-रोजिना ढुंगाना
“दिदी, Yepbit बन्द भयो रे… अब हाम्रो पैसा के हुन्छ?”
मोबाइलमा आएको यो सन्देश पढेर निशा चिन्तित भइन्। केही समयअघि उनी आफैंले Yepbit लाई विश्वास गरेर लगानी गरेकी थिइन्। सुरुमा खातामा नाफा देखिएपछि उनले आफ्ना साथीभाइलाई पनि यसबारे जानकारी दिएकी थिइन्। तर अहिले धेरै लगानीकर्ताले आफ्नो रकम निकाल्न नसकेको गुनासो गरिरहेका थिए। सहायता केन्द्रसँग सम्पर्क हुन छाडेको थियो र धेरैको पैसा अड्किएको थियो।
यसैबीच अष्ट्रेलियाको वित्तीय नियामक संस्था ASIC ले Yepbit सम्बन्धी चेतावनी जारी गरेको समाचार सार्वजनिक भयो। Yepbit सँग आवश्यक वित्तीय सेवा सञ्चालन अनुमति (लाइसेन्स) नभएको र लगानीकर्ताले रकम फिर्ता पाउन समस्या भोगिरहेको जानकारी बाहिर आयो। Yepbit ले आफ्नो रकम नियामक निकायले रोक्का गरेको दाबी गरे पनि ASIC ले त्यसलाई अस्वीकार गरेको थियो।
Yepbit सम्बन्धी विवाद बढ्दै जाँदा सामाजिक सञ्जालमा अर्को नाम देखिन थाल्यो, Axiom Trade। केही व्यक्तिहरूले लगानीकर्तालाई “यहाँबाट फेरि सुरुआत गर्न सकिन्छ” भन्दै नयाँ प्लेटफर्मतर्फ आकर्षित गर्न थाले। गुमेको पैसा फिर्ता आउने आशामा केही मानिसहरू त्यतातर्फ लागे।
तर विशेषज्ञहरूका अनुसार एउटा प्लेटफर्ममा समस्या आएपछि अर्को नयाँ नाम देखापर्नु मात्र सुरक्षित लगानीको प्रमाण होइन। कुनै पनि कम्पनीको कानुनी अवस्था, लाइसेन्स, नियामक निकायको मान्यता र रकम निकाल्ने प्रक्रिया राम्रोसँग नबुझी लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ।
समय बित्दै जाँदा Axiom सम्बन्धी विवादहरू पनि बाहिर आउन थाले। त्यसपछि अहिले NYAMAZ नामको अर्को एपमार्फत लगानीको प्रस्ताव फैलिन थालेको चर्चा छ। यसले धेरैलाई एकपछि अर्को प्लेटफर्ममार्फत ठगी गर्ने सञ्जाल सक्रिय रहेको आशंका पैदा गरेको छ।
यस्ता योजनाहरूमा सुरुमा थोरै रकम लगानी गर्न लगाइन्छ। खातामा नाफा देखाइन्छ र विश्वास बढाइन्छ। त्यसपछि ठूलो रकम लगानी गराएपछि रकम निकाल्न समस्या सुरु हुन्छ। कहिले भेरिफिकेसन, कहिले शुल्क, कहिले प्राविधिक समस्या भन्दै थप रकम माग्ने क्रम चलिरहन्छ।
सबैभन्दा ठूलो जोखिम भनेको पहिले गुमेको पैसा फिर्ता ल्याउने हतार हो। यस्तै अवस्थामा ठगी गर्नेहरूले “पुरानो पैसा निकालिदिन्छौँ”, “अकाउन्ट सक्रिय गर्न शुल्क तिर्नुपर्छ” वा “नयाँ प्लेटफर्ममा ट्रान्सफर गर्नुपर्छ” जस्ता बहाना प्रयोग गरेर फेरि पैसा असुल्न सक्छन्।
त्यसैले कुपया कुनै पनि नयाँ लगानी प्रस्तावलाई तुरुन्त विश्वास नगर्नुहोस्। कम्पनीको लाइसेन्स र कानुनी स्थिति जाँच गर्नुहोस्। सामाजिक सञ्जालका पोस्ट, स्क्रिनसट वा समूहका सिफारिसलाई मात्र प्रमाण नमान्नुहोस्। पैसा निकाल्न फेरि पैसा हाल्नुपर्छ भनिएमा तुरुन्त सावधान हुनुहोस्। आधिकारिक प्रमाण र विश्वसनीय स्रोतबाट मात्र जानकारी लिनुहोस्।
याद राख्नुस्, पैसा गुमेपछि हुने सबैभन्दा ठूलो गल्ती भनेको त्यो पैसा फिर्ता ल्याउने हतारमा फेरि पैसा गुमाउनु हो। एउटा ढोका बन्द भएपछि अर्को ढोका खुलेको देखिन सक्छ, तर त्यो अवसर हो कि अर्को जाल, निर्णय गर्नुअघि राम्रोसँग बुझ्नु आवश्यक छ।