Thursday 6th August 2026

वैदेशिक रोजगारीको गुनासो सुन्न सोमबारदेखि कल सेन्टर सञ्चालन हुँदै, सामाजिक सञ्जालबाट पनि समस्या राख्न सकिने


तिताेपाटी – वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न तथा समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो सोमबारदेखि कल सेन्टर सुरु गर्ने भएको छ ।

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा सुरु हुन लागेको कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डलगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सकिने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबारदेखि सुरु हुने कल सेन्टर सुरुमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र सेवाग्राहीको आवश्यकता अनुसार चौबीसैघण्टा सञ्चालन गर्ने तयारी रहेको श्रेष्ठले बताउनुभयो ।

‘स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, इमो भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन्’ उहाँले भन्नुभयो, ‘जुन निकायसँग सम्बन्धित गुनासो वा सुझाव छ त्यसलाई तत्काल कलसेन्टरमार्फत त्यही निकायमा पठाउने व्यवस्था गरिने छ ।’

गुनासो वा सुझावको सुनुवाई भए÷नभएको अनुगमन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नै गर्नेछ । ‘सेवाग्राहीलाई तत्काल सेवा दिन र साँच्चै नै सबै निकायलाई जिम्मेवार र उत्तरदायी बनाउनका लागि यो काम हामीले अघि बढाएका हौं, यसले सबैलाई फाइदा पुग्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भन्नुभयो ।

११४१ नम्बरमा डायल गरेर जानकारी वा गुनासो गर्न सकिनेछ । सुरुमा नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले यो नम्बरमा सम्पर्क गर्दा कुनै शुल्क लाग्ने छैन । एनसेल प्रयागकर्तालाई समेत निःशुल्क हुनेगरी व्यवस्था मिलाउने बोर्डको तयारी छ ।

विदेशमा हुनेले ९७७ – १–५९७०००८ मार्फत सशुल्क फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् ।

वैदेशिक रोजगारीका लागि जानुअघि देशभित्रै ठगीमा पर्दा वा विदेशमा पुगिसकेपछि भनेको काम र तलब नपाएर समस्यामा पर्दा कल सेन्टरमा फोन गरेर सहयोग माग्न सकिने छ ।

गुनासा र समस्या सुनेर तत्काल समाधान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो । मन्त्रालयले यसअघि पनि वैदेशिक रोजगार विभाग र मन्त्रालयमा नै ‘हेल्प डेस्क’ सञ्चालन गरेको थियो । तर त्यो प्रभावकारी हुन नसकेपछि कल सेन्टर सञ्चालन गर्न लागिएको हो ।

सेवाग्राहीको गुनासो तत्काल प्राप्त गर्न र  उनीहरुको गुनासोलाई तत्काल सम्बोधन गर्ने गरी काम अघि बढाउन मन्त्री विष्टले दिएको निर्देशनअनुसार मन्त्रालय भित्रै कल सेन्टरको स्थापना गर्न लागिएको हो ।

सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने

कल सेन्टरमा फोनसँगै सामाजिक सञ्जालबाट पनि गुनासा र समस्या टिपाउन सकिने गरी व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।

फेसबुक, इमो, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने गरी कलसेन्टरको स्थापना गर्न लागिएको छ ।  ९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिने छ ।

कलसेन्टरमा फोन गरेर कुनै जानकारी लिन चाहेका तत्काल जानकारी लिन सकिने र गुनासो र सुझाव भएमा पनि सम्बन्धित निकायलाई तत्काल त्यसको सम्बोधन गर्नका लागि उत्तरदायी बनाउन कल सेन्टरले सहयोग गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

-उज्यालाेबाट साभार


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...