Friday 6th November 2026

अनलाइनबाटै वैदेशिक रोजगार उजुरी


काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन ‘उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ। मंगलबार युवा, श्रम तथा रोजगार मन्त्रालयले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेको हो।

अब ujuri.dofe.gov.np मार्फत वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्ति वा उनका परिवारले स्वदेश वा विदेशबाटै प्रमाणसहित अनलाइन उजुरी दर्ता गर्न सक्नेछन्। रकम लिएर विदेश नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जा गरेको वा सम्झौताअनुसार तलब, काम र सेवा–सुविधा नपाएको लगायतका विषयमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

विभागका अनुसार नयाँ प्रणालीले उजुरी तथा मुद्दा व्यवस्थापनलाई छिटो, छरितो, सरल र पीडितमैत्री बनाउनेछ। साथै, उजुरीको अवस्था सम्बन्धित व्यक्तिलाई इमेल र एसएमएसमार्फत जानकारी गराइने व्यवस्था पनि गरिएको छ।

प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि वैदेशिक रोजगारसम्बन्धी उजुरी देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट दर्ता गर्न सकिनेछ। यससँगै उजुरी दर्ता गर्न काठमाडौं नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ।

सामान्य प्रकृतिका वैदेशिक रोजगार ठगीका घटनाको मिलापत्र सम्बन्धित जिल्लामै गरिनेछ भने मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका घटनाको अनुसन्धान तथा कारबाही वैदेशिक रोजगार विभागले गर्ने व्यवस्था मिलाइएको छ।

विभागले नयाँ प्रणालीबाट वैदेशिक रोजगार ठगीका पीडितलाई छिटो न्याय दिलाउन, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अलपत्र परेका नेपाली श्रमिकको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा प्रतिघण्टा करिब ३४ लाख किलोमिटर अर्थात् प्रतिसेकेन्ड ९५४ किलोमिटरको अविश्वसनीय गतिमा दौडिरहेको एउटा विशाल ब्ल्याक होलले आफ्नो पछाडि नवजात…

विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले ५ नोभेम्बर…

म्यानमारमा सन् २०२१ को सैन्य कू (सत्ता कब्जा) भएको पाँच वर्षभन्दा बढी समय बितिसकेको भए पनि हिंसा अझै रोकिएको छैन।…

प्रतिकृयाहरू
...