Sunday 27th September 2026

भारतको सीमाछेउमा अमेरिका–बंगलादेशको संयुक्त सैन्य अभ्यास सुरु


भारतको उत्तरपूर्वी सीमासँग जोडिएको बंगलादेशको सिलहट क्षेत्रमा अमेरिका र बंगलादेशले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दुवै देशले यो अभ्यासलाई हिन्द–प्रशान्त (Indo-Pacific) क्षेत्रमा रणनीतिक साझेदारी र सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको बताएका छन्।

बंगलादेशको अन्तरसेवा जनसम्पर्क निर्देशनालय (ISPR) का अनुसार ‘एक्सरसाइज टाइगर लाइटनिङ (Tiger Lightning-TL 2026)’ नाम दिइएको यो संयुक्त सैन्य अभ्यास आइतबारदेखि सुरु भएको हो। १३ दिनसम्म सञ्चालन हुने यो अभ्यास जुलाई ३१ मा सम्पन्न हुनेछ।

यो अभ्यास बंगलादेश सेनाको विशेष फौज ‘पारा कमाण्डो ब्रिगेड’ को नेतृत्वमा सिलहट सैन्य क्षेत्रमा भइरहेको छ। अभ्यासमा बंगलादेशी सेना र अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका सैनिकहरू संयुक्त रूपमा सहभागी छन्।

अभ्यासको उद्घाटन समारोहमा बंगलादेश सेनाका चीफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल मोहम्मद मैनुर रहमान तथा बंगलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट टी. क्रिस्टेन्सन सहभागी भएका थिए। दुवैले सुरक्षा सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा यो अभ्यास महत्त्वपूर्ण हुने बताएका छन्।

भारतको सीमासँग नजिकै यस्तो संयुक्त सैन्य अभ्यास सुरु भएको घटनालाई क्षेत्रीय सुरक्षा र हिन्द–प्रशान्त रणनीतिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि अमेरिका र बंगलादेश दुवैले यो अभ्यास कुनै विशेष देशलाई लक्षित नभई सैनिक क्षमता अभिवृद्धि, आपसी तालमेल र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य बढाउने उद्देश्यले आयोजना गरिएको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

प्रतिकृयाहरू
...