Sunday 17th May 2026

धादिङको गजुरीमा ३६० केजी चरेश सहित ३ भारतीय नागरिक पक्राउ, लागुऔषध ट्रान्जिट बन्दै पृथ्वी राजमार्ग


तितोपाटी – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ३ सय ६० किलो चरेससहित तीन भारतीयलाई गजुरी गाउँपालिकाबाट समातेको छ। भारतीय कन्टेनरमा बोरामा हाली लुकाइ छिपाइ चितवन हुँदै काठमाडौं लैजाने क्रममा प्रहरीको टोलीले उनीहरुलाई समातेको हो।

लागुऔषध नियन्त्रण व्युरो काठमाडौंका डीआईजी दिनेश अमात्यले यसको पुष्टि गरे। उनका अनुसार केही समययता पृथ्वी राजमार्ग लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ। यसअघि प्रहरीले राजमार्ग क्षेत्रमै गत पुस १९ गते गजुरी बजारबाट दुई सय ३५ किलो चरेससहित दुई भारतीय पक्राउ गरेको थियो। चरेससहित भारत उत्तरप्रदेश निघौली सिहोदावाद रोड निवासी सत्यन्द्र सिंह वेघल र कन्टेनरमा सवार पर्सा सोनवर्षा ५ का लाल मोहम्मद गद्दी पक्राउ परेका थिए। विशेष सुराकीका आधारमा ब्युुरोसहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको भारतीय कन्टेनरमा छापा मारेको थियो। क्याबिनमाथिको भागमा फल्स बटन बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा चरेस बरामद भएको थियो। त्यस्तै गत मंसिर २८ गते बेनीघाट रोराङ गाउँपालिका २ बाट पाँच सय ७० किलो गाँजा बरामद गर्न पनि प्रहरी सफल भएको थियो।

यी त ठूला परिमाणका लागुऔषधका घटनाहरु हुन्। राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिईने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसारको मुख्य नाका बनेको छ। हरेक हप्ताजसो प्रहरीले अवैध मानिने यस्ता लागुऔषध बरामद गर्ने गरेको छ। पृथ्वी राजमार्गलाई मुख्य ट्रान्जिट बनाउँदै लागुऔषध ओसारपसार बढ्दै छ।

चरेस कारोबार गर्नेहरुमा बढी भारतीय देखिने गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ। नेपालका विभिन्न नाका हुँदै भारतीय कन्ट्रेनरको क्याबिनमा लुकाई लैजाने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए। ‘लागुऔषधको मुख्य ट्रान्जिटको रुपमा अहिले पृथ्वी राजमार्ग भएको छ’, ढुंगेलले भने, ‘सामान्य खालका लागुऔषधदेखि ठूला मात्रामा भेटिने गरेको छ, हामीले राजमार्गमा प्रहरी सक्रियता बढाएको छौँ।’


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...