तीतोपाटी- खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो ।
आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिएर फेरि बोलाउन मन्त्रीले दवाव दिएको तर, निर्देशन नमान्दा आफूलाई सरुवा गरिएको सचिव ठाकुरले दाबी गरेका छन् ।
सोमबार आफ्नो सरुवा गरिएको अनौपचारिक रुपमा आफूले थाहा पाएको उनले बताए । मन्त्री मगर अहिले कञ्चनपुर भएको र यसबारे केही कुरा नभएको बताउँदै उनले सरकारले जहाँ सरुवा गरेको भएपनि गएर काम गर्ने बताए ।
उनले आफूले नेपालीले नै बाँकी काम साढे २ अर्बमा गर्न सक्ने र समयमा पानी पनि आउने बताएको उल्लेख गर्दै फेरि सीएमसी आए मुलुकलाई ७ अर्ब घाटा लाग्ने बताए ।
सचिव ठाकुरले सीएमसी आएर फेरि काम गर्ने ग्यारेन्टी नभएको बताउँदै उसको धरौटी रकम र साढे दुई अर्ब क्षतिपूर्ति दिनु राज्यलाई हानी पु¥याउनु बाहेक केही नभएको उल्लेख गरे । खानेपानी मन्त्रालयमा यसअघि पनि अर्का सचिव कृष्णराज बिसीको सरुवा गरिएको थियो ।
मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए । गत माघ २४ गते सरकारले सीएमसीसँग ठेक्का तोडेको थियो । ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आइरहेको छ । तर, यसलाई सचिव ठाकुरले अस्वीकार गर्दै आएका छन् ।
मेलम्ची खानेपानी आयोजनको काम अघि बढाउने सम्बन्धमा मन्त्री मगर र ठाकुरबीच पहिलेदेखि नै मत बाझिएको थिये । ठेक्का तोडिएपनि मन्त्री मगरले फेरि सीएमसीलाई ल्याउन पहल थालेकी हुन् । अहिले मेलम्ची खानेपानी आयोजना अन्योलमा छ