Saturday 3rd October 2026

रसुवा बाढी–पहिरो पीडितका लागि नेपाल तामाङ घेदुङ कुवेतद्वारा रु. ५ लाख ५५ हजार ५६१ सहयोग


रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल तामाङ घेदुङ कुवेतले रु. ५ लाख ५५ हजार ५६१ आर्थिक सहयोग प्रदान गरेको छ।

प्राकृतिक विपत्तिबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घेदुङ कुवेतले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ। साथै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको कार्य प्रभावकारी रूपमा अगाडि बढोस् भन्ने कामना पनि गरिएको छ।

विपद्को कठिन घडीमा पीडित नागरिकहरूसँग ऐक्यबद्धता जनाउँदै संकलित सहयोग रकम केन्द्रीय नेपाल तामाङ घेदुङको खातामा जम्मा गरिएको घेदुङ कुवेतले जनाएको छ। उपलब्ध बैंक भुक्तानी रसिदअनुसार माछापुच्छ्रे बैंक लिमिटेडस्थित नेपाल तामाङ घेदुङ संघको खातामा रु. ५,५५,५६१ जम्मा गरिएको देखिएको छ।

घेदुङ कुवेतका अनुसार केन्द्रीय घेदुङले प्रभावित क्षेत्रमा प्रत्यक्ष समन्वय र निगरानी गर्दै उक्त सहयोग रकम वास्तविक पीडित परिवारहरूमाझ वितरण गर्नेछ।

नेपाल तामाङ घेदुङ कुवेतले प्राकृतिक विपत्तिको यस दुःखद घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई समेत पीडित परिवारहरूको सहयोगमा हातेमालो गर्न अपिल गरेको छ।

यस मानवीय अभियानका लागि सहयोग गर्ने सम्पूर्ण दाताहरू, शुभेच्छुकहरू तथा तामाङ समुदायप्रति घेदुङ कुवेतले विशेष धन्यवाद व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...