Thursday 23rd April 2026

बोक्सीको आरोपमा एक महिलामाथि हिंसा


तिताेपाटी – सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् । कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा नीलडाम पर्नुका साथै चोटपटक लागेको छ । घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन । घटनाको विषयमा मौखिक उजुरी आए पनि लिखित जाहेरी नआएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ ।

जिउँदै जलाउने धम्की
स्थानीय अमिरी सदायका छोरा करिब १९ वर्षीय सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदी बहिनीलगायतले लछारपछार पार्दै चौतारामा पुर्‍याई कुटपिट गरेको महतोले सुनाइन् । ‘घरबाट घिसार्दै चौतारोमा पुर्‍याएर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्, ‘बोक्सी नस्विकारे नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएर जिउँदै जलाउँछौँ भन्दै कुटपिट गरे ।’

कुटपिटबाट अचेत भएपछि बौवावतीलाई छाडिएको थियो । ‘म बोक्सी होइन, भन्दै हात जोडेर बिलौना गर्दा पनि कसैले सुनेनन्,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘उखुको लाथ्राले निरन्तर कुटिरहे ।’ बौवावतीका पति रामलोचन महतो काम गर्न गाउँबाहिर गएका वेला उनीमाथि कुटपिट भएको हो । ‘घरमा पाँचजना स–साना छोराछोरी मात्र थिए । म पनि काम गर्न गाउँबाहिर रहेको मौका छोपेर मरणासन्न हुने गरी कुटेछन्,’ रामलोचनाले भने ।

धामीले उक्साए
वेला वेला बेहोस हुने र काम्ने सुजितलाई बौवावतीले नै टुनामुना गरेको भन्दै धामी सुकना मण्डलले सदाय परिवारलाई उक्साएको स्थानीय गाउँलेले बताए । ‘महिलालाई घरबाट घिसार्दै ल्याएर चौतारोमा उभ्याएर आँखा जुधाउन धामीले आदेश दिए,’ प्रत्यक्षदर्शी एक गाउँलेले भने, ‘महिलालाई सघाउन खोज्दा बोक्सीलाई नै जोगाउन खोज्नेको पनि यस्तै हबिगत हुने धम्की दिएपछि केही गर्न सकेनौँ ।’


सम्बन्धित शीर्षकहरु

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...