तिताेपाटी — प्रधानमन्त्री केपी ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्’ नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘लुटेरा प्रवृत्ति देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।’
पटक पटक वार्तामा बोलाउँदा समेत नआएको भन्दै पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति प्रधानमन्त्री आक्रोशित छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समेत नेकपा विप्लव समूहका गतिविधि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जुन निर्णयपछि मुलुकमा पुन: द्वन्द्व हुने भयले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरुमा समर्थन र विरोधमा प्रतिक्रियाहरु आइरहेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको समेत दाबी गरे । “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिँड्नेहरुले अहिले यसको विरोध गरेका छन्’ उनले भने ।
उनले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्नसमेत आग्रह गरे । ‘जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ” प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।’ उनले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाए । ‘अवसरहरु सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन, मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।”
प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए ।
-कान्तिपुर
...