Friday 25th September 2026

कविताः मेरो अभिभावक


देख्दा मुस्कान फुल्छ, मनभरि उज्यालो छाउँछ,
दुःखका ती क्षणहरूमा साथ तिम्रै याद आउँछ।
गल्ती हुँदा सही बाटो देखाउने हात तिम्रो,
अँगालोमा बाँधिदिँदा हराउँथ्यो पीर मेरो।

दाजु मात्र कहाँ हौ र, मामा पनि तिमी भयौ,
बाबुसरी माया दिई जीवनभरि साथ दियौ।
उमेरले तीन वर्षको दूरी मात्र थियो हाम्रो,
तर तिम्रो वात्सल्यले बनायो संसार प्यारो।

बाल्यकालका ती दिनमा म चञ्चल बालक थिएँ,
सानासाना जिद्दी बोकी तिम्रै पछि लाग्थेँ।
मेरो हरेक हठभित्र तिमी धैर्य बनेर आयौ,
रिसभन्दा धेरै माया दिएर मलाई हुर्कायौ।

आमा-बुबा आफ्ना कर्म र यात्रामा व्यस्त हुँदा,
तिमी उभियौ मेरो छेउमा अभिभावकझैँ हुँदा।
रगतको नाता मात्रै होइन, संस्कारका गुरु भयौ,
हजुरआमा-हजुरबुबाका मूल्यहरू मभित्र भर्यौ।

हजुरआमाको त्यो माया, आमाको त्यो संस्कार,
तिम्रै हातबाट पाएँ जीवनको अमूल्य आधार।
सत्य, प्रेम, अनुशासन र मानवताको पाठ,
तिमीले नै सिकायौ जीवन जिउने सुन्दर बाटो साथ।

आज घरहरू नजिक छन्, आँगनबीच दूरी छैन,
तर बाल्यकाल फर्काउने त्यो फुर्सद हामीसँग छैन।
अगाडिको बास्केटबल घेराले सम्झना फेरि जगाउँछ,
तर समयको व्यस्तताले बालापन टाढा लैजान्छ।

तैपनि मनको आँगनमा बाल्यकाल जिउँदै छ,
दाजुभाइको त्यो प्रेम आज पनि उस्तै छ।
हाम्रा सन्ततिले पनि यही सम्बन्ध चिनून्,
माया, संस्कार र आदर्शको उज्यालो बाटो हिँडून्।

तिमीले जे दियौ मलाई, शब्दले कहाँ पुग्छ र?
यो ऋण हृदयभित्रै जीवनभरि रहन्छ बरु।
तिमी नभएको भए म आज जहाँ छु, हुन्थेँ कि?
तिम्रो शिक्षाबिना यो संस्कार कहाँ हुन्थ्यो कि?

मेरो दाजु, मेरो मामा, मेरो बाबुसरी छाया,
तिम्रो निर्मल हृदयमा पाएँ जीवनको माया।
तिमीप्रति यो मन सधैँ कृतज्ञ रहोस्,
तिम्रो नाम लिँदा हृदय प्रेमले भरिरहोस्।

समयले टाढा राखे पनि मन कहिल्यै टाढा छैन,
बाल्यकालको त्यो नाता कुनै ऋतुमा सुक्दैन।
जन्मदेखि आजसम्म जुन माया तिमीले दियौ,
त्यही प्रेमको उज्यालोले मेरो जीवन भरिदियौ।

प्रेम तिमीलाई, दाजु—
दाजुभन्दा माथि, अभिभावकभन्दा नजिक;
मेरो बाल्यकालको साथी,
मेरो जीवनको संस्कार र प्रेरणा।

“तिमी मेरो दाजु मात्र होइनौ,
मेरो व्यक्तित्व निर्माण गर्ने पहिलो शिक्षक हौ।”

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आयोजित भव्य राजकीय भोजमा स्वागत गरेका छन्। दुवै नेताले अमेरिका–चीन…

संयुक्त राष्ट्रसंघको महासभाको तेस्रो दिन इजरायल, प्यालेस्टाइन र इरानका विषयले धेरै चर्चा पाए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कडा आलोचना…

प्रतिकृयाहरू
...