तर उनले उत्तर कोरियाले सहकार्य नगरे ती अभ्यासहरू पुन: शुरू गरिने चेतावनी दिएका छन्।

ट्रम्पको किमसँगको ऐतिहासिक भेटवार्ताको विश्वभरिबाट सावधानीपूर्वक स्वागत भइरहेको छ।

बैठकमा जनाइएका केही प्रतिबद्धताहरूको आलोचना पनि भइरहेको छ।

शिखर बैठकले शान्ति र सहकार्यको एउटा नयाँ अध्याय शुरू गरेको दक्षिण कोरियाले प्रतिक्रिया दिएको छ।

यद्यपि अमेरिकी सेनासँग आफ्नो सेनाले गर्दै आएको संयुक्त अभ्यास रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई दक्षिण कोरियाले आश्चर्यजनक रूपमा लिएको देखिन्छ।

अस्पष्ट
वार्ताले उत्तर कोरियाविरूद्धको प्रतिबन्ध खुकुलो पार्न बाटो खोल्न सक्ने चीनले प्रतिक्रिया दिएको छ।

मंगलवारको सहमतिपत्रमा निरस्त्रीकरणबारे आधापृष्ठ लामो प्रतिबद्धता जनाइएको छ।

अस्त्रहरू त्यागेको बदलामा उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरिने उल्लेख गरिएको छ।
तर त्यो प्रक्रिया कसरी हासिल गरिने छ अथवा त्यसको प्रमाणीकरण कसरी गरिने छ भन्ने कुरा स्पष्ट छैन।

ट्रम्पले आफ्नो भित्री मनले भनेको कुरामा आफूलाई विश्वास लागेको भन्दै किमले सहमतिको पालना गर्नेमा विश्वस्त रहेको बताएका छन्।

प्योङयाङ र वाशिङटनबीच आउने हप्ताहरूमा थप छलफल हुने अपेक्षा गरिएको छ।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

प्रतिकृयाहरू
...