Wednesday 26th August 2026

डोटीमा ब्यावसायिक टिमुर खेती संचालन


तितोपाटी – डोटी जोरायल गाउँपालिका-५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ ।

टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए । टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिक रुपमा टिमुरखेती गर्न थालेको उनको भनाइ छ । ‘टिमुर फलाउन सके यो आम्दानीको राम्रो स्रोत हुन सक्छ,’ किसान विष्टले भने , ‘टिमुर बहुउपयोगी वनस्पति भएकाले यो स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जङ्गलमा प्रशस्त रुपमा पाइने टिमुरको बारेमा सरकारी पक्षबाट किसानलाई खासै जानकारी दिन नसकिँदा यो उपयोग बिहीन हुन थालेको बोगटान गाउँपालिकाका स्थानीय बमबहादुर बलमेले बताए । उनले भने, ‘टिमुरले गर्ने फाइदाको बारेमा यहाँका किसानलाई ज्ञान दिनसके यसले किसानलाई राम्रै आम्दानी दिने देखिन्छ तर त्यसो गर्न सकिएको छैन् ।’

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुर खेतीको सम्भावना बढी भएको कृषि इकाइ कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताए । उनले भने, ‘टिमुरले रोपिएको पाँच वर्षबाट उत्पादन दिन शुरु गर्छ, रोपेको ३०/४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै फाइदा हुन्छ ।’ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टिमुरखेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने प्रवल सम्भावना रहेको गैराका स्थानीय छपेशबहादुर मल्लले बताए ।

डोटीमा सुकाएको टिमुर गाउँमा प्रतिकेजी रु दुई सय र बजारमा रु २५० मा बिक्री हुने गरेको स्थानीय व्यापारी बताउँछन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...